काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको हो । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने भएको छ ।
यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोल अनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको मन्त्रालय स्रोतको भनाई छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा पनि बढाउने छन् ।
भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छन् ।
२७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।