
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा कोरोणा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७ सय ४१ रहेको छ ।
यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले नागरिकको जीवन पहिलो प्राथमिकता हुने भन्दै जीवन रक्षाका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।
उहाँले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारीमा जोड दिनु भएको छ ।




 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



