असल कलाकार बनेर बाबाको सपना पुरा गर्नेछु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

असल कलाकार बनेर बाबाको सपना पुरा गर्नेछु


भनिन्छ संगीतले मन छुन्छ, संगीतबाट मनको भाव पोख्न सकिन्छ, संगीतले पीडा भुल्न मद्दत गर्छ, सायद तिनै मनछुने संगीत र मनको भाव पोख्ने संगीतको गहिराईमा डुबुल्की मार्दै लाखौं मन मुटुमाझ छाइसकेकी प्रतिभा हुन् सुमधुर कोकिल आवाजकी धनि गायिका सबिना योङहाङ लिम्बू ।

आठ बर्ष देखिनै गीत गाउन थालेकी गायिका सबिना योङहाङले संगीतलाई एउटा विश्व भाषाको रुपमा बुझेकी छिन् । ‘मुटुमा चोट दिएर गयौ’ बोलको गीत पहिलो पटक रेकर्ड गराएर गायिकाको रुपमा पर्दापण भएकी सबिना गायिका बन्नमा आफ्नो बाबालाई प्रेरणाको स्रोत मान्छिन् । स्व. बाबाकै प्रेरणा र हौसलाले गायिका बनेकी उनी भविष्यमा समेत असल कलाकार बनेर बाबाको सपना पूरा गर्ने उनी बताउछिन् ।

असल, मेहेनती र इमानदार गायिकाको रुपमा चिनिने सबिना जहिले पनि गीत संगीतमा आफूलाई अव्बल रुपमा स्थापित गर्न अझ मेहेनत गर्ने बताउछिन् । पारिवारिक सपोर्ट समेत राम्रो रहेको र परिवारकै सपोर्टको कारण गायिका बन्न सफल भएको बताइन् । उनी गीति एल्बमको तयारीमा जुटिरहेकी छन् । उनले करिवन डेढ दर्जन भन्दा बढी गीतहरुमा स्वर भरेकी छन् ।

दुई दशक अगाडि झापामा जन्मेकी सबिना हाल भने काठमाण्डौलाई कर्मथलो बनाएर संगीत क्षेत्रमै रमाईरहेकी छन् । चैत १० गतेलाई जन्मदिन मान्ने उनले प्रेमलाई विश्वासको रुपमा परिभाषित गर्छिन । अहिलेसम्म प्रेममा परिहालेको छैन भन्ने योङहाङ सिगिंङ रियालीटी सो नेपाल आइडल सिजन २ को अडिसनबाटै धेरै भन्दा धेरै चर्चा बटुलेकी हुन् ।

गुरु कृष्ण योञ्जनबाट संगीतको औपचारिक शिक्षा लिएको बताउने सबिना हाल भने गुरु चण्डीप्रसाद काफ्लेसँग संगीत शिक्षा लिइरहेकी छन् । गीत संगीतको माध्यमबाट बाँच्न सकिने बताउने उनी आफ्नै एउटा गीतमा अभिनय गरेर मोडलिङको अनुभव समेत बटुलेकी छन् । सरल अनि मिजासिलो स्वभाव र जो कसैसँग खुलेरै हासिमजाग गर्ने, घुलमिल हुन सक्ने प्रतिभा हुन् सबिना योङहाङ लिम्बू ।

प्रस्तुति : आन्छुमे नसान

(प्रस्तुत फिचर माङसेबुङ मासिकको फागुन अंकमा प्रकाशित फिचर हो)

 

 

 

सम्बन्धित खवर