हराएको च्याब्रुङ - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हराएको च्याब्रुङ

  • सन्जित फलना

सिकुवाको मुलखाँबोबाट च्याब्रुङ झिकेर काँधमा भिरिसकेपछि बुद्धिबहादुर बिहेमा हिँड्न तयार भयो । साइनोमा दाजु पर्ने सिमलटारको पिल्सिङेले आफ्नो छोराको बिहे भएकोले च्याब्रुङ नाच्नको निम्ति उसलाई अस्तिनै खबर गरेको थियो । त्यै भएर उ बिहान सबेरै दाउरा सुरुवाल, कोट, गल्बन्दी र गोल्डस्टार जुत्ता लाएर तयार भएको थियो ।

‘लु, म हिँडे है !’ (कोटको खल्तिबाट ढाकाटोपि झिकेर शिरमा लाउँदै उसले हतारैमा स्वास्निलाइ भन्यो ।)

‘आजु पनि बा मातेरै त आउने होला नि !’ (भान्सा भित्रबाट मधुरो स्वरमा स्वास्निले सोधिन् ।)
हतार भएकोले स्वास्निको कुरा सुनेपनि केहिपनि नबोलि सिकुवाबाट बाहिर निस्कियो । अनि घुरेनमुनि झरेर खेतको कान्लै कान्ला हुँदै उ बिहेतिर लाग्यो ।

मङ्सिरको महिना । रतुवा कलल बगिरहेको थियो । बगर छेउको खेतहरुमा लहलह धान पाकेर फसल उठाउने बेला भैसकेको थियो । चुलिको बाँदर र चराचुरुङ्गीहरुलाई तर्साउन धानबारीको बिचमा बुँख्याचाहरु राखिएको थियो । गाइबस्तुलाई छेक्न आलिको छेउछाउ भने बाँसको बेराहरु हालिएको थियो । लगभग एक घण्टाजत्ति च्याब्रुङ बजाउँदै रातुवा खोलाको बगरैबगर हिँड्यो । त्यसपछि बगर छोडेर उकालो चुलिहरुतिर लागेपछि उ बिहेघरमा पुग्यो । बिहे भर्खरै सुरु हुँदै थियो । छरछिमेक र गाउँलेहरु फाट्टफुट्ट भेला भईसकेका थिए । आँगन छेउको बाटोमा थाकलको पातहरुको गेट बनाइएको थियो । गेटको सिरानमा डोरीले बाँधेर रातो कपडामा सुभबिबाह लेखेर बेहुला बेहुलिको फोटो टाँसिएको थियो । आँगनको बिचमा मुजोत्लुङ(बाँसको झण्डा) गाडिएको थियो । त्यहाँबाट घरको चारैतिर तोरण र फुलहरु टाँगिएको थियो । बरण्डामा दुईवटा साउण्डसेट राखिएको थियो । एकदुईजना केटाहरु त्यहाँ बसेर पुरानो हिन्दी गित बजाइरहेका थिए । उसले यताउता आँखा घुमायो । बारीको छेउमा स्याउलाले बेरेर दुईवटा कटेराहरु थिए । भुइँभरि पराल ओछ्याइएका ति कटेराहरुमा केहि जन्तिहरु र निम्तेरि पाहुनाहरु बसिरहेका थिए । बिहेमा सघाउन आएका कामदारहरु भान्सा र धन्दामा ब्यस्त थिए । उसको अन्य च्याब्रुङ्गे साथीहरु अघि नै आइसकेर जाँड खाँदै मुजोत्लुङको छेउको गुन्द्रीमा बसिरहेका थिए । उनिहरु सबै अलिअलि मातिसकेको जस्तै देखिन्थे । उसले सबैलाई सेवारो गर्यो । त्यसपछि काँधबाट च्याब्रुङ झिक्दै साथीहरुले राखेको ठाउँमा राख्यो ।

‘लु हौ बुद्धि बस है !’ (बटुकाको जाँड खाइसकेर सिराने ठुलेले चुर बेर्दै भन्यो । उ सुरुवाल सुर्किँदै पलेटि मारेर सिराने ठुलेकै छेउमा बस्यो ।)

‘पिल्सिङेले छोरोको बिहे चैँ ठुलै गरेको हो !’ (सिन्काले दाँत कोट्याउदै बिर्खे बोल्यो ।)

‘यति पनि गरेना भने पिल्सिङ थापेको के काम हौ स्याँठा !’ (सिराने ठुलेले चुर सल्काउँदै जवाफ दियो ।)

उ चुपचाप दुईजनाको कुरा सुनिरहेका थिए । उ आएको थाहा पाएर एकजना कामदारले जाँडको भाँडा ल्याउँदै उसलाई एक बटुको सारेर दियो । अलि–अलि तिर्खा लागेकोले उसले त्यो एक बटुको जाँड औँलाले छिम्काउँदै आँखा चिम पारेर एकै घुट्कोमा स्वाँट्ट पार्यो । त्यसपछि फेरि अर्को एकबटुको थाप्यो र भुइँमा राख्यो । त्यत्तिमैमा खोया बिर्केको दुई बोतल रक्सी र थाल बोकेर पिल्सिङे आइपुग्यो । उसकि स्वास्नि गिलास र पातमा पोको पारेको मासु बोकेर पछिपछि आइन् ।

‘ए… बुद्धि पनि आइपुगि सकेछ !’ (पिल्सिङेले उसलाइ हेर्दै भन्यो ।)

‘अँ, अलि अबेला पो भइएछ हौ दाजु !’ (उसले पिल्सिङेलाई सेवारो गर्दै भन्यो ।)

‘ठिकै छ नि बुद्धि ! ल अब सुरु पो गरुङ होला हौ आदाङ्बाहरु’ (मुजोत्लुङ मुनि थालमा रक्सीको बोतल राख्दै पिल्सिङे बोल्यो । त्यसपछि खल्तीबाट १० रुपैँया झिकेर थालमाथि राख्यो । पिल्सिङेकि स्वास्निले रक्सिसङ्गै केराको पातमा मासु पनि राखिन् । च्याब्रुङ्गे टोली सबैजना गुन्द्रीबाट उठेर वरिपरि उभिए । पिल्सिङेले मुन्धुम सुरु गर्यो ।)

‘लु त आदाङ्बाहरु ! हाम्रो निम्तोलाई स्विकार गरेर तँपाईहरु आईदिनुभको छ । हामी साह्रैँ खुसि छौँ । अब हाम्रो कार्यक्रम नसकुन्जेल च्याब्रुङ नाचेर साथ दिनुहुन्छ होला भन्ने हामिले सोचेको छुङ । कि के भन्नुहुन्छ त आदाङ्बाहरु ?’ (पिल्सिङेले सबैलाई पुलुकपुलुक हेर्दै बोल्यो ।)

‘अँ ठिकै छनि त आदाङ्बे । हामी पनि सके जत्ति नाच्ने छौँ । राम्रो भए गर्वैले नराम्रो भए सर्मैले ।’ (सरदार सिराने ठुले ले साथीहरुलाई हेर्दै जवाफ दियो । सबैले सहमतिको टाउको हल्लाए । मुन्धुम सकेर पिल्सिङे र पिल्सिङेनि सेवारो गर्दै आफ्नो काममा लागे ।)

त्यसपछि सबैजना बटुकोमा बाँकि रहेको जाँड स्वाँट्ट पारेर आआफ्नो च्याब्रुङ बोक्न थाले । उसले पनि बाँकि रहेको बटुकोको जाँड औँलाले छिम्काउँदै अघिको जसरि नै स्वाँट्टै पार्यो । अनि आँखा रातो पार्दै उठेर तितेपातिको मुन्टा टिप्न गयो । पातिको मुन्टा टिपेर सिरपङ्गेमा सिउरियो ।)

त्यसपछि च्याब्रुङको छाला भिजाउन थाल्यो । एकछिन भिजाएपछि एकपटक हत्केलाले हिर्कायो ।………
….च्यामम्म्म्म्म् ……. उसको च्याब्रुङ एकदमै सुरिलो बज्यो ।

‘तिम्रो जत्तिको सुरिलो बज्ने च्याब्रुङ चैँ आजसम्म बनाउनु सकिएन हौ !’ (कोटको बाहुला सुर्काउँदै सिराने ठुलेले बुद्धिबहादुरको च्याब्रुङको कुरा झिक्यो । अरु च्याब्रुङ्गे साथीहरुले पनि आआफ्नो च्याब्रुङ मिलाउँदै उसको च्याब्रुङको गुनगान गाए ।)

‘कम्ता मिहिनेत लागेको छैन हौ यो बनाउनु !’ (उसले च्याब्रुङ भिर्दै भन्यो ।)

साच्चै उसको च्याब्रुङको कुरा रातुवा बेसिँदेखि लिएर तल बाघमारा हुँदै माथि इभाङ गाउँसम्म फैलिएको थियो । बिहेबारितिर उसको च्याब्रुङ नबजाउने कोहिपनि हुन्नथे ।

च्याब्रुङ बज्नु त बुद्धिबहादुरको जस्तो भनेर सबै गाउँलेहरुले उसको तारिफ गर्थे । उसलाई त्यतिबेला जिन्दगीकै ठुलो खुसि भेटेझैँ हुन्थ्यो । हुन पनि त्यो च्याब्रुङ बनाउँदा उसले अत्ति नै दुख पाएको थियो । रातुवाको शिरसम्म पुग्दापनि भनेजस्तो खमारी नभेटाएपछि उ खमारी खोज्नै लगभग दुईघण्टा हिडेर महमाई पुगेको थियो । महमाईमा पनि धेरै खोज्दामात्र पाएको थियो खमारी उसले । त्यो पनि बन समितिले भेट्ला भन्ने डरसरि । खमारी त बल्लतल्ल भेट्यो तर काट्ने क्रममा चिप्लिएर लडेर झण्डै ज्यान गएको । धन्न भुजेत्रोघारीमा परेर मात्रै । त्यति बेलाको घाउको दाग फिलामा अझैपनि देखाउँछ उसले । त्यसपछि छाला खोज्न तिनपल्टजत्ति पशुहाट पुग्यो । पशुहाटमा छाला पाउनै मुस्किल । बल्लतल्ल छाला पाएर जसोतसो उसले च्याब्रुङ भने बनाई छाड्यो । मिहिनेत स्वरुप च्याब्रुङ पनि राम्रै बज्ने भयो । पहिलोपटक आफैले बनाएको च्याब्रुङको सुरिलो आवाज सुन्दा उ एकदमै खुसी भएको थियो । सायद त्यहिँ भएर उ आफ्नो च्याब्रुङलाई औधि मायाँ गर्थ्यो ।

‘हैन अब नाच्ने होला नि हौ ! ढिलो भइसक्यो’ (सरदार सिराने ठुले मुजोत्लुङको मुनि नाच्न तयारी हुँदै बोल्यो ।)

उसको कुरो सुनेर सबैजना गोलो भए । बुद्धिबहादुर पनि टोलीमा गएर मिसियो । सरदार सिराने ठुलेले केहि मुन्धुम फलाकेर औपचारिकता पुरा गर्यो । सबैजनाले नाच्न तयार हुँदै उसलाई ध्यान दिँदै साथ दिए । त्यसपछि सबैजनाले नाच्न सुरु गरे । दिउँसोपख बिहे खान आउने मान्छेहरुको भिड आँटी नआँटी भयो । घरि मयुरजस्तै भएर मयुर शैलिमा त घरि मृगजस्तै भएर मृग शैलिमा बेलाबेला सासले बिस्तारै छुई… छुई आवाज निकाल्दै च्याब्रुङ नाचिरहेको उनीहरुले बिहेको रौनक थप बढाईरहेको थियो ।

बिहेमा केटाकेटीहरु मासुभात खानमा ब्यस्त थिए । बुढापाकाहरु भने जाँड रक्सी खान ब्यस्त । शिरवन्दी र कण्ठाहरुमा सजिएका महिलाहरु भने प्राय फोटो खिच्नमा तल्लिन थिए । त्यसो त बेहुला बेहुलीलाई आशिर्वाद दिनेहरुको लर्को नि कम भने थिएन ।बेहुला बेहुलीहरुलाई टिकाटालो आशिर्वाद प्रदान गरिसकेपछि बिहेमा उपस्थित भएका अन्य पाहुना र गाउँलेहरु पनि बेलाबेला च्याब्रुङ्गे टोलीहरुसङ्गै मिसिएर नाच्ने गर्थे । यसरि आफुहरुसङ्ग अन्य पाहुनाहरु पनि मिसिएर नाच्दा उनीहरुमा झन स्फुर्ति बढ्थ्यो र कुलुलुलुलुलु….कुर्लिदै झन जोडले नाच्थे । नाचेर थाकेको बेला भने उनीहरु पातमा राखेको मासुको सितन बनाएर रक्सी खान्थे । यसरि बिहे सकिँदासम्म उनिहरु पुरै मातिसकेका थिए ।

साँझ बिहेको कार्जे सकियो । बिहेमा उपस्थित इष्टमित्र, छरछिमेक र गाउँलेहरु बेहुला बेहुलीको परिवारलाई बिदा माग्दै आ–आफ्नो घर लागे । कामदारहरु हस्याङफस्याङ गर्दै रातीको भान्सा तयार गर्न थाले । पिल्सिङे र उसकी स्वास्नि आ–आफ्नो काममा ब्यस्त भए । च्याब्रुङ्गे टोलीहरु पनि मुजोत्लुङ मुनि च्याब्रुङ थनक्याएर गुन्द्रीमा बसे ।

दिनभरि नाच्दा–नाच्दा थाकेकोले प्राय सबैजसो गुन्द्रीमै आराम गर्न ढल्किए । त्यतिबेलै कसले हो कुन्नि चाक छाडा छोडिहालेछ । गुन्द्रीबाट नाक बुच्याएर थुक्दै सिराने ठुले उठेपछि मात्रै उसले पाद गनाएको थाहा पायो । उ पनि नाक थुन्दै भान्सामा जाँड मागि खान छिरे ।

बेहुला बेहुली, जन्ती र पाहुना सङ्गै उनीहरुले पनि खाना खाए । खाना खाईसकेर किसोर युवा युवतिहरु गित घन्काउँदै जन्तीहरुसङ्ग नाच्न थाले भने बुढापाकाहरु मातेर लड्न खोज्दै पालाम गाउन थाले । सिराने ठुले र बिर्खेहरु पनि पालाम गाउन मिसिए । उ भने आँखा रातो बनाउँदै कटेरोमा गयो । पिल्सिङेनिले उनीहरुको निम्ति परालमाथि लस्करै ओछ्यान लाईदिएकि थिइन् । कोट फुकालेर उ सिरकभित्र गुटमुटियो । रातभरि साउण्डसेटले बिहे पुरै जाग्राम बनायो ।

बिहान उसको आँखा खुल्दा सबैजना उठिसकेका थिए । बाहिर अलिअलि जाडो थियो । उ कोट लाएर साथीहरु भएतिर निस्क्यो । सिराने ठुलेहरु अघिनै बटुका लिएर बसेका रहेछन् । बिर्खे भने सिन्काले दाँत कोट्याउँदै पाहुनाहरुलाई गफ लाउँदै थियो । पिल्सिङे र उसकी स्वास्नि च्याब्रुङ्गे टोलीको बिदाईको निम्ति दियो कलसहरु तयारी गर्दै थिए । कामदारहरु आपसमा होहल्ला गर्दै भाँडावर्तनहरु थन्क्याउँदै थिए । न्यानो घाम लागेकोले उ गुन्द्रीमा ढल्केर घाम ताप्न थाल्यो । उसलाई देखेर नयाँ बुहारीले जाँड ल्याईहालिन् । उसले पनि दुई बटुको मिलिक्कैमा स्वाट्ट पारिहाल्यो ।

‘लु आबो सुरु गर्दा भयो है’ (लट्ठि टेकेर चेयरमा बसेको सुब्बा डगलसिं बोल्यो।उ उमेरको हैसियतले त्यहाँ तुम्याहाङझैँ भएको थियो । पिल्सिङेनिले हतारहतार दुइवटा गुन्द्री बिछ्याइन् । अनि नाङ्लोमा फुल, पैसा रोटि, पेप्सि, रक्सीको बोतल, अक्षता र फलफुलहरु राखिन् । भान्सामा सघाउँदै गरेको बेहुला बेहुली आएर एउटा गुन्द्रीमा बसे । अर्कोमा च्याब्रुङ्गे टोलीहरु बसे । त्यसपछि टोलीको तर्फबाट सरदार सिराने ठुलेले बेहुला बेहुलीलाई मुन्धुम फलाक्दै रुमालमा अक्षता दिएर आशिर्वाद दिन थाल्यो । बदलामा बेहुला बेहुलीले सबैजनालाई पालैपालो ढोगे ।

‘लु बिहेको निम्तो पालना गरि सबैजना आइदिनुभो । यसरि यो कार्यक्रम सफल बनाईदिनु भएकोमा सबैजनालाई यरिक यरिक नोगेन है !’ (पिल्सिङेले सबैलाई सेवारो गर्दै औपचारिकता पुरा गर्यो ।)

त्यसपछि नाङ्लोमा तयार पारेको सरसामान र पैसा सबैजनालाई बराबर भारी हालिदिएर बिदा गर्यो ।

बिधि सकिएपछि सेवारो गर्दै उनीहरु सबैले बिदा मागे । अनि आ–आफ्नो च्याब्रुङ भिरेर नाच्दै आँगनदेखि गेटसम्म पुगे । गेट कटेपछि भने नाच्न छाडे । त्यसपछि होहल्ला गर्दै आ–आफ्नो बाटो लागे । पिल्सिङेहरुले छेलिन्जेलसम्म उनीहरुलाई हेरिपठाए । प्राय उनीहरु सब अघिनै माति सकेकोले हिँड्दाखेरि बेलाबेला खुट्टा लड्खडाउँदै खेतको कान्लातिर पसिजाँदै थियो ।

सङ्गै रातुवासम्म आइपुगेपछि भने उनीहरुको बाटो छुट्टियो । सिराने ठुले र अन्य टोलीहरु त्यहाँबाट आ–आफ्नो बाटो लागे । उ भने एकछिन खोलामा आराम गर्ने मनसायले बगरको ठुलो ढुङ्गामा गएर बस्यो । अघि पिल्सिङेले भारि हालिदिएको रक्सी झिक्यो । अनि बिहानको मधुरो घाम ताप्दै ठाडो घाँटि हालेर आधा बतल स्वाट्ट पार्यो । हावाले हानेर चिसो भएको कान र शरिर एक्कासि तातो भयो । धेरथोर अघि नै मातिसकेको उसलाई थप आधा बोतलले टाउको घुमेजस्तै झननन भयो । खोलामा झरेर अन्जुलीमा अलिकति खोलाको पानी पियो । अलि जोडले रिङ्गटा चलेजस्तो भएपछि झोला सिरानी हालेर त्यहिँ ढुङ्गामाथि सुत्यो । च्याब्रुङ भने सिरानिको छेउमा राख्यो । सुतेको एकैछिनमा उ भुसुक्कै निदायो ।

साँझतिर उ बिउँझियो । शरिरमा एकदमै जाडो भइरहेको थियो । टाउको उठाएर यताउति हेर्यो । टोपि भुइँमा खसेको रैछ । टिपेर ओढ्यो । कोटको टाँक फुस्किएको रैछ, लगायो । झोला सिरानीमै थियो । तर झोलाछेउ राखेको च्याब्रुङ भने थिएन । उसले आत्तिँदै जुरुक्क उठेर यताउति हेर्यो । ढुङ्गाको मुनि खसेको छ कि भनि हेर्यो । खोलामा खसेको छ कि भनि हेर्यो । एक्कासि उसको टाउको सिरिङ्ग भएर आयो । मनमा चिसो भएझैँ भयो । कसैले जिस्किएर लुकाइदियो कि भनि उसले बगरभरि धुम्धुम्ति खोज्न थाल्यो ।

साँझ ढल्दै थियो । आकास पुरै पहेँलो भएको थियो । रतुवा चिसो सिरेटो बोकेर बगिरहेथ्यो । बगरमा चार पाँचजना खरितेहरुले गाइबस्तुको बथान झार्दै थिए । उसलाई धुम्धुम्ति यताउता गरेको देखेर तिनिहरु सब छक्क परे ।

‘के भयो हौ लुङा ? के खोज्नुभाहो त्यसरि ?’ (बस्तु धपाउन छाडेर एकजना खरितेले सोध्यो ।)

उ केहि जवाफ नदिईकन च्याब्रुङ खोज्नमै तल्लिन भयो ।

‘हैन सुन्नु भएन कि के हौ ? हामी पनि खोज्न सघाउँथ्यौँ कि ?’ (खरितेले फेरि सोध्यो ।)

‘च्याब्रुङ हौ लुङा’ (उसले पुलुक्क हेरेर उत्तर दियो ।)

‘सुत्दा यहिँ ढुङ्गामा राखेको थिएँ ।’

‘ए… कसले चोर्योहोला कुन्नि ?’ (अर्को खरिते बोल्यो ।)

चोरिको कुरोले उ झसङ्ग भयो । हतार आत्तिएर वरपरको बाटोहरुमा हेर्न थाल्यो । साँझको अध्यारोँसङ्गै गाइबस्तुहरुले उडाएको धुलोले बाटो पुरै धमिलो हुँदै थियो । नजिकको बस्तु बाहेक टाढाटाढाको बस्तुहरु दृष्टिगोचर हुन गाह्रो थियो । झ्याउँकिरिहरुको एकोहोरो झ्याउँ .. झ्याउँ..र गाइबस्तुहरुको खुरको आवाजले साँझको सन्नाटालाई चिर्दै थियो । त्यस्तै उसको मनभित्र पनि डर र पिरको ढ्याङ्ग्रो जोडजोडले बज्दै थियो । त्यसपछि खरितेहरुको कुरा नसुनी हतारहतार ढुङ्गामाथि राखेको झोला बोकेर गाइबस्तुहरुको भिड उछिन्दै बगरैबगर दगुर्यो । बस्तु फर्काइरहेको गोठालो, यात्रामा हिँडिरहेको बटुवा र खोलामा माछा मारेर फर्किरहेको जालहारीहरु देखिन्छन कि भनि आँखाले भ्याएसम्म हेर्दै निक्कै तलसम्म पुग्यो । तर बाटामा कोहिपनि भेटिएनन् । न त नजिक कुनै घर नै देखिए । अँध्यारोले बगर पुरै छोप्दै थियो । वरिपरिको पेरुङ्गे चुलिहरु कालो देखिन थालिसकेको थियो । निक्कैबेर खोज्दापनि आसपास कोहि नभेटिएपछि उसको हराएको च्याब्रुङ भेट्ने आस मर्दै थियो । एकातिर रातसङ्गै चिसो सिरेटो नि बढ्दै थियो । उसलाई आफैसङ्ग भक्कु रिस उठेर आयो । अनि झोलाबाट अघि खाएर राखेको आधा बतल रक्सी निकालेर एक घुटुकमै स्वाट्ट पार्यो । रक्सी सक्नु बित्तिकै चिसिँदै गरेको हातखुट्टा फेरि तातो भएर आयो । बोतल रित्याईसकेपछि बगरमा घुइँकायो । ढुङ्गामा ठोक्किएर बतल झिर्लिम्म फुट्यो । त्यसपछि उ खोलाको डिलमा गयो । सललल बगिरहेको रतुवालाई एकछिन हेर्यो अनि सुरुवाल खोलेर त्यहिँमाथि पिसाब फेर्यो । सायद पिर र पछुतोले होला उसलाई यसपटक रक्सीले मातेन ।

साँझ ढलेर पुरै रात पर्यो । रुखको झ्याङभित्र चिरबिर गरिरहेका चराचुरुङ्गहीरु गुँड पसेर शान्त भयो । खरितेहरु ले दोभान काटिसकेको थियो । रात ढल्दै गएपछि चुलिमा जङ्गली जनावारहरुको एकदम त्रास बढ्थ्यो । अर्कोतिर मसान र भुतप्रेतको डर पनि थियो । तर उभित्र डर र त्रासभन्दा नि च्याब्रुङको पिर मात्र चुँलिदो थियो । उसले केहिपनि सोच्न सकिरहेको थिएन । सायद पिर भन्ने कुरा जति गरिँदो हो त्यति बढ्दो हो । त्यति नै मन दुख्दो हो । उसलाई च्याब्रुङ नलगी घर जान मनै परेन । फर्किएर पिल्सिङेको घर जान नि टाढा पर्थ्यो । अब उसले अन्तिम बिकल्पको रुपमा दोभानमा गएर सोधिखोजि गर्ने मनसाय राख्यो । त्यहाँनेर एउटा पसल थियो । कतै केहि पत्तो लाग्छ कि भन्ने आसाको अन्तिम त्यान्द्रो बोकेर उ छिटोछिटो दोभानतिर लाग्यो ।

पसल पुग्दा पसलेहरु खाना खाँदै थिए । उ हिँड्दा हिँड्दा थाकेकोले बाहिरको कुर्सिमा थ्याच्च बस्यो । अघिको रक्सीले जिउ र टाउको अलि अलि तातो भएनि उसको खुट्टाभने जाडोले लुगलुग काँपिरहेको थियो । बत्तिको उज्यालोमा सुरुवालमा टाँसिएको कुरो उक्कायो उसलाई देखेर पसले बाहिर निस्कियो । च्याब्रुङ बोकेर कोहि मान्छे यताउता हिँडेको देख्नुभो कि भनेर सोध्यो उसले । पसलेले कोहिपनि नदेखेको कुरा बतायो । पसलेको कुराले उसलाई झनै तनाव थप्यो । त्यत्तिकै रित्तो घर फर्किनु कि च्याब्रुङ खोज्नु भयो । घरमा स्वास्निलाई के भन्ने भन्ने पिरोलोले चेप्न थाल्यो । उसलाई पहिलोपटक स्वास्निको अति धेरै मायाँ लाग्यो । उनको कुरा कहिल्यै नटेर्ने भएकोले पछुतो पनि लाग्यो । त्यसपछि मुटु दह्रो बनाएर अन्तत, घरै फर्किने निर्णय गर्यो । बाहिर अति चिसो थामि नसक्नु थियो । अलिकति आफैसङ्गको रिस, अलिकति च्याब्रुङको पिर र अलिकति आत्माग्लानीले उसलाई टाउको दुखे जस्तो भयो । त्यसपछि केहिपनि नसोचि कोटको खल्ति बाट अघि पिल्सिङेले दिएको पैसा निकालेर एक बतल रक्सी किन्यो । अनि ठाडोघाँटि हालेर एकैछिनमा स्वाट्ट पार्यो । शरिर पुरा तात्तिएर आयो । खुट्टाहरु लर्बरिन थाल्यो । मथिङ्गल घुमेजस्तो भयो । अनि उसले च्याब्रुङ सम्झिन छाडि आँखा चिमचिम गर्दै बाँसको झिक्रामिक्रा मागेर राँको बनायो । भित्र भान्सामा लगेर चुल्होमा झोस्यो । राँको हुरुरु बल्यो ।

त्यसपछि अँध्यारोमा रतुवाको नागबेलि बगरैबगर गित गाउँदै लर्बरिँदै घर फर्कियो । अँध्यारो चुलिहरुको फेदिमा उसको राँको भने जोडजोडले बलिरहेको थियो ।

 

सम्बन्धित खवर