अङसीमाङ आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव भव्य मनाइदैं - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ आत्मानन्द सेइङ ६८ औं शुभजन्मोत्सव भव्य मनाइदैं

माङसेबुङ । सत्य, शान्ति र अहिंसाका संवाहक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवलाई भव्यताका साथ मनाउने तयारी भइरहेको छ ।

अङसीमाङको जन्मोत्सव कार्यक्रमलाई व्यापक रुपमा सम्पन्न पार्न विगतका वर्ष झै यस वर्ष पनि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम सह अध्यक्ष रहने गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह मूल आयोजक समिति गठन गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवालाई सावायेहाङ किरातहरुको नुमाङगेन्ना सेवा साथै मुबेक्वा (उधौंली) सेवाको रुपमा मान्दै आइरहेको मूल आयोजक समितिका अध्यक्ष तथा माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना समितिका अध्यक्ष योङहाङका अनुसार यसरी हरेक वर्ष मंसिर १८ र १९ गते किरातीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले किरात धर्मावलम्बीहरुले अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको जन्मोत्सव मनाउँदै आएका छन् ।

माङसेबुङमा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको विश्वको विभिन्न मुलुकहरुमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव भव्यताका साथ मनाउने तयारी भइरहेको समारोह अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्यूजलाई बताएका छन् ।

नाम्धुङ लाधुङ सेमी सेवा

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवको अवसरमा विगतका वर्ष झै विश्व शान्ति मानव एकताको निमित्त येत नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको छ ।

समारोहको माङसेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको संयोजनमा मंसिर १६ साक्मुरा वादेम्मा गरिने र मंसिर १७ किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिने किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनले बताए ।

माङसेवा सञ्चालन विभाग किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावादेनका अनुसार माङगेन्ना मुन्धुम वाचन गर्ने ६८ जना माङसेवासाबा÷माङसेवासामाहरुको तयारी, साक्मुरा वादेम्मा र येत नाम्धुङ लाधुङसेमी सेवाका लागि माङसेवासाबाहरुको व्यवस्थापन गर्ने र समारोहमा माङसेवा सञ्चालन सम्बन्धि सम्पूर्ण तयारीमा पान्जुम्भो जुटका छन् ।

जन्मोत्सवको तयारी के भइरहेको छ ?

जन्मोत्सव कार्यक्रममा प्रमुख अतिथिको हस्तबाहुलीबाट महाबत्तिमा दीप प्रज्वलन गरी समुद्घाटन हुने, नुमाङगेन्नामा ६८ जना माङसेवासेवाहरुबाट माङगेन्ना मुन्धुम वाचन, विश्व शान्ति मानव एकताको निमित्त १ लाख १ हजार १ सय आठ दीप प्रज्वलन गर्ने र माङगेन्ना चामल वितरण गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सव कार्यक्रममा विशेष गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको मुखारविन्दुबाट अमृतमय माङ आशीर्वचन श्रवण गर्न संसारभरका किरात धर्मावलम्बीहरुको आगमन माङसेबुङमा हुने गरेको समारोहका अध्यक्ष तथा माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्यूजलाई बताए ।

यसरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न समारोहको खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङका अनुसार आत्मानन्द कप १४ औं संस्करण आगामी मंसिर ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुँदै छ ।

त्यसैगरी जन्मोत्सवको अवसरमा नियमित कार्यक्रम नाँचगानसँगै सांस्कृतिक झाँकी प्रर्दशन तथा माङसेबुङ इक्ला मातृभाषामा गायन प्रतियोगिताको आयोजना गरिएको समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।

समारोहको स्वंयमसेवक विभाग संयोजक किरात साम्यो नालीफूङवा पान्जुम्भो र सरसफाई विभाग संयोजक किरात साम्यो थामेन्दीङमा पान्जुम्भोले पनि आ आफ्नो विभागीय जिम्मेवारी बहन गर्नका लागि तयारी गरिरहेको जनाइएको छ ।

शुभ जन्मोत्सव कार्यक्रमलाई भव्यताका साथ सम्पन्न पार्न आर्थिक विभाग, प्रचारप्रसार विभाग, सुरक्षा विभाग, मञ्च निर्माण विभाग, साउण्ड सिस्टम विभाग लगायत दर्जनौं विभागीय जिम्मेवारीले आ आफ्नो विभागमा सक्रियताका साथ जिम्मेवारी बहन गरिरहेको समारोहका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

सम्बन्धित खवर