अङसीमाङका ६७औं वर्ष र अवका दिनहरु - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङका ६७औं वर्ष र अवका दिनहरु

पृष्ठभूूमि
वि. स. १९५८ साल पौषमा बुवा भीमनाथ तुम्बापो (महागुरु फाल्गुनन्द) प्रथम चेला (दिलमान तुम्बापोको कान्छा काका) र पान्थर चिलिङ्देन कि याङदेम्बा नेम्बाङको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी जोगमाया तुम्बापोलाई बढी झगडालु स्वभावकी भएकी कारण बाजमति नामले पनि चिन्ने गरिन्छ । वि. स. १९८६ सालमा महागुरु फाल्गुनन्दको जेठा दाजु लाजहर्क लिङ्देनको जेठा छोरा टेकबहादुर लिङ्देनसँग जोगमाया तुम्बापोको विवाह भयो । टेकबहादुर र जोगमाया दुबै जनाको यो विवाह दोस्रो विवाह थियो । यस अघि टेकबहादुरले इधिङ्गो थरकीसँग विवाह गरेको थियो । जोगमायाले पनि विवाह गरिसकेको थियो । पहिलो श्रीमान तुम्रोक पट्टि जोगमायाको एउटी छोरी पनि थिइन । वि. स. १९९३ सालमा टेकबहादुर र जोगामायाको काखबाट गुरु पिता पुण्यप्रसाद लिङ्देनको जन्म भयो । गुरु पिता पुण्यप्रसाद र उनकी पहिलो श्रीमती श्यामजीरी चेम्जोङको कोखबाट वि. स. २०११ साल मंसिर १८ गतेका दिन एक बालकको जन्म भयो । बालकको नाम श्यामबहादुर जु¥यो । वि. स. २०२२ सालको एकदिन बोजु जोगमायासँग साँझ विहान पूजा पाठ गर्ने शिलशिलामा बालक श्यामबहादुरले आफ्नो जन्मको औचित्यबारे बोल्नु भयो । यसरी आफ्नो जन्म अवतरणको बारेमा बताउँनुलाई किरात लिम्बू जातिहरुले माङवान्छिङमा भन्ने गर्छन ।

यो कलमीले गुरु बोजु जोगमायाको मुखारबिन्दबाट वि. स. २०३३ सालमा सुनेको बालक श्यामबहादुर पहिलोपटक माङपान्छिङमा गर्दाको केही शब्दहरु सेन्छेलुङ फक्ताङलुङबाट सावायेत्हाङ मानवको लागि माङवा–हाङवाको भारी बोकि आएको छु । यो माङवा–हाङवाको भारीलाई स्वागत सम्मान (लाङदाक) गर्दा भने १३ जोडि दियो कलश बालेर स्वागत गर है । गुरु बज्यू जोगमायाबाट नातिलाई प्रश्न– अब यो माङवा–हाङवाको भारीलाई पान्थर बिसाउँछौं कि ? चारखोला बिसाउँछौं ? बालक माथि अकरेडाँडा (हाल ढेङ्ग्रे डाँडा छेऊ) बाट मेरो गाउँ जाऔं भनेर कति फकाई फुलाई गर्दा पनि मानेन् र उतै रह्यो है । यस घटना पश्चात गुरु बज्यू जोगमाया र सानोगुरु बद्रीनन्दलाई बालकले ठूलो जिम्मेवारी लिएर यस धर्तीमा आएको आकलन गरे ।

उनीहरुले दुनियाँ तुत्तु तुम्याहाङहरु जम्मा भएको ठाउँमा पनि बालकले यसै गरी आफ्नो जन्म अवतरण बारे बताओस भन्ने धेयले एउटा लाधुङसेमी सेवाको आयोजना गर्नुभयो । तर त्यो दिन बालक दिनमान धुलोमा खेल्नमै व्यस्त रह्यो । अन्त्यमा बोजुले पहिला जस्तै माङ थान्छिङमा गर्थे कि भनेर चारैदिशाबाट तुत्तु तुम्याहाङहरु बोलाएको केही पनि बोेलेनौं भनेर गुनासो पोख्दा बालकले कति धेरै रोटी पोलेको भनेर आश्चर्य मात्र प्रकट गर्नुभयो । वि. स. २०२२ सालमा सानो गुरु बद्रिनन्दको साइला दाजु असलबहादुरकी छोरी लक्ष्मतीको २२ वर्षको उमेरमा जन्मघर चोकमागुमा निधन भयो ।

लक्ष्मतीको सुधाई कार्यमा बद्रीनन्द चोकमागु आउनु पर्ने भयो । आफ्ना काका बद्रीनन्द जन्मथलो चोकमागु गएको अवसरमा जोगमायाले पनि आफ्नो नाति बालक श्यामबहादुरलाई साथै लगेर माइती गाउँ (घर) चोकमागु पुगिन । १९८६ सालमा टेकबहादुरसँग दोस्रो विवाह गरे पनि जोगमाया करिब ३६ वर्ष पछाडि माइती भेट्न चोकमागु गएकी हुन । बद्रीनन्द र जोगमायाको भित्रि इच्छा यो थियोकी बालक श्यामबहादुरले आफ्नो माइती गाउँमा पनि पहिला जस्तै आफ्नो जन्म अवरणको औचित्यबारे केही कुरा बताउन । त्यतिबेलासम्म महागुरु फाल्गुनन्दका प्रभाव चेला दिलमान तुम्बापो (१९५१–२०३६) जिवित हुनुहुन्थ्यो । त्यसै पनि चोकमागुका तुम्बापोहरुले महागुरु फाल्गुनन्दलाई समेत पटक–पटक खरो परिक्षण गरेर मात्र गुरु स्विकार गरेको थियो । तसर्थ, बालक श्यामबहादुरलाई बिना परिक्षण गुरु मान्ने तयारीमा थिएनन् तुम्बापोहरु ।

अन्ततः दिलमानको दाजु साइला कर्णबहादुरले बालक समक्ष केही प्रश्नहरु राख्नु भयो । ती मध्ये बालकलाई केही प्रश्नहरुको उत्तर आयो । केही प्रश्नहरुको उत्तर आएन । त्यसो भएपछि दिलमानले उपस्थित तुम्याहाङहरुलाई भन्नु भयो । महागुरु फाल्गुनन्द नजिक आईपुगेपछि त मेरो कानमा उनको मधुरो आवाज थुरिने गथ्र्यो खोई ? त्यस्तो आवाज अहिलेसम्म मेरो थुरिएको छैन् । तुम्बापोहरुले परिक्षणको क्रममा राखेको प्रश्नहरुमध्ये यो पनि थियो कि, वि. स. १९८८ साल बैशाखमा महागुरु फाल्गुनन्दलाई युमामाङको प्रतिक मानेर ८ तोला सुन संकलन गरेर विभिन्न माङ सामग्रीहरु (गरगहना) चढाएको थियो । ती ऐतिहासिक महत्वका गरगहनाहरु २००५ सालमा महागुरुको देहावसान हुँदा त्यतिकै गायव भएर गएको थियो । यसप्रति तुम्बापोहरुको चित्त दुखेको रहेछ । केवल ११ वर्षको कलिलो उमेरमा यस्ता प्रश्नहरुको जवाफ बालकबाट आउँछन् । स्वाभाविक पनि थियो, त्यसो त हालका १४ औं दलाई लामाले आफू १३ औं दलाई लामा (थुप्तेन ग्याछे) भएको ३ वर्षमानै बताएको थियो ।

वि. स. २०२१ सालमा सानो गुरु बद्रीनन्द र बोजु जोगमायाको संरक्षकत्वमा बालक श्यामबहादुरले कठोर योग साधना आरम्भ गर्नुभयो । माई र देउमाईको संगमस्थल फुलुङ्गीमा । तर दुःखद २०२७ साल बैशाख २७ गतेका दिन सानो गुरु बद्रीनन्दको ६३ वर्षको उमेरमा निधन भयो । यसलाई एक जना अभिभावक गुमाउनु प¥यो । उनले वि. स. १९८९ साल देखि महागुरुलाई निरन्तर साथ दिदै आएको थियो । पश्चात २०२७ साल साउन महिनादेखि ठूलो तयारीका साथ पुनः योग साधनाका लागि ६ महिनासम्म फुलुङगीमा गुफा बस्नु भयो । अब भने बालक श्यामबहादुर बालागुरु उपनामले चर्चित हुन थाल्नुभयो । ६ महिना गुफा साधना पश्चात गैंरीधाममा भव्य लाधुङसेमी सेवा सम्पन्न भयो । वि. स. २०२८ साल बैशाखमा डिल्ली प्रसाद तुम्बापो (जौवारीकान्छा) सँग बालागुरुको ऐतिहासिक भेट भयो । गैरीधाममा गुरु चेलाको यो जोडी साच्चिकै ऐतिहासिक जोडि बन्यो । यसरी नै महागुरु फाल्गुनन्द र बद्रीनन्दकोबीच गुरुचेला बनेको थियो । त्यहीँ साल (२०२८) देखि यी गुरु चेलाको जोडिले महागुरुको देहावसान पश्चात सुसुप्त अवस्थामा रहेको वहाँको मत प्रचार–प्रसार अभियानलाई ब्यँुताएर शसक्त तुल्याउनु थाल्नुभयो । साँच्चिनै भन्नु भन्दा हाम्रो कुलबंशमा महागुरु फाल्गुनन्दको अभाव आपूर्ति गर्न बालागुरुको जन्म भयो । अनि व्यापक प्रचार–प्रसार गर्ने व्यक्ति जौवारी कान्छानै पहिलो व्यक्ति हुन् ।

त्यसपछि लब्रे, सिलौटी, निगुरादेन, काबेली, चुक्चिनाम्बा, रबि, जितपुर आदि ठाउँहरुमा निरन्तर धार्मिक अुष्ठानहरु हुन थाल्यो । २०२९ सालमा बालागुरुको प्रथम फक्ताङलुङ यात्रा भयो । यो यात्रा जौवारी कान्छाको लागि भने दोस्रो थियो । वि. स. २०३१ सालमा बालागुरुबाट पुनः दोस्रो चरणको फक्ताङ्लुङ यात्रा भयो । यो यात्राको क्रममा यो कलमीको घरमा बालागुरुको क्यामेरामा खिचिएको फोटो अद्यपि सुरक्षित छ । त्यतिबेलासम्म बालागुरुज्यूको जन्मदेखिको कपाल त्यसै थियो । तर वि. स. २०३८ साल माघमा ४५ वर्षको अल्पायुमा नै जौवारी कान्छाको दुःखद निधन भयो । त्यो पनि रेविज ग्रस्त कुकुरले टोकेर । त्यतिबेलासम्ममा किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक केन्द्रीय सदस्य पदमसुन्दर लाओती स्वास्थ्य मन्त्री भई सक्नु भएको थियो । एकजना केन्द्रीय सदस्य स्वास्थ्य मन्त्री अर्को होनाहार गुरुभक्तको रेविज ग्रस्त कुकुरको टोकाइबाट मृत्यु कता–कता केही–केही नमिलेकै हो । २०३९ सालमा ज्योतिनन्द राईको उदय भयो । यसले त गुरुज्यूको चोत्लुङनै हल्लाउन खोज्यो । त्यसै कारण २०४१ सालमा यो कलमीले पनि गुरु आश्रममा प्रवेश गर्नु प¥र्यो । त्यतिबेला गुरु आश्रमको उमेर मात्र ६ वर्ष पुग्दै त्यहीँ साल वरिपरि गुरु बज्यै जोगमायाको पनि निधन भयो ।

वि. स. २०४१ साल देखि २०४६ सालसम्म गुरु आश्रम रहँदा बस्दाका अनुभूति र भोगाईहरुको छुट्टै महाभारत छ । जसलाई यहाँ स्थान दिनु सम्भव छैन् । यसरी वि. स. १९६७ साल देखिको लिङ्देन गुरु र तुम्बापो चेलावीचको सानिध्य सम्बन्धले २०५६ साल देखि निरन्तर पाउन सकेन ।

गुरुज्यूको जीवनले हासिल गरेका महत्वपूर्ण उपलब्धीहरु :–
मुहिङगुम अङसीमाङ लिङ्देन आत्माननन्द सेईङज्यूले ६६ वर्ष पार गरी ६७ वर्षको बसन्त टेक्दै गर्दा ऐतिहासिक महत्वका ज्यादै अजर अमर कार्यहरु सम्पन्न भएका छन् ।
१. महागुरुको देहावसान पश्चात शुसुप्त हुँदै आएको वहाँको विचार दर्शनलाई व्यूँताएर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गर्नु ।
२. महागुरु फाल्गुनन्दलाई नेपालको राष्ट्रिय विभूतिको उपाधिले विभूषण गराउँनु ।
३. किरात धर्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचय गराउनु यी महत्वपूर्ण उपलब्धिहरु गुरुज्यूको अभावमा कदापी हुन सक्ने थिएन । बरु महागुरुको विचार दर्शन लोप भइसकेको हुने थियो ।

अबका चुनौतिहरु :
मैले धेरै पटक गुरुज्यूको मुखारबिन्दुबाट सुनेको सत्य कुरा के छ भने महागुरु फाल्गुनन्दको अधुरो अपुरो कामलाई पूरा गर्न आएको हुँ । महागुरु फाल्गुनन्दले पनि भन्नु भएको छ साम्योक लिङ्योकले कुयोग सिं थासुङसाङ निङ्वा मेन्दा साम्योरक पोखे तागेरा निङ्वाभूमाङ इङ्वाहाङदिक चेक्खुङसाङ निङ्वा मेन्दा इङघङ रक पोखेरो । भावार्थः धर्मको बिउ रोपे पनि चित्त बुझ्दो भएन । तागेरा निङ्वाभूमाङको सन्देश सुनाए पनि चित्त बुझ्दो सन्देश भएन उपरोक्त दुबै गुरुहरुको भनाइमा कही न कही समान भावहरु रहेको स्पष्ट हुन्छ । यसर्थ गुरुज्यूको ६६ वर्षको उमेरले जति सफलताहरु प्राप्त ग¥यो अब त्यो भन्दा छोटो समय अवधिमा अझ गहँन कार्यहरु बहन गर्दै समाधान गर्नुपर्ने चुनौतिपूर्ण परिस्थिति उहाँको अगाडि उपस्थित भएको छ ।
१. भोलि आफ्नो अभावमा संगठनलाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्न सक्ने पुस्ताको जन्म दिनु ।
२. महागुरुद्धारा प्रतिपादित साम्जिक मुन्धुमलाई पूर्णता दिनु र त्यस भित्र रहेका त्रुटि धोकाहरुलाई सच्याउनु हटाउँनु ।
३. महागुरु फाल्गुनन्दलाई मानव जातिकै साझा गुरु बनाउनु ।
४. मुन्धुमी शब्द कोषको निर्माण गर्नु ।

यी कामहरु फत्ते गर्नु कम चुनौतीपूर्ण छैनन् तर इच्छा शक्ति भएमा असम्भव भने आवश्यक छैन् । यसका लागि गुरुज्यू मियोको रुपमा केन्द्रमा बसेर संगठनले अहिलेसम्म उत्पादन गरेका सम्बन्धित विषय वस्तुप्रति विशेष ज्ञान भएका विषयविज्ञहरुलाई वरिपरि राखेर कार्य सम्पादन गर्ने पद्धति बसाल्नुपर्छ । यतिका गहँन विषय वस्तुहरु केवल एक दुई जनाको मात्र प्रयासले सही समाधान गर्नु त परै जाओस् समस्या कम छ भनेर सही पहिचान पनि गर्न सक्दैनन् ।

विद्यमान अवस्थामा भइरहेको यथार्थ पनि यही हो । तसर्थ विषय विज्ञहरुलाई वरिपरि राखेर अध्ययन् अनुसन्धानका साथै सर–सल्लाह, छलफल, बहसको माध्यमबाट समस्या समाधानको बाटो खोज्नुपर्छ । अब छलफल बहस नयाँ ढंगबाट हुन आवश्यक छ । एक दिन दुई दिनको छलफल बहसबाट चाहे जस्तो यथेष्ट परिणाम आउँन सक्दैन । यसका लागि त वर्षौ वर्षसम्म सम्बन्धित विषयवस्तुमा निरन्तर अध्ययन् अनुसन्धान, खोज, छलफल, बहस गर्ने परिपाटि बसाल्नुपर्छ । यसको सर्वोच्च नेतृत्वको गुरुज्यू स्वयमले लिनुपर्छ । गुरुज्यूको विकल्प हुन सक्दैन । संघ–संस्था व्यक्तिहरुको समूहबाट बनेको हुन्छ । व्यक्तिहरु विभिन्न पृष्ठभूमिबाट आएका हुन्छन् । तसर्थ छलफल बहसमा मत मतान्तर हुने सम्भावना रहने हुन्छ । त्यस्तो स्थितिमा नेतृत्वले साझा हितलाई केन्द्रमा राखेर संगठनलाई एकताको सूत्रमा आबद्ध गर्ने क्षमता राख्नु सक्नुपर्छ ।

माथि बुँदागत रुपमा उल्लेख भएका विषयहरु र पहिचान हुन बाँकी विषयहरुलाई महत्व नदिइ भन्दै गर्छ, चल्दै गर्छ भन्ने सोच पालेर आत्मा समिक्षा नगरी अगाडि बढ्ने हो भने महागुरु फाल्गुनन्दको अधुरो, अपुरो सपना फेरी पनि अधुरै रहनेमा कुनै सन्ध्या छैन् । उहाँका अनुयायीहरुलाई भोलिका दिनमा त्यो भन्दा ठूलो धोका अरु कुनै हुने छैन् ।

सम्बन्धित खवर