मुक्कुमलुङ नामाकरणको लागि जसपाले आन्दोलन गर्ने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ नामाकरणको लागि जसपाले आन्दोलन गर्ने

दमक । राज्यले लिम्बू समुदायको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा कायम गरेको विरोधमा जनता समाजवादी पार्टी नेपाल आन्दोलित बनेको छ । जसपा नेपाल प्रदेश समितिका अध्यक्ष प्रवीण चाम्लिङले बुधबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङलाई मौलिक मुन्धुमी आधारमै नामाकरण गर्न माग गरेका हुन् ।

यसअघि खुवालुङमा क्रेन लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उपर समेत कडा टिप्पणी गरेको जसपा नेपाल प्रदेश १ ले मुक्कुमलुङको मौलिक नाम परिवर्तन गरी पाथिभरा राखिएको विरोधमा आन्दोलनको संकेत दिएको हो । पाथिभरा दर्शन केबुलकार प्रा.लि. ले आउँदो वैशाख ११ गते केबुलकार सेवाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउन लागेको समाचार आए लगत्तै जसपा नेपाल प्रदेश १ समितिको यस्तो धारणा आएको हो ।

मुक्कुमलुङको अस्तित्व समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै विज्ञप्तिमा लिम्बू जातिको मुन्धुम र संस्कृतिसँग जोडिएको यस्ता पुरातात्विक र ऐतिहासिक सम्पदालाई राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै नामेट पार्न खोज्नु निन्दनीय कार्य भएको उल्लेख छ । मुक्कुमलुङमाथिको प्रहार कालान्तरमा लिम्बू समुदायलाई निमिट्यान्न पार्न रचिएको चक्रव्यूह भएको उसको ठहर छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘कथित पाथिभरा नाम, पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३, सो आदेशबाट गठित पाथिभरा विकास समिति समेत तत्काल खारेज गरेर लिम्बू समुदायका मुन्धुमविद्, लिम्बू (याक्थुङ) संस्कृति विज्ञहरु, सरोकारवालाहरुको सहभागिता र नेतृत्वमा ‘मुक्कुमलुङ संरक्षण तथा विकास समिति’ गठन गरी मुक्कुमलुङको मुन्धुमी मौलिकताको जगेर्ना हुने विकासका कार्यहरु अघि बढाउन नेपाल सरकार, प्रदेश नं १ सरकार र स्थानीय तहहरु समक्ष माग गर्दछौं ।’ लिम्बू समुदायको धर्म, संस्कृति, ऐतिहासिकता आधुनिक नेपाल निर्माण हुनु भन्दा अघिदेखिको भएको ठहर गर्दै जसपा नेपालले लिम्बुवान भूमि र लिम्बू समुदायसँग जोडिएका हरेक पक्षहरुको उचित संरक्षण गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जनाएको छ ।

विज्ञप्तिमा २०७४ कार्तिक ८ मा सर्वोच्च अदालतबाट लिम्बू जातिको सांस्कृतिक पक्षहरुको संरक्षण सम्बन्धी जारी भएको परमादेशको वाक्याशं समेत उल्लेख गर्दै मुक्कुमलुङको संरक्षणमा राज्यलाई जिम्मेवार बन्न आग्रह गरिएको छ । केबुलकार सञ्चालनको नाउँमा प्राकृतिक वन क्षेत्र ध्वस्त पारि ११ हजार भन्दा बढी रुखबिरुवा काट्न लागेको र काफ्लेपाटीमा पाथिभरा दर्शन केबुलकार सेवा प्रा.लि.का नाउँमा जग्गा खरिद गर्दा करोडौं आर्थिक चलखेल भएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिका वडा नम्बर १० र ११, फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ र ५ तथा सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को केन्द्रविन्दुमा अवस्थित मुक्कमुलुङलाई लिम्बू सदमुदायले सेमुक्तिकोक् र सेमुक्तुबुङ पनि भन्ने गर्दछन् । मुक्कुमलुङलाई लिम्बू समुदायले शक्तिको प्रतीक मान्दछन् भने युमा माङ्ले पदार्पण गरेको हुनाले यो ठाउँ पवित्र भएको विश्वास गर्दछन् ।

सम्बन्धित खवर