मंसिर १७ देखि स्थानीय तहबाटै इलाममा मतदाता नामावली संकलन गरिदैं - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मंसिर १७ देखि स्थानीय तहबाटै इलाममा मतदाता नामावली संकलन गरिदैं


इलाम । निर्वाचन आयोगले आगामी निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलनको तयारी सुरु गरेको छ ।

आयोगले फोटोसहितको नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तरगत इलामसहित देशभर स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलनको तयारी गरेको हो ।

आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै इलाममा पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलनको तयारी गरिएको छ ।

आइतबार जिल्ला निर्वाचन कार्यालयले इलाम सदरमुकाममा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन अधिकृत देवीचरण फुएलले जानकारी दिए ।

पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म ५ वटा स्थानीय तहको केन्द्रमा फोट्टोसहितको मतदाता नामावली संकलन गरिनेछ । पहिलो चरण माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम गरिने हुनेछ ।

दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म ४ वटा स्थानीय तह रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रहेको इलाम नगरपालिकामा भने त्यहीबाट नियमित रुपमा फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ ।

मतदाता नामावली दर्ताका लागि १६ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित आफ्नो स्थानीय तहको केनद्रमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्नेछन् । जिल्ला कार्यक्रम व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले मतदाता नामावली संकलनलाई सफल बनाउन सरोकारवाहरुलाई आग्रह गरेका छन् ।

मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ ।

सम्बन्धित खवर