काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज शनिबार एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेल्दै छ ।
समूह एफ मा रहेको नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।
महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।
नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताउछिन् । बलियो टिमलाई हराउन सक्ने टिममा आत्मविश्वास रहेको रेनुकाको भनाइ छ ।
कप्तान रेनुकाले टिमले राम्रो खेल खेलेका एसियन कपमा छनोट हुने मौका रहेको समेत बताईन् ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त बिहीबार हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ ।