सङ्खुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सङ्खुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

दमक / सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ ।

मादीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस आज बिहान साढे ७ बजे मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलबाट सेनाको हेलिकोप्टरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि ल्याइएका १ जना मध्ये मादी नगरपालिका–५ की ३० वर्षीय यूका पोखरेलको मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएको छ । योसँगै दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मादी नगरपालिका ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, सोही नगरपालिका वडानं. ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, मादी ६ का वर्ष ३८ को इन्द्र बहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ को उमेश भट्टराई (सहचालक), मादी ४ बस्ने वर्ष ३८ को आइत बहादुर तामाङ, मादी ४ बस्ने वर्ष ३५ कि सबिता राउत कार्की, मादी ५ बस्ने वर्ष ५०÷५२ को श्याम शेर्पा, मादी ५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी ६ बस्ने तुलसा कटवालकी छोरी वर्ष ५ कि दीक्षा कटवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३०÷३५ को विपिन निरौला चालक सवारी धनी र बीपीमा उपचारको क्रममा मादी नगरपालिका ५ की ३० वर्षीय यूका पोखरेलको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ज्यान गुमाएका नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको सनाखत हुन सकेको छैन ।

बाँकी ४ जना मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले (टिकट बुकिङ गर्ने), मादी ६ बस्ने वर्ष २२ कि तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका बिक, वर्ष ५० को डम्बर बहादुर कार्कीको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको बताइएको छ ।

 

 

सम्बन्धित खवर