माङसेबुङको रैथाने दालको लोकप्रियता - Mangsebung News
  • बुधबार, असार २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको रैथाने दालको लोकप्रियता

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ/गाउँमा रैथाने बीउ बैङ्कको व्यवस्था नभएकोले परम्परागत विधि अनुसार घाममा सुकाएर कोदोको भुससँग मिसाएर दालको बीउ भण्डारण गर्ने गरेको कृषक सन्तकुमार राई बताउँछन् । परम्परागत बीउ संरक्षण प्रणाली कमजोर भए पनि आफूले चाहिने बीउ पराम्परागत रूपमा नै भण्डारण गर्दै आएको उनको भनाई छ ।

अर्का कृषक कर्णबहादुर राईको बीउ भण्डारण गर्ने शैली पनि उस्तै छ । परम्परागत शैलीमा बीउ भण्डारण गर्दै आएका कर्णबहादुरले पनि बीउलाई घाममा सुकाएर सफा बट्टा वा बोतलमा बन्द गरेर राख्ने गरेको सुनाए ।

यसरी बीउ भण्डारणको अभावमा जलवायु परिवर्तनको जोखिम भए पनि पुर्खौली पेशाको रूपमा खेती गर्दै आएको पहेँलो दाललाई थोक बिक्रीसँगै खुद्रा बिक्रीको रूपमा माङसेबुङ आउने पाहुनाले कोसेली लाने गरेका छन् । पछिल्लो समय उत्पादन घट्दो रहेको यहाँको रैथाने दाल उत्पादन भएमा बजारको लागि कुनै समस्या नरहेको कृषकको भनाई छ ।

एकमुष्ठ थोक बिक्री नभए पनि खुद्रा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको माङसेबुङ ३ का कृषक बुद्धि कोयु राईको भनाई छ । उनले भने, ‘गाउँघरमै खानको लागि छरछिमेकीले लाने र कोसेलीको रूपमा लानेहरुले खुद्रा मूल्य प्रतिकिलो ३१० रुपैयाँले दाल किनेर लाने गरेका छन् । दाल उत्पादन गर्न सके बजारको समस्या छैन् ।’

बेमौसमी पानीले दाल बिग्रेर उत्पादनमा गिरावट आएको कृषक बुद्धि बताउँछन् । उनले गत वर्ष करिब १० मन (४ क्विन्टल) पहेँलो दाल उत्पादन गरि प्रतिकिलो ३०० ले बेचेका थिए । बुद्धिसँग २७ मन (करिब ११ क्विन्टल) सम्म दाल उत्पादन गरी प्रतिकिलो २२० ले बेचेको सम्झाना छ । पछिल्लो समय दाल खेतीको विकल्प दुग्धजन्य परिकार उत्पादन गर्ने दुग्धडेरी सञ्चालनमा ल्याएकोले दाल खेती घट्ेको उनको भनाई छ ।

वर्षेनी खेती गरेको जग्गामा तुलनात्मक रूपमा उत्पादन ह्रास हुने भएकोले दाल खेतीका लागि २/३ वर्ष बाँझो छोडिएको जग्गा उपयुक्त हुने कृषकहरु बताउँछन् । घमाइलो र मलिलो ठाउँमा उत्पादन बढी हुने उनीहरुको अनुभव छ । मलिलो जमिनमा एक रोपनी बराबर १ मन दाल उत्पादन हुन्छ ।

वर्षौं यता पहेंलो दाल उत्पादन हुँदै आएको माङसेबुङ ३, ४ र ५ मा साउन १५ देखि भदौं १५ सम्म दाल छर्ने समय मानिन्छ । मंसिर पहिलो सातादेखि अन्तिम साता भने बाली उठाउने समय हो । माङसेबुङ ३ का कृषक सन्तकुमार राईका अनुसार घमाइलो ठाउँमा अगुवा र सेपिलो ठाउँमा पछुवा बीउ छर्नु उचित हुन्छ । दाल बालीमा कहिले पनि रासायनिक मल प्रयोग नगरेको र घरैमा उत्पादन हुने प्राङ्गरिक मलमात्र प्रयोग गरेको राईको भनाई छ । ‘रासायनिक मल दालले सहँदैन रहेछ । मैले एक पटक अभ्यासको लागि थोरैमा रासायनिक (युरिया) मल लगाएको थिएँ, त्यहाँ दाल नै फलेन,’ उनले भने ।

दाल पाक्ने समयमा मौसमले साथ नदिएर उत्पादन घटेकोमा भने कृषक चिन्तित बन्दै गएका छन् । दालको कोसा सुक्ने बेलामा पानी बढी भएर बोटमै बिग्रिँदा विगतको तुलनामा उत्पादन घटेको हो । २ वर्ष पहिले करिब २० मन (८ क्विन्टल) उत्पादन गर्दै आएको भए पनि गत वर्ष १२ मन मात्र उत्पादन भएको राई बताउँछन् । उत्पादित दाल प्रति मन १० हजारमा बिक्री गरेका उनले बीउ भने आफैंले घरमा राख्ने गरेका छन् ।

दालको बीउ उम्रिने बेला ढुकुरले खाइदिने र पाक्ने बेलामा बादरले दुःख दिने गरेको अर्का कृषक माङसेबुङ–५ की सूर्यमाया ताप्मादेन माबोहाको दुखेसो छ । दाल खेतीमा उत्पादन बढ्ने र घट्ने समयले निर्धारण गर्ने अनुभव सुनाउँदै उनी भन्छिन्, ‘दाल कोसा लाग्ने समयमा बेमौसमी पानी आएकोले गत वर्ष दाल बिग्रेर सोचेजस्तो उत्पादन भएन ।’

विगतमा ३ मनसम्म उत्पादन गर्दै आएको उनको परिवारले गत वर्ष करिब २ मनमात्र उत्पादन गर्न सक्यो । मौसमले गर्दा उत्पादन घटेको उनको भनाई छ । यसरी उत्पादन गरेको दाल घरबाटै बिक्री हुने सूर्यमायाले बताइन् ।

बढ्दो कृषि उपजको आयात घटाई निर्यात बढाउने उद्देश्यले माङसेबुङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न ६ प्रकारका कृषि उपजमा अनुदान दिएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन, दाल उत्पादन, स्कुस उत्पादन, केराखेती उत्पादन, कफि उत्पादन र बाँस उत्पादन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रमको नाममा गाउँपालिकाले सोझै अनुदान दिएको हो ।

दाल उत्पादन प्रोत्साहन कार्यक्रम अन्तर्गत १ क्विन्टल बढी दाल उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ दिने गाउँपालिकाको प्रोत्साहन कार्यक्रम रहे पनि विभिन्न कारण सूर्यमायाले उत्पादन प्रोत्साहन कार्यक्रममा सहभागी बन्न पाइनन् । .स्थानीय चन्द्रकुमारी लिम्बूको पनि समस्या सूर्यमायाको जस्तै छ । सोही समयमा उत्पादन प्रोत्साहन कार्यक्रमको मापदण्ड पुग्ने गरी ४ मन जति दाल उत्पादन भए पनि कागजात मिलाउन नसकेर गाउँपालिकाको उत्पादन प्रोत्साहन कार्यक्रमबाट अनुदान रकम लिन सकेनन् ।

पछिल्लो समय दालको बोट आए पनि बेमौसमी पानीले फल नलागेकोले उत्पादन घटेको चन्द्रकुमारीले बताइन् । ४ मनसम्म उत्पादन हुँदै आएको दाल खेती उत्पादन घटेकोले गत वर्ष १ मनमा झरेको उनको भनाइ छ । ‘पहेँली दालको माग बढिरहेको भए पनि बारीमा फुल्दै गरेको दालको बोट पहेँलिएर मरेपछि उत्पादन घट्न थालेको छ,’ उनी भन्छिन् ।

कृषकलाई प्रोत्साहन गर्नका लागि माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको उत्पादन प्रोत्साहन कार्यक्रम अन्तर्गत दाल उत्पादनबाट कृषक बुद्धि राईले करिब १८ हजार रुपैयाँ अनुदान पाएका थिए । त्यस वर्ष ३ सय ८८ जना किसानले उत्पादन प्रोत्साहन अनुदान पाएको गाउँपालिकाले जनाएको छ । उनीहरुले प्रोत्साहन बापत ३४ लाख ४१ हजार ४ सय ८ रुपैयाँ पाएका थिए । गाउँपालिकाको कृषि अनुदान अन्तर्गत पहेँली दालमा ७१ जना किसानले ५ लाख ६९ हजार ५ सय ५४ रुपैयाँ अनुदान पाएका थिए ।

पुर्खौली पेशाकै रूपमा २०२७/०२८ सालयता दाल खेती गर्दै आएका माङसेबुङ ५ का कर्णबहादुर राईका अनुसार दाल उत्पादन विगतको वर्षभन्दा पछिल्लो समय घट्दोक्रममा रहेको छ । खेतीको क्षेत्रफल बढाएपनि उत्पादनको मात्रा घटेको पेशाले शिक्षक समेत रहेका राईको भनाई छ ।

जलवायु परिवर्तनले हावापानीको मात्रा नमिल्नु र विभिन्न रोगहरु लाग्नुले उत्पादनमा ह्रास आएको हो । त्यसैले माटोको परिक्षण गरी माटोको पनि उपचार गर्न आवश्यक रहेको उनको बुझाइ छ । दाल बालीमा पछिल्लो समय देखिएको पहेंलो रोगका कारण उत्पादनमा असर परेपछि किसानहरु चिन्तित बनेका छन् । रोगको फैलावटले उत्पादनमा असर गरेपछि कृषकहरु दाल खेतीबाट निराश बन्दै गएको अवस्था छ ।
वर्षेनी एकै ठाउँमा एकै बाली लगाएका कारण माटोमा अम्लीयपन बढेमा यस्ता समस्या देखिने माङसेबुङ कृषि शाखाका कृषि प्राबिधिक निरूपा राईको भनाइ छ ।

नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने किसानहरुले पुस्तौदेखि आफ्नै बीउ संरक्षण गरेर, पराम्परागत ज्ञान र प्रविधि प्रयोग गरी खेती गर्दै आएको नेपालको मौलिक बालीहरुलाई रैथाने बाली भन्ने गरिन्छ । जैविक विविधता, खाद्य सुरक्षा र सांस्कृतिक महत्वले अत्यन्त महत्वपूर्ण बालीलाईनै रैथाने बाली मान्ने गरिन्छ ।

रैथाने बालीको परिभाषा र मूल्य मान्यता अनुसार खाद्य सुरक्षा र सांस्कृतिक महत्व बोकेको दाल (मास) खेती दलहन वाली वर्गको रैथाने कोसेबालीमा परे पनि पछिल्लो समयमा माङसेबुङमा नगदेबालीमा परिणत हुँदै गएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखाले जनाएको छ । यहाँ दाल खेती समुद्री सतहदेखि करिब १२ सय मिटर उचाईसम्ममा हुने गरेको छ ।

माङसेबुङको कूल क्षेत्रफलको २८ प्रतिशत भूभागमा मात्र कृषि खेती हुने गरेको छ । यसरी २८ प्रतिशत मात्र खेतीयोग्य भूमिमा दाल (पहेलों र कालो दाल गरी) ८ देखि १० प्रतिशत भूभागमा खेती गर्ने गरिएको हो । माङसेबुङको ३, ४ र ५ वडामा विशेषगरी उत्पादन हुँदै आएको पहेलो दाल करिब ३० देखि ५० मेट्रिक टनसम्म उत्पादन हुने गरेको कृषि शाखाकी प्राविधिक राई बताउँछिन् ।

रैथाने दलहन बाली मध्ये दाल (मास) खेती अन्तर्गत पहेँलो दालको ऐतिहासिकता र विशेषता बेग्लै छ । माङसेबुङमा खेती हुने रैथाने बालीहरुलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा चिन्तित रहेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बताए । अध्यक्ष राईका अनुसार परम्परागत खेती प्रणालीमा रहेका यहाँको रैथाने बालीहरुलाई संरक्षण गर्दै व्यवसायिक बनाउन चुनौतिपूर्ण कार्य रहेको छ । अध्यक्ष राईले भने, ‘यहाँको रैथाने बालीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । तिनको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । गाउँपालिका यस कार्यमा लागेको छ ।’

गाउँपालिकाले एक वडा एक रैथाने बाली कार्यक्रम सञ्चालन गरी यसको संरक्षण गर्न र धार्मिक तीर्थस्थलमा आउने भक्तजन तीर्थयात्रीको लागि यहाँको रैथाने उत्पादन रहेको पहेँलो दाललाई ब्रान्डिङ गरेर कोसेली परिकारको रूपमा विस्तार गर्न सके स्थानीय कृषकहरुको आयआर्जनमा समेत सहयोग पुग्ने कृषकहरुको भनाई छ ।

जलवायु परिवर्तन र पर्यावरणीय असरले रैथाने बालीको उत्पादनमा कमी हुँदै गए जिविकोपार्जनमा मात्र नभई हाम्रो सांस्कृतिक र सामाजिक परिवेशमा समेत गम्भीर असर पार्ने र यसले खाद्य सुरक्षामा दीर्घकालीन असर पर्ने संयुक्त राष्ट्रसंघको खाद्य ता कृषि संगठनले जनाएको छ ।

मास बाली कोसेबाली परिवारमा पर्दछ । यसको जरा ट्याप रुट प्रणालीमा आधारित हुन्छ र डाँठ थोरै धारिलो बाक्लो खैंरो झुसले ढाकिएको र अधरदेखि नै थुप्रै हाँगाबिंगाहरु निस्केका हुन्छन् । कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँकेका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा राजेन्द्र दराईका अनुसार मासको पातहरु ठूला, तीनपाते तथा बैजनी रंगको झुसले ढाकिएका हुन्छन् । पातहरू ५–१० सेन्टिमिटर लामो र अण्डाकार हुन्छन् र फूलहरु ५—६ वटा फूलहरूको समूहमा फुल्दछन् । कोसाहरू लामो र बेलनाकार र ४–६ सेन्टिमिटर लामो हुन्छन् । प्रत्येक कोसामा कालो वा गाढा खैरो ४—१० बीउहरू हुन्छन् ।

मास बाली मध्य पहाडको बेसी, टार तथा उपत्यकामा एकल वा मिश्रित प्रणालीमा खेती गर्ने गरिन्छ । यसरी बाली लगाउँदा धानको आलीमा, भिरालो जग्गा तथा घरको वरपर खेती लगाउने प्रचलन रहेको छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल ललितपुरका अनुसार दलहन बाली वानस्पतिक प्रोटिनको महत्वपूर्ण स्रोत हो । यसमा खनिज, भिटामिन, कच्चा फाइबर आदि पर्याप्त मात्रामा पाइन्छ । नेपालमा दलहन बाली क्षेत्रफलको हिसाबले चौथो र उत्पादनको हिसाबले पाँचौं स्थानमा रहेको छ । नेपालमा दलहन बालीको खेती हिउँदे र वर्षे दुवै याममा हुने भएपनि ७० प्रतिशत भन्दा बढी क्षेत्रफल र उत्पादनको हिस्सा हिउँदे दलहन बालीले ओगटेको छ ।

दलहन बाली मध्ये दाल (मास) पनि एक प्रमुख निर्यातयोग्य बस्तुको रूपमा रहेको छ । नेपालमा खेती गरिने दलहन बालीमा भटमास, बकुला, छिर्केमिर्के सिमी, मास (कालो र पहेलो दाल), चना, रहर, राजमा, मुङ्ग, मुसुरो लगायतलाई रैथाने कोसेबाली मानिन्छ ।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्यालका अनुसार दलहन बाली अन्तर्गत दाल बालीमा लाग्ने रोगहरुमा सरकोस्पोरा थोप्ले रोग, ब्याक्टेरियल पात डढुवा रोग, सेतो ढुले ढुसी, कोत्रे रोग, पहेंलो छिरबिरे रोग लगायत रहेका छन् ।

दलहन बाली खेती प्रविधि पुस्तकमा कोसेबाली अनुसन्धान कार्यक्रम बाँकेका वरिष्ठ वैज्ञानिक डा. राजेन्द्र दराईले लेख्नु भएको छ, ‘नेपालमा हिउँदे तथा वर्षा दुवै मौसममा दाल खेती गर्न सकिन्छ । यसलाई तराईदेखि मध्य पहाड (१००–१९०० मिटर उचाई) सम्म यसको खेती हुने गरेको छ । विरुवाको वृद्धि विकास र राम्रो उत्पादनको लागि २५–३५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने छ । फूल खेल्ने समयमा हुने वर्षातले भने उत्पादनमा प्रतिकुल असर पारेको देखिएको छ । मासले खडेरी तथा गर्मि सहन सक्छ तर अत्याधिक तुसारो र हिमपात सहन सक्दैन ।

दाललाई विभिन्न प्रकारको माटोमा उब्जाउन सकिन्छ । यो बाली पानी नजम्ने वा समुचित जल निकास भएको बलौटे दोमट वा दोमट माटो भएको जग्गामा लगाउन उपयुक्त हुने वरिष्ठ वैज्ञानिक डा. राजेन्द्र दराईले उल्लेख गर्नुभएको छ । दलहन बाली खेती प्रविधिमा वरिष्ठ वैज्ञानिक डा. दराईले उल्लेख गरे अनुसार धेरै अम्लिय माटो दाल खेतिको लागि उपयुक्त हुँदैन त्यसर्थ माटोको पी.एच. तटस्थ भएको (६ देखि ७. ५) हुन उत्तम हुन्छ ।

 

सम्बन्धित खवर