
काठमाडौँ । याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो ।
याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा याक्थुङ चलचित्रकर्मीहरूलाई चलचित्र सिर्जना, समालोचना, संस्थागत विकास तथा मौलिक भाषा–लिपि र संस्कृतिसँग चलचित्रको सम्बन्धका विषयमा अभिमुखीकरण दिइएको थियो । कार्यक्रममा मुन्चइतका संघीय अध्यक्ष सागर केरुङ तथा संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य यासेली योङहाङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विशेषतः याक्थुङ समुदायको मौलिक भाषा, सिरिजङ्गा लिपि, सांस्कृतिक पहिचान र चलचित्रबीचको अन्तर्सम्बन्धलाई केन्द्रमा राख्दै सिर्जनात्मक अभ्यास तथा व्यावहारिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो । चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी भाषा, संस्कृति, इतिहास, मुन्धुम र सामुदायिक स्मृतिको अभिलेखीकरण तथा पुस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
स्थापना दिवसकै सन्दर्भमा याक्थुङ मुन्चइत चोक सयङले गत साउन २७ गते ‘याक्थुङ चलचित्र समालोचना लेखन तालिम’ समेत सम्पन्न गरेको थियो । यससँगै चलचित्रकर्मीको सिर्जनात्मक तथा आलोचनात्मक क्षमता अभिवृद्धि र सिरिजङ्गा लिपिको प्रयोग–विस्तारलाई जोडेर स्थापना दिवसलाई सिर्जनात्मक तथा प्राज्ञिक गतिविधिसँग जोडिएको आयोजकले जनाएको छ ।
याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ ललितपुरस्थित चुम्लुङहिममा सम्पन्न गरिने सयङकी अध्यक्ष सीता राई नेम्बाङले बताइन् । उनका अनुसार स्थापना दिवसलाई केवल संस्थागत उत्सवका रूपमा सीमित नराखी याक्थुङ चलचित्र, भाषा, लिपि, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनसँग जोडेर रचनात्मक कार्यक्रम सञ्चालन गरिएको हो ।






