ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति

काठमाडौं । पार्टी विभाजनमा माधव कुमार नेपालालई साथ नदिएका एमाले एकता पक्षधर नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ ।

सोमबार ओली निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको हो ।

यसैगरि १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

सचिव भट्टराईले सबै पूर्ववत जिम्मेवारीमा रहनेसमेत बताए । उनले कोही पनि विभाजनमा जान नहुने भन्दै कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता स्थायी कमिटिले गर्ने दाबी गरे ।

सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । भोली बस्ने स्थायी कमिटीमा उक्त प्रस्ताव पेश हुनेछ । पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्ने बालकोटमा भएको छलफलमा सहभागी एक नेताको भनाई छ ।

माधवकुमार नेपाल समूको नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न नेतृत्वलाई अल्टिमेटम दिएका थिए । अन्टिमेटमको अन्तिम दिन सोमबार एकता पक्षधर नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।

भोलिको बैठकमा सबै नेताहरु सहभागी हुने र पार्टीमा एकतामा देखा परेको समस्या समाधान हुने प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ । भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने उनको भनाई छ ।

सम्बन्धित खवर