- ज्ञानु केदेम लिम्बू
माङसेबुङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग बच्न व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको विज्ञको सुझाव छ ।
राजधानीस्थित टेकु अस्पतालका प्रमुख डा. सागर राज भण्डारीका अनुसार कोरोनाबाट बच्नका लागि तीनवटा कुरामा मुख्य ध्यान दिनुपर्छ । सामाजिक दूरी बनाइराख्ने, अनावश्यक भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात साबुन पानीले राम्रोसँग धुने गर्नुपर्छ । हात नधोइ नाक, मुख, कानमा नछुने जस्ता विषयमा ध्यान दिनुपर्छ ।
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) सँग बच्न विश्वका विभिन्न मुलुकहरुले विविध किसिमको विधिहरु अपनाउँदै आएका छन् । सामाजिक भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क र सेनिट्राइजर अनिवार्य प्रयोग गर्ने विधिहरु अपनाउनु पर्ने स्वास्थ्य विज्ञको सुझाव रहेको छ । त्यसैगरी श्वास फेर्न गाह्रो हुँदा, उच्च ज्वरो आउँदा र निरन्तर सुख्खा खोकी लाग्दा तत्काल अस्पताल वा नजिकैको स्वास्थ्य चौकीमा गएर स्वास्थ्य परिक्षण गर्न पनि सुझाइएको छ ।
यसरी विश्वव्यापी फैलिरहेको कोरोना भाइरसबाट बिहिबारको तथ्याङक अनुसार विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या १७ करोड ९९ लाख ६० हजार ३४३ जना र कूल मृत्यू ३८ लाख ९९ हजार ०१८ जना छन् भने, १६ करोड ४७ लाख २७ हजार २५३ जना निको भएका छन् ।
नेपालमा बिहिबारसम्मको तथ्याङक अनुसार कूल परिक्षण गरिएको ३२ लाख ८८ हजार ०५३ जना मध्ये कोरोनाबाट संक्रमित कूल संख्या ६ लाख २६ हजार ३४३, मृत्यू हुने ८ हजार ८१३ जना र ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् । यसरी नेपालको सात वटै प्रदेशमा कोरोनाको संक्रमण फैलिरहेकोले यसबाट बच्न स्वास्थ्य मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक रहेको डा.भण्डारीको भनाई छ ।
कोरोना भाइरसका कारण प्रभावित आम नागरिकहरुलाई स्वास्थ्य उपचारमा प्रदेश र स्थानीय तहहरुका स्वास्थ्यकर्मी र अस्पतालका स्वास्थ्यकर्मीहरुले आवश्यक स्वास्थ्य सामग्री र जनशक्तिको अभावमा भएपनि सक्रियताका साथ सेवा दिएका छन् । यसरी स्वास्थ्यकर्मीको पहल र निषेधाज्ञाले पछिल्लो समयमा कोरोना संक्रमितको संख्या घट्दो रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् । संक्रिय संक्रमितको संख्या केही घटेको तथ्याङक आएपनि पूर्ण नियन्त्रण हुन केही महिना लाग्ने भएकोले पहिलेको जस्तो वेवास्ता गरेर भीडभाड गर्न नहुने स्वास्थ्यकर्मीको भनाई छ । विज्ञका अनुसार कोरोनाबाट बच्न सुरक्षित भई केही दैनिक क्रियाकलापहरु परिवर्तन गरेर सचेतना अपनाउनु पर्ने छ ।
स्वास्थ्यकर्मीका अनुसार कसैलाई कोरोना संक्रमण भएमा नियमित पानी तताएर वाफ लिने । गेडागुडिको झोल खाने । थर्मामिटरबाट दिनमा ४ पटक ज्वरो नाप्ने । अक्सिमिटरबाट शरिरमा अक्सिजनको मात्रा पनि नियमित मापन गर्ने । निमोनियाबाट बच्न सबै उपाय अपनाउने र श्वास प्रश्वासलाई ध्यानमा राखेर विहान र बेलुकी योग अभ्यास, ध्यान तपस्या पनि गर्न सकिने छ ।
प्रदेश १ मा कोरोना संक्रमण अवस्था
कोरोना भाइरस संक्रमितको संख्या प्रदेश १ (१४ जिल्ला) को अवस्था कुनै जिल्लामा बढ्दो छ भने कुनै जिल्लाको तथ्याङ्क घट्नेक्रममा छ । प्रदेश १ को बिहिबारको तथ्याङ्क अनुसार इलाममा कूल संक्रमित ९४६ मध्ये ५ जनाको मृत्यू र २८ जना निको भएका छन् । मोरङमा संक्रमित २७८२७ मध्ये ६६ जनाको मृत्यू र २१८ जना निको भएका छन् भने, सुनसरीमा संक्रमित १६५१८ मध्ये ७६ जनाको मृत्यू र ११८ जना निको भएका छन् ।
झापामा संक्रमित १३९६७ मध्ये ४० जनाको मृत्यू र ३२२ जना निको भएका छन् । त्यसैगरी उदयपुरमा संक्रमित १४०४ मध्ये १० जनाको मृत्यू र ८२ जना निको भएका छन् । धनकुटामा संक्रमित १२४७ मध्ये ९ जनाको मृत्यू र १५ जना निको भएका छन् । यसरी नै ओखलढुङगामा संक्रमित १२२५ मध्ये ६ जनाको मृत्यू र १९ जना निको भएको तथ्याङक सार्वजनिक भएको छ ।
संखुवासभामा कूल संक्रमित ११५५ जना मध्ये २ जनाको मृत्यू र ६ जना निको भएका छन् छन् । भने, खोटाङमा संक्रमित ८८३ मध्ये १ जनाको मृत्यू र १५ जना निको भएका छन् । त्यसैगरी पाँचथरमा संक्रमित ५९१ मध्ये २ जनाको मृत्यू र ७ जना निको भएका छन् । तेह्रथुममा संक्रमित ४९८ मध्ये ५ जनाको मृत्यू र ८ जना निको भएको तथ्याङकमा जनाइएको छ । सोलुखुम्बुमा संक्रमित ४६५ मध्ये ५ जनाको मृत्यू र ७ जना निको भएका छन् । यसैगरी भोजपुरमा संक्रमित ४१२ मध्ये ३ जनाको मृत्यू र ६ जना निको भएका छन् भने, ताप्लेजुङमा कूल संक्रमित ७२६ जना मध्ये ७ जना निको भएको र हालसम्म कोरोनाका कारण कुनै मानवीय क्षति नभएको तथ्याङकले जनाएको छ ।
माङसेबुङमा कोरोना संक्रमण घट्दै
इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ३ र ५ मा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको संख्याभन्दा निको हुने बिरामीको संख्या बढ्दोरूपमा रहेको छ ।
बिहीबार माङसेबुङ गाउँपालिको वडा नंं. ५ स्थित लारुम्बा सामुदायिक स्वास्थ्य इकाईले उपलब्ध गराएको विवरणअनुसार सो क्षेत्रमा कोरोना संक्रमित २८ जना रहेका छन् ।
आइसोलेशनमा ३ जना र बाँकी होमआइसोलेशनमा रहेको स्वास्थ्य इकाईका अहेब निलिमा साँबाले बताएकी छन् । सो क्षेत्रमा हालसम्म पोजेटिभको संख्या १२९ जना रहेकामा निको हुनेको संख्या १०१ जना रहेको उनले बताईन ।