राष्ट्रिय जनगणना साउन १५ देखि शुरु गर्नेगरि मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्ने तयारी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणना साउन १५ देखि शुरु गर्नेगरि मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं । कोरोना महामारीका कारण हरेक १० बर्षमा गरिदै आएको राष्ट्रिय जनगणना यस वर्ष प्रभावित भएको छ ।

विगतमा झै जेठबाट सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणना कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो ।

हरेक १० बर्षमा एकपटक मिति तोकेर गरिने जनगणना तोकिएको समयमा नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

नेपालमा मात्र नभएर विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना स्थगित भएको समाचार बाहिर आएको विभागले जनाएको छ ।

यस कोरोना महामारीका विचपनि यो आर्थिक बर्षमा सम्पन्न गर्न नसकिएको अवस्थामा आर्थिक बर्ष ०७८/०७९ को बजेट व्यवस्थापन गरेर साउनदेखि असोजसम्ममा जनगणना सम्पन्न गर्ने तयारी गरेको तथ्याकं विभागले जनाएको छ ।

यस अघि तालिम दिएका सुपरीवेक्षकहरुलाई पनि रिफ्रेसमेन्ट तालिम दिनुपर्ने भएको हुँदा थप समय लाग्ने विभागले भनेको छ । विभागले १५ साउनदेखि १५ असोजसम्म जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषमा लैजाने समेत तयारी रहेको जनाएको छ ।

सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर ८ हजार सुपरीवेक्षक र ३९ हजार गणक समेत छनोट गरिसकेको विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।

नेपालमा वि.सं. १९६८ सालदेखि हरेक १०–१० वर्षमा हुँदै आएको जनगणनाको यो १२ औं पटकको जनगणना कार्यक्रम हो ।

सम्बन्धित खवर