फोनिज झापाद्वारा पुरस्कृत ६ जना पत्रकारको नाम सार्वजनिक - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज झापाद्वारा पुरस्कृत ६ जना पत्रकारको नाम सार्वजनिक

दमक । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले हरेक वर्ष प्रदान गर्दै आएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुने ६ जना पत्रकारको नाम सार्वजनिक गरेको छ ।

फोनिज झापा जिल्ला अध्यक्ष विशाल नेम्बाङले फोनिजको २२औं स्थापना दिवस कार्यक्रम मार्फत फोनिज संघीय सचिव कमन देवान सहित पुरस्कृत हुने ६ जना पत्रकारको नाम सार्वजनिक गरेका हुन् ।

फोनिज झापाले डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट प्रतिदिन दैनिक पत्रिकाका प्रधानसम्पादक इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । त्यस्तै डिकमान विरही सुनवार उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८ बाट फोनिज संघीय सचिव कमन देवानलाई पुरस्कृत गर्ने निर्णय भएको फोनिज झापाले गरेको छ । देवान हरप्रहर न्यूज डटकमका सम्पादक समेत हुन् ।

यसैगरी फोनिज झापाले पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने सोही उदयीमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौट गरिएको घोषणा गरेको छ ।

फोनिज झापाको आगामी अधिवेशनबाट सो पुरस्कार वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिएका हुन् । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही सुनुवार उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार दुई जना नयाँ पत्रकारहरुलाई वितरण गर्दै आएको छ ।

 

 

सम्बन्धित खवर