राज्य हराएपनि धर्म हराउँदैन : आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राज्य हराएपनि धर्म हराउँदैन : आत्मानन्द सेइङ

  • ज्ञानु केदेम लिम्बू

माङसेबुङ । राज्य हराएपनि धर्म नहराउँने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

कुनै समयमा शक्तिशाली राज्यहरु आज सबै लोप भई नयाँ राज्यहरुको उदय भएको प्रंसग जोडनुहुँदै, राज्य परिवर्तनशील रहेपनि धर्म युगयुगान्तर रहिरहने अङसीमाङले बताउनु भयो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना साथै माङवाहाङवा वितरण समारोहमा आयोजित आशीर्वचन कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

चोत्लुङमा माङगेन्ना गर्नुको महत्व बेग्लै हुने बताउनु हुँदै, वर्षेनी माङगेन्ना गर्ने चलन सुरु भएको घोषणा गर्नुभएको थियो । आशीर्वचनको क्रममा अङसीमाङले भाग्य चिन्न नसक्ने व्यक्ति काम नलागिने समेत बताउनु भएको छ ।

महामारीले विश्वलाई आक्रान्त पारिरहेको अवस्थामा यसबाट वच्ने उपाय आफू सुरक्षित हुनु र माङसेवा गर्नु मात्र रहेको वहाँले बताउनु भयो । कोरोना भाइरस जहाँबाट उत्पति भएको हो, त्यतैतिर जाओस भनेर माङसेवा गर्न अङसीमाङले सबैलाई आग्रह गर्नुभएको छ ।

महागुरु फाल्गुनन्दको अपूरा काम पूरा गर्ने अभिभारा माङबाट आफूलाई आइपरेको प्रसंगमा बोल्नुहुँदै अङसीमाङले माङलाई प्राप्त गरेर माङसँगै जाने इत्छा माङबाट पूरा नभएको समेत प्रष्ट पार्नु भयो ।

महामारीको अन्त्यपछि विश्वयुद्धको संकेत रहेको वहाँले सुनाउनु भयो । ‘विश्वमा अशान्ति हुने संकेत छ’ अङसीमाङले आग्रह गर्नुभयो, ‘संसारलाई बचाउन विश्व शान्ति मानव एकताको लागि सबैले माङसेवा गरौं ।’

खानपीनले अनेकौं रोगहरु जन्माउने बताउनुहुँदै अङसीमाङले भन्नु भयो, ‘तपाईहरुको उपकारको लागि आफ्नो शरीरलाई पवित्र राख्नुहोस् ।’ शुद्ध शाकाहारीहरुनै नयाँ प्रविधिका आविष्कारक बनेको चर्चा गर्नुहुँदै अङसीमाङले थप्नुभयो, ‘शुद्ध शाकाहारीहरुले बनाएको यन्त्रहरुनै विश्वभरी प्रयोग गरिरहेका छौं ।’

माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह विश्व व्यापी रुपमा फैलिरहेको महामारी कोभिड १९ कोरोना भाइरसको कारण सम्पूर्ण औपचारिक कार्यक्रमहरु स्थगन गरी नित्य सेवा अन्तर्गत माङगेन्ना सेवा तथा आशीवर्चन कार्यक्रम मात्र सञ्चालन गरिएको मूल समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै पूर्व निर्धारित औपचारिक कार्यक्रमहरुलाई स्थगन गरी यस पटकको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मनाइएको समारोहका अध्यक्ष योङहाङको भनाई छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितीमा बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा विश्व शान्ति मानव एकताका लागि नित्य सेवा सम्पन्न गरिएको थियो ।

नित्य सेवा अन्तर्गत बुधबार, बिहिबार र शुक्रबार लगातार ३ दिन मुजोत्लुङ माङहिमको प्राङगणमा सम्पूर्ण किरात धर्मावलम्बीहरुको माङगेन्ना सेवा सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । यसरी हरेक वर्ष झैं यसवर्ष पनि माघ ३, ४, ५, ६ र ७ गते किरातीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले किरात धर्मावलम्बीहरुले खिबेक्वा याक्वा सेवा मनाएका हुन ।

 

सम्बन्धित खवर