- ज्ञानु केदेम लिम्बू
माङसेबुङ । कोरोना भाइरसको उपचार संक्रमित व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ ।
एउटै उपचार विधिमा सीमित हुनुभन्दा विभिन्न चिकित्सा प्रणालीबाट कोरोनाको उपचार गरे चाँडै निको हुने गरेको फाल्गुनन्द आयुर्वेद फार्मेसीका प्रबन्धक भगिहाङ नेम्बाङले बताए । उनले भने, ‘आयुर्वेदिक उपचार मात्र भनेर पनि बस्नु हँुदैन, न एलोपेथिक मात्र । दुवैलाई सँगै लैजान सके बिरामी चाँडै निको हुने देखिएको छ ।’
कोरोना संक्रमित बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत त्रिकटु, ग्यास्ट्रिक मधु, गुरुजी, अभिपति चूर्ण, सितोपलादी, गिलोया सत्व, सगन्दा चूर्ण, लक्ष्मी विलास रस, गासौरी लगायतका मिश्रित औषधि तथा लक्षणअनुसार आयुर्वेदिक फर्मुला दिइएको प्रबन्धक नेम्बाङको भनाई छ ।
आयुर्वेदिक चिकित्सकले पनि आयुर्वेद मात्र राम्रो वा एलोपेथिक चिकित्सकले पनि आधुनिक चिकित्सा मात्र राम्रो भन्ने भनाइ छोड्नुपर्ने उनको भनाई छ । फाल्गुनन्द आयुर्वेद फार्मेसीका प्रबन्धक भगिहाङ नेम्बाङका अनुसार समय मिलाएर भाइरस संक्रमित विरामीले आयुर्वेदिक र एलोपेथिक दुवै औषधि प्रयोग गर्न सकिन्छ । नेम्बाङले थपे, ‘कोरोनाको उपचारमा देशव्यापी आयुर्वेदिक औषधिले काम गरिरहेको छ ।’
यसैगरी कोरोना सङ्क्रमितलाई दिइने औषधिमा असुरो, तालिसपत्र, पर्पटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटी अधिक मात्रामा हुन्छन् । यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्ध नाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तत्व रहेको कुरा वैज्ञानिक अनुसन्धानमै देखिएको उनले बताए ।
कोरोना संक्रमित भएका र संक्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न सकिने उनको भनाई छ । आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रूपमा जनाइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न विहान वेलुका पूर्वतिर फर्केर युमा माङको सेवा गर्न सम्पूर्ण मानव समुदायलाई किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले आग्रह गर्नु भएको छ ।
कोरोना भाइरस महामारीबाट बच्न विश्व स्वास्थ्य संगठनबाट जारी नियमलाई पालना गर्दै साँझ विहान माङसेवा गर्नुको विकल्प नरहेको समेत वहाँले बताउनु भएको छ । महामारीको समयमा सरसफाई र खानपानमा विशेष ध्यान दिई योग, साधन, जपतप गरी अध्यात्मिक तवरले मनोवल उच्च बनाउन अङसीमाङ आत्मानन्द सेइङले सम्पूर्ण मानव समुदायलाई अनुरोध गर्नु भएको छ ।
कोरोनाबाट बच्नका लागि सामाजिक दूरी बनाइराख्ने, अनावश्यक भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात साबुन पानीले राम्रोसँग धुने र हात नधोइ नाक, मुख, कानमा नछुने जस्ता विषयमा ध्यान दिनुपर्ने स्वास्थ्य विज्ञको सुझाव रहेको छ । उनीहरुका अनुसार सामाजिक भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क र सेनिट्राइजर अनिवार्य प्रयोग गर्ने विधिहरु अपनाउने र कुनै अवस्थामा संक्रमण देखिएमा उच्च मनोवलका साथ नियमित स्वास्थ्य उपचारमा लाग्नु पर्ने छ ।
त्यसैगरी कोरोना संक्रमितहरुलाई दैवव्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, सङ्कटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, संगीत चिकित्सामा राग, भजन, वाद्यवादन गराउँदै आएको पनि जनाइएको छ ।
आयुर्वेद चिकित्सालय नरदेवीमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सहितको आइसोलेसन सेन्टरमा रहेका संक्रमितको उपचारमा आयुर्वेद, एलोपेथी, योग, प्राणायाम, कपिङ थेरापी, फिजियोथेरापी प्रयोग गरिएको छ ।
मध्यम र जटिल अवस्थाका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यकताअनुसार स्टेरोइड, रेम्डेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गराउन सकिने आयुर्वेदिक स्वास्थ्यकर्मीको भनाई छ । शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुक्खा खोकी लागेका बिरामीलाई कपिङ थेरापी उपयोगी देखिएको आयुर्वेद चिकित्सालय नरदेवीले जनाएको छ ।
कोरोना केही हैन भन्ने र मानिसलाई कोरोना लाग्ने वित्तिकै मरिन्छ भन्ने दुवै मानसिकताबाट मुक्त भई मनोवल उच्च राखेर उपचारमा लाग्नु पर्ने कोरोना जितेर घर फर्केका सुरेन्द्र लिम्बूले बताए । उपचारमा रहँदा औषधि प्रयोगसँगै मनोवल उच्च बनाएर नियमित पानी तताएर वाफ लिएको उनले अनुभव सुनाए ।
लिम्बूले भने, ‘मलाई चाहीँ सुरुमा ज्वरो आयो, सामान्य खोकी लाग्यो । २ दिन पछि शरिर दुख्न थाल्यो । आँखा र टाउको अत्यधिक दुखेको थियो ।’ उनले थपे, ‘कोरोना संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको परामर्शमा नियमित ओषधि सेवन गरे । नियमित रुपमा आफ्नो स्वास्थका विषयमा स्वास्थ्यकर्मीसँग परामर्स लिए ।’
रुघा, खोकीसँगै ज्वरो बढेपछि उनलाई कोरोनाको आशङ्का लागेको र कोरोना जाँच गर्दा रिर्पोट पोजेटिभ आएको अनुभव उनले सुनाए । त्यसैगरी कोरोनालाई भर्खरै पराजित गरेकी अर्की मनकुमारी लिम्बूको अनुभव बेगल छ । लिम्बूकी अनुसार कोरोना भाईरस संक्रमितको लक्षणसमेत फरक फरक हुने गरेको छ । कसैलाई ज्वरो र सुख्खा खोकी लाग्ने, खान मन नलाग्ने हुने गरेको छ त कसैलाई शरिर दुख्ने, थकान महसुुस हुने गरेको कोरोना जितेका व्यक्तिहरुको अनुभव छ । कसैलाई सुरुमा पखाला लाग्ने, ज्वरो आउने र खान अरुची हुने गरेको अनुभव सुनाएका छन् ।
संक्रमण बढ्ने सम्भावना
नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन् । अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ । तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन् ।
जनस्वास्थ्यविद्हरुले बन्दाबन्दी सबै खुल्ला गरेमा पुनः संक्रमण बढ्न सक्ने सम्भावना औंल्याएका छन् । अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र बन्दाबन्दीपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गर्ने र सहरको मानिस गाउँमा पुग्ने भएकोले संक्रमण बढ्न सक्ने स्वास्थ्यविद्को विश्लेषण छ ।
पछिल्लो समयमा संक्रमण दर घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ ।
दोस्रो लहरको कोरोना भेरियन्ट गत वर्षको भन्दा कडा र छिटो सर्ने भएकाले यसपटक सबैतिर ह्वात्तै निषेधाज्ञा खोल्न नमिल्ने उनले बताए । संक्रमण नियन्त्रणमा आउन अझै ४ देखि ६ हप्ता लाग्न सक्ने प्रवक्ता पौडेलको भनाइ छ । अहिले नेपालमा संक्रमणदर २० प्रतिशत हाराहारी छ । पाँच प्रतिशतभन्दा कम संक्रमणदर भएमात्र नियन्त्रण भएको मानिन्ने उनको भनाई छ ।