याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवस सम्पन्न - Mangsebung News
  • आइतबार, साउन ३१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवस विविध सिर्जनात्मक, बौद्धिक तथा सांस्कृतिक कार्यक्रमका साथ आज ललितपुरस्थित चुम्लुङहिममा सम्पन्न भएको छ । स्थापना दिवस कार्यक्रम याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङ प्रदेश समितिको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि किरात याक्थुङ ङचुम्लुका संघीय अध्यक्ष गोविन्द आङबुङले याक्थुङ भाषा, संस्कृति, मुन्धुम र सामुदायिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा सिर्जनात्मक क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले याक्थुङ चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई समुदायको इतिहास, संस्कृति र जीवनदर्शन अभिलेखीकरण गर्ने सशक्त माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य यासेली योङहाङ, याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ, किरात याक्थुङ चुम्लुङ भक्तपुरका अध्यक्ष दिपेन्द्र आङदेम्बे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले याक्थुङ चलचित्र क्षेत्रको संस्थागत विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा नयाँ पुस्ताका चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सामूहिक पहल आवश्यक रहेको धारणा राखेका थिए ।

स्थापना दिवसको अवसरमा संस्थाले यसअघि सञ्चालन गरेका प्रशिक्षण तथा सिर्जनात्मक कार्यक्रमलाई समेत निरन्तरता दिएको थियो । मिति २०८३ साल साउन २७ गते ‘याक्थुङ चलचित्र समालोचना लेखन तालिम’ तथा साउन २८ गते ‘याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि प्रशिक्षण’ सम्पन्न गरिएको थियो । स्थापना दिवस समारोहमा उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यसैगरी, याक्थुङ चलचित्र तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने यासेली योङहाङ र मेन्छ्यायेम केलाःङ समूह, उपत्यकालाई संस्थाको तर्फबाट धन्यवादपत्र प्रदान गरिएको थियो ।

याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सिता राई नेम्बाङले संस्थाको स्थापना र विकासको यात्रामा विभिन्न कालखण्डमा योगदान पु¥याउने अग्रज, नेतृत्व, चलचित्रकर्मी, सर्जक, अभियन्ता, सल्लाहकार, सदस्य तथा सहयोगी सबैप्रति आभार व्यक्त गरिन् । उनले संस्थाको उद्देश्य याक्थुङ चलचित्रकर्मीहरूलाई एउटै संस्थागत सञ्जालमा आबद्ध गर्नुका साथै याक्थुङ भाषा, मुन्धुम, इतिहास, सांस्कृतिक स्मृति र सामुदायिक जीवनलाई चलचित्रमार्फत अभिलेखीकरण तथा पुस्तान्तरण गर्नु रहेको बताइन् ।

उनका अनुसार याक्थुङ मुन्चइत चोक सयङले चलचित्र क्षेत्रको संस्थागत विकासका लागि ‘याक्थुङ मुन्चइत अक्षयकोष’, ‘याक्थुङ चलचित्र दर्ता कार्यविधि’ तथा ‘याक्थुङ स्टोरी बैंक’ लगायतका अवधारणा तथा कार्यक्रमलाई अघि बढाइरहेको छ । विशेषतः ‘याक्थुङ स्टोरी बैंक’मार्फत याक्थुङ समुदायका मौखिक परम्परा, मुन्धुम, लोककथा, इतिहास, मिथक, सामाजिक स्मृति तथा समकालीन जीवन–अनुभवलाई भविष्यका चलचित्र सिर्जनाका लागि ज्ञान–सम्पदाका रूपमा अभिलेखीकरण गर्ने लक्ष्य रहेको उनले बताइन् ।

सयङ अहिले संघीय कार्यसमिति, लिम्बुवान प्रदेश समिति, नेवा;ताम्सालिङ प्रदेश समिति, पान्थर जिल्ला समिति, सुखिम समिति, हङकङ समिति तथा अमेरिका समिति लगायतका संरचनामार्फत विस्तार भइरहेको छ । केही संरचना औपचारिक घोषणाको प्रक्रियामा रहेका छन् भने युकेमा संगठनात्मक समन्वयको कार्य अघि बढिरहेको जनाइएको छ ।

यङले विश्वका विभिन्न भूगोलमा छरिएर रहेका याक्थुङ चलचित्रकर्मीलाई एउटै सिर्जनात्मक तथा संस्थागत सञ्जालमा जोड्ने लक्ष्य लिएको छ । संस्थाले याक्थुङ चलचित्रलाई मनोरञ्जनमा मात्र सीमित नराखी ज्ञान उत्पादन, सांस्कृतिक स्मृति संरक्षण, सामुदायिक आत्मपहिचान, भाषिक अधिकार तथा सांस्कृतिक पुनर्जागरणको माध्यमका रूपमा विकास गर्ने दृष्टिकोण अघि सारेको छ ।

१७औँ स्थापना दिवसले संस्थाको विगतको यात्रा र उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा याक्थुङ चलचित्रको संस्थागत, सिर्जनात्मक र वैचारिक विकासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नयाँ पुस्ताका चलचित्रकर्मीलाई सिर्जनाको अग्रपङ्क्तिमा ल्याउँदै याक्थुङ चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमाको मानचित्रमा अर्थपूर्ण पहिचानका साथ स्थापित गर्ने लक्ष्यसमेत अघि सारिएको छ ।

 

सम्बन्धित खवर