संगीत जीवनको अभिन्न हिस्सा हो : सन्जीत्रा याक्थुङ - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत जीवनको अभिन्न हिस्सा हो : सन्जीत्रा याक्थुङ

संगीतले मानिसको मन मस्तिष्क मात्रै होइन, उसको जीवन दर्शन समेत आकार दिन सक्छ । सायद संगीतको यिनै शक्तिमा समाहित भएर याक्थुङ मौलिक संगीतको संरक्षण, प्रवद्र्धन र सिर्जनामा आफूलाई समर्पित गर्दै आएकी सिक्किम भारतकी प्रतिभाशाली गायिका हुन् सञ्जीत्रा याक्थुङ ।

हालै सम्पन्न ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ–३’ मा पहिलोपटक सहभागिता जनाउँदै सेकेन्ड रनरअप बन्न सफल गायिका सञ्जीत्रा गर्वका साथ भन्छिन्, ‘पहिलो सहभागितामै यस्तो उपलब्धि पाउँदा एकदमै प्राउड फिल गरेकी छु ।’ भारतको लोवर लिङचोम, गेजिङ सिक्किममा सन् १९९० नभेम्बर २७ मा जन्मेकी सञ्जीत्राले करिब एकाइस–बाइस वर्षको उमेरमा संगीत–यात्रा सुरु गरेकी हुन् । उनको कलेज जीवनका कार्यक्रमहरू नै पहिलो मञ्च सावित भए । ‘कलेज–प्रोग्राममा लिम्बू विभागका छुट्टै प्रस्तुतिहरू हुन्थे । त्यहीँबाट लिम्बू गीत गाउन थालेँ ।’ उनी सम्झिन्छिन् ।

सन् २०१३ मा पहिलोपटक आर.एल. मेरिङसँग ‘नाली थाङबेन’ शीर्षकको लिम्बू डोएट गीत रेकर्ड गरेर औपचारिक रुपमा संगीत–यात्रा शुभारम्भ गरेकी सञ्जीत्रा संगीतमा प्राद्यपक डा. बुद्धी लेक्वाहाङ खाम्दाकलाई प्रेरणाको स्रोत मान्छिन् । कलेज पढ्दा उहाँले नै गीत लेख्न, कविता लेख्न, र गीतमा संगीत कसरी भर्ने भन्नेबारे महत्वपूर्ण मार्गदर्शन दिनुभएको उनी बताउँछिन् । यद्यपि उनले औपचारिक संगीत कक्षा कहिल्यै लिइनन्, याक्थुङ फक्ताङलुङ आइडलको क्लोज क्याम्पमा सहभागी हुँदा एक महिनाको मुन्धुमी प्रशिक्षणले उनलाई मौलिक साम्लो, ताल, स्वर र शैलीबारे गहिरो बुझाइ दिएको बताउँछिन् ।

‘संगीत जीवनको अभिन्न हिस्सा हो’ सञ्जीत्रा याक्थुङ भन्छिन्, ‘सुख–दुःखका हरेक परिस्थितिमा संगीतले साथ दिन्छ, ऊर्जा दिन्छ र मार्गदर्शन गर्छ ।’ उनी थप्छिन्, ‘संगीतले मलाई पहिचान दिएको छ, आत्मविश्वास दिएको छ र जीवनलाई अर्थ दिएको छ ।’ परिवारले सुरुदेखि नै संगीतमा प्रोत्साहन दिएको बताउँने सञ्जीत्रा भविश्यमा मुन्धुमी साम्लोहरुमा हाक्पारे, पालाम, ख्याली, ताम्अके साम्लो, हिन्जा साम्लो, केसामलाई आधुनिक परिवेशसँग जोड्दै अगाडि बढाउने लक्ष्य रहेको बताउँछिन् । तीनवटा गीति एल्बममा आवाज दिइसकेकी अल इन्डिया रेडियो, गेन्टोकमा कार्यरत सञ्जीत्रा सन् २०१४ मा पहिलो अडिसन दिएर उतिर्ण भएकी थिइन् ।

हरेक ६–६ महिनामा पाँचवटा आफ्नै गीत लेखेर कम्पोज गरेर पेस गर्नु पर्ने भएकोले धेरै गीत लेखिसकेकी बताउने सञ्जीत्रा यहीँबाट गीत लेखन र संगीत–रचनामा अझ निपूर्ण बनाएको बताउँछिन् । पुनः दस वर्षपछि आएको दोस्रो अडिसनमा पनि उत्तीर्ण भई अहिले बी–हाई ग्रेडमा पुगेकी उनीमा फक्ताङलुङ आइडलले साहस, आत्मविश्वास र प्रस्तुतिकरणमा ठूलो परिवर्तन ल्याएको सुनाउँछिन् । ‘पहिले स्टेजमा उभिन साथ डर लाग्थ्यो । तर अहिले त्यो भय मबाट पुरै हटिसकेको छ । आइडलले मलाई निखारिदियो ।’ उनी गर्वका साथ बताउँछिन् ।

सिक्किममा आयोजित रियालिटी शो ‘माङ साम्लो प्रतियोगिता’ मा विजेता बनेकी सञ्जीत्रा संगीतमा मात्र नभएर साहित्यमा समेत सक्रिय छन् । सन् २०१३ मा कविता सङग्रह प्रकाशन गरिसकेकी हाल उनी आर.डी.डी विभाग सिक्किममा कार्यरत छिन् । याक्थुङ मौलिक संगीतप्रति समर्पित सुमधुर आवाजका धनी गायिका सञ्जीत्रा याक्थुङको यात्रा अझ उज्यालो, समृद्ध र सांस्कृतिक रुपमा सशक्त बन्दै जाओस् लुङमेन्दीङ नोनिङ्वा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर