त्रिविको परीक्षा फागुन १ देखि हुने - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिविको परीक्षा फागुन १ देखि हुने

काठमाडौं । कोभिड–१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको बताए ।

त्रिविको सूचना अनुसार फागुन एक गतेदेखि वार्षिक परीक्षा अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको ४ वर्षे बीएस्सी तथा बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा गर्ने समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा अपरान्ह १२ बजेदेखि तीन बजेसम्म हुनेछ । वार्षिक प्रणाली अन्तर्गतको कानून संकायतर्फ ३ वर्षे एलएलबी प्रथम वर्षको नियमित ‘नयाँ पाठ्यक्रम’ परीक्षा र तेस्रो वर्षको नियमिततर्फको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

फागुन दुई गतेदेखि तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा अपरान्ह १२ बजेदेखि हुनेछ । फागुन दुई गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हुनेछ ।

फागुन ९ गतेबाट ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा हुनेछ । परीक्षा बिहान ७ बजेदेखि बिहान १० सम्म हुनेछ ।

फागुन १३ गतेदेखि शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ ।

फागुन १३ गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको स्थगित परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रण कार्यलयको अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायको परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म र मानविकीतर्फको परीक्षा अपरान्ह १२ बजेदेखि तीनबजेसम्म हुनेछ ।

त्रिविले कोरोना संक्रमण तीव्र रुपमा फलँदै गएपछि माघ १० गतेपछिका पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको थियो ।

 

सम्बन्धित खवर