पत्रकार महासंघ इलाम :अध्यक्षमा दुईको मनोनयन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार महासंघ इलाम :अध्यक्षमा दुईको मनोनयन

इलाम । नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा दुई जनाले प्रतिष्पर्धा गर्ने भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि आइतबार अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालको संयुक्त गठबन्धनबाट युवराज भट्टराई (विप्लव) प्रेस संगठन नेपालका तर्फबाट सुजन तिमसिनाले मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्षमा दुई प्यानलबाट मनोनयन दर्ता भएपनि अधिकाशं पदमा संयुक्त प्यानलको तर्फबाट मात्र मनोनयनदर्ता भएको छ । खुला उपाध्यक्षमा संयुक्त प्यानलबाट प्रेस चौतारीका ख्याम भुजेलले मनोनयन दर्ता गरेका छन् । उनी निविरोध निर्वाचित हुने पक्का भएको छ । तर निर्वाचन समितिले औपचारिक घोषणा गरेपछि मात्र निर्वाचित भएको मानिनेछ ।

महिला उपाध्यक्षमा भने दुई जनाले मनोनयन दर्ता गराएका छन् । संयुक्ता प्यानलबाट प्रेस युनियनका सुनिता खालिङ राई र प्रेस संगठनका तर्फबाट बुद्धमाया सोङ्मीले मनोनयन दर्ता गराएका छन् ।

सचिव, समावेशी सहसचिव र कोषाध्यक्षमा संयुक्त प्यानलबाट मात्र मनोनयनदर्ता भएको छ । सचिवमा प्रेस चौतारीका भीम चापागाई, समावेशी सहसचिवमा प्रेस मञ्चका ज्ञानु लिम्बू र कोषाध्यक्षमा प्रेस मञ्चकै राम योङहाङको मनोनयनदर्ता भएको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।

खुला सहसचिवमा भने संयुक्त गठबन्धनबाट प्रेस युनियनका प्रेम अधिकारी र प्रेस संगठनका राजेश पराजुलीले मनोनयनदर्ता गराएका छन् ।

कार्यसमिति सदस्यहरुमा सबै संयुक्त गठबन्धनको तर्फबाट मात्र मनोनयनदर्ता भएकाले सबैको जित निश्चि भएको छ । महिला सदस्यमा प्रेस चौतारीका सुजाता सुनुवार, दलित सदस्यमा प्रेस युनियनका तीलबिक्रम दर्जी, जनजाति सदस्यमा प्रेस मञ्चका काकीराम लावती र समावेशी सदस्यमा प्रेस चौतारीका भगीरथ भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

खुल्ला सदस्यहरुमा प्रेस चौतारीका रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याल, प्रेस युनियनका गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतले दर्ता गराएका छन् ।

पाँच जना केन्द्रीय परिषदमा तीन जना प्रेस चौतारी र दुई जना प्रेस युनियनका तर्फबाट मनोनयन दर्ता भएको छ । १२ जना प्रदेश परिषद सदस्यमा भने १५ जनाले मनोनयन दर्ता गराएका छन् ।

उम्मेद्वार उपर सोमबार दिउँसो साढे १२ बजेसम्म दावीविरोध गर्ने समय रहेको र २ बजेसम्म मनोनयन फिर्ता रहने निर्वाचन समितिका संयोजक केवशकुमार द्यौरालीले जानकारी दिए ।

आउँदो बुधबार नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन एकसाथ निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि इलाममा तीनवटा संगठनले गठबन्धन गरी साझा उम्मेद्वारी तया गरेका थिए ।

नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालसँग नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन एक्लै चुनावी मैदानमा छ । तर संगठनले अध्यक्ष महिला उपाध्यक्ष र खुल्ला सहसचिवमा मात्र मनोनयन दर्ता गराएको छ ।

सम्बन्धित खवर