बुधबारबाट १२ औं राष्ट्रिय जनगणनाको सूचीकरण सुरु - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबारबाट १२ औं राष्ट्रिय जनगणनाको सूचीकरण सुरु

माङसेबुङ । बुधबारबाट देशभर १२ औं राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ ।

सरकारले बुधबारबाट आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरणसुरु गरेको हो ।

दुई चरणमा हुने जनगणनाको पहिलो चरणको काम सुरु भएको हो । पहिलो चरणको कार्यक्रम १८ असोजसम्म संचालन हुनेछ । २० दिनको अवधिमा सुपरिवेक्षकहरुले घर तथा घरपरिवारको सूचीकरण गर्नेछ ।

त्यसका लागि आजबाट सुपरिवेक्षक नियुक्त भई कार्यस्थलमा खटाएको जनाइएको छ । सुपरिवेक्षले घर तथा घपरिवारको सूचिकरणका लागि २५ वटा प्रश्नावलीको आधारमा सूचना संकलन गर्नेछ ।

त्यस्तै दोश्रो चरणको कार्यक्रम २५ कात्तिकदेखि ९ मंसिरसम्म संचालन हुनेछ । १५ दिनको सो अवधिमा सुपरिवेक्षकले गरेको सूचिकरणका आधारमा गणकले मुल गणनाको काम गर्नेछ । गणकले विभिन्न ८० वटा प्रश्नावलीका आधारमा सूचना संकलन गर्नेछ ।

यसपटकको जनगणनाले तल्लो (वडा) तहसम्मको बेग्लाबेग्लै तथ्याङ्क दिने गरी व्यवस्थापन गरिएको छ । विगतका जनगणनामा जानसाङ्ख्यिक तथ्याङ्क मात्र लिने गरिएकोमा यसपटक आर्थिक र सामाजिक तथ्याङ्क समेत आउने गरी प्रश्नावली तयार गरिएको छ ।

त्यस्तै नेपालमा पहिलोपटक अन्य लिङ्कीय समुदायको समेत गणना गरिदैंछ । हालसम्म नेपालमा अन्य लिङ्गीय समुदायको आधिकारिकि तथ्याङ्क नभएको अवस्थामा यस पटकको जनगणनाबाट अन्य लिङ्गीय समुदायको पनि तथ्याङ्क आउने भएको छ ।

प्रश्नावलीमा नै लिङ्गको महलमा महिला, पुरुष र अन्य लिङ्ग उल्लेख गरिएकाले अन्य लिङ्गीय समुदायको आधिकारिक तथ्याङ्क आउनेछ । अन्य लिङ्गीय अन्तरगत महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्विलिङ्गी, तेश्रो लिङ्गी र अन्तरलिङ्गी समेटिनेछन् ।

यसअघि गत जेठ २५ गतेदेखि जनगणना हुने कार्यक्रम रहेकोमा कोरोना भाइरस महामारीका कारण जनगणना स्थगित गरिएको थियो । १२ औं जनगणनाका लागि २१ भदौमा मन्त्रिपरिषदको बैठकले आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको थियो ।

देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क संकलन गर्न जनगणना गर्ने गरिन्छ । नेपाललमा वि।स। १९६८ देखि जनगणना सुरु गरिएको थियो ।

सम्बन्धित खवर