राष्ट्रपतिले काबुलमा लडाकू प्रवेश गर्न थालेपछि बोलाए आपतकालीन बैठक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपतिले काबुलमा लडाकू प्रवेश गर्न थालेपछि बोलाए आपतकालीन बैठक

एजेन्सी । राजधानी काबुल शहरमा विद्रोही तालीबानी लडाकूहरु प्रवेश गर्न थालेपछि अफगानिस्तानको राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् ।

राष्ट्रपति घानीले अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने बताएका थिए ।

आइतबार बिहानैदेखि तालीबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालीवानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् ।

प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादविनै तालिवानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिवानीहरु काबुलतर्फ अघि बढेका हुन् ।

शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् ।

यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ ।

सम्बन्धित खवर