मेलम्चीको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेलम्चीको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला


इलाम । सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्र मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी हराइरहेकामध्ये ८ जनाको शव फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङका अनुसार, ८ जनाको शव मेलम्ची आसपास भेटिएको छ ।

बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । नदी तटीय क्षेत्रमा भएका रिसोर्टहरू र दर्जनभन्दा बढी माछा फर्म बगाएको बताइएको छ ।

नाकोटे पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको छ । आज बिहानैदेखि घटनास्थलहरुमा प्रहरी टोली, सशस्त्र प्रहरीको टोली उद्दार कार्यमा जुटेका छन् । कतिपय स्थानमा हेलिकोप्टरबाट समेत उद्दार कार्य जारी रहेको छ ।

चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ । त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की तथा झोलङ्गे पुलसमेत बगाएको छ ।

वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयहरू सम्पर्कबाट पनि बन्चित भएका छन् । अहिले उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली अवलोकनमा जाँदै गरेको खबर प्राप्त भएको छ । स्थलगत अवलोकनपछि मात्र विस्तृत विवरण आउने बताइएको छ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ। मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो ।

इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्चीको तल्लो बजार क्षेत्र पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन् । मेलम्ची नवलपुर जोड्ने पक्की पुल समेत इन्द्रावती नदीले बगाएको स्थानीयबासीले बताएका छन् ।

 

सम्बन्धित खवर