नाल्बो बंशावली पुस्तक विमोचन - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नाल्बो बंशावली पुस्तक विमोचन

उर्लाबारी । नाल्बो बंशावली पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मोरङको उर्लाबारीमा अवस्थित दुर्गापुरी फनपार्क एण्ड रिसोर्ट स्थित लिङथेप कल्याणकारी समिति अध्यक्ष र इतिहास तथा बंशावली उपसमिति संयोजक उतमकुमार लिङ्थेपको प्रमुख आतिथ्यतामा उक्त पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।

नाल्बो सेवा समाजका अध्यक्ष मोहनकुमार नाल्बोले पानसमा दीप प्रज्वलन गरेर उद्धघाटन गरेको कार्यक्रममा नाल्बो बंशावली पुस्तक प्रमुख अतिथि लिङ्थेपले विमोचन गरेका थिए ।

सो बंशावली पापोहाङ सेर्मा बंशावली लेखक, सम्पादक तथा सेर्मा सङ्जुम्भो केन्द्रीय महासचिव एवम् समालोचक लछामी सेर्मा पापोले टिप्पणी तथा समिक्षा गरेका थिए ।

इत्नुसो नाल्बोहाङ हाङ्सानुका सन्तान वा नाल्बो भए देखि यता मात्रै ३६औं पुस्ताको दौडानमा रहेको सो वंशावली पुस्तकमा उल्लेख गरिएको छ ।

सेसेमी से.नाल्बोको सम्पादनमा सम्पादित बंशावलीमा इतिहास, बंशावली, उत्पति माङ्गेन्ना यकको ऐतिहासिक विषयहरु समेटिएको ५७१ पृष्ठ र मूल्य ३ हजार रुपैयाँ रहेको छ । पुस्तक जम्मा ६०० प्रति मात्रै छपाई भएको नाल्बो बंशावली पुस्तक, नाल्बो सेवा समाज केन्द्रीय समितिले प्रकाशन गरेका थिए ।

कार्यक्रममा हाङगाम बंश उत्थान प्रतिष्ठान केन्द्रीय अध्यक्ष अशोक हाङगाम, नाल्बो सेवा समाज केन्द्रीय अध्यक्ष मोहनकुमार नाल्बो, नाल्बो बंशावली लेखन समिति सदस्य इक्सा सङबाङ्फे (नाल्बो) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विमोचन कार्यक्रममा वंशावली प्रकाशन गर्ने प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा साङ्वा वंश उत्थान संघ केन्द्रीय अध्यक्ष दिल पाक्साङ्वा, मुसाहाङ समाज केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, सेरेङ चोङबाङ, केदेम, लङवा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नाल्बो बंशावली लेखन समिति अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष बलनाथ नाल्बोले स्वागत मन्तव्य राखेका थिए भने संचालन सचिव कमल कुमार नाल्बोले गरेका थिए ।

विमोचनमा कार्यक्रममा ३ सय जना नाल्बो दाजुभाईहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर