यसरी मनाइयो ९२ औं समाज सुधार दिवस(फोटो फिचर सहित) - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यसरी मनाइयो ९२ औं समाज सुधार दिवस(फोटो फिचर सहित)

लब्रेकुटी । पुर्खाहरुले समाज सुधारका लागि ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गरेको ऐतिहासिक दिनको सम्झना गर्दै, किरात धर्मावलम्बीहरुले ९२ औं समाज सुधार दिवस भव्य रुपमा मनाएका छन् ।

सत्य धर्म मुचुल्का निर्माण गरिएको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल, किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको कर्म भूमि पान्थरको लब्रेकुटीमा शनिबार ९२ औं समाज सुधार दिवस मनाएको हो ।

फेदेन नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङको प्रमुख आतिथ्यमा आयोजित समाज सुधार दिवस कार्यक्रममा गायिका सुनिता थेगिमले आफ्ना चर्चित गीतहरु सुनाएर उपस्थित अतिथि र भक्तजनहरुलाई मनोरञ्जन दिलाएकी थिइन् ।

सो कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरलले सत्य धर्म मुचुल्काको आयामहरुका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्रको टिप्पणीकार प्राज्ञ हरिचन्द्र लाओती र साहित्यकार लछामी सेर्मा रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर नेम्बाङ, किरात साङसेन वरक चोत्लुङ माङहिम सञ्चालक समितिका पूर्व अध्यक्षद्धय चन्द्रराज आङदेम्बे, रमेश तुम्बापो, फेदेन नगरपालिकाका मेयर प्रत्यासी उम्मेद्धारहरु नेकपा एमालेका पृथी लाओती, नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका देउकुमार नेम्बाङ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

महागुरु फाल्गुनन्दको पहलमा ९१ वर्ष पहिले निर्माण गरिएको सत्य धर्म मुचुल्काको महत्व र यसको परिभाषालाई सांघुरो घेराबाट मात्र हेर्न नमिल्ले र यसको व्यवहारिक र दूरदर्शिताको विषयमा खोज अनुसन्धान गर्दै, बहस पैरवी गर्न जरुरी रहेको शुभकामना दिने बक्ताहरुले बताएका छन् ।


किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्य मन्तव्य किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरका सचिव सुवास तुम्वापोले राखेका थिए भने, किरात धर्म तथा साहित्य उत्थान संघ मोरङका अध्यक्ष रामभक्त कुरुम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

किरात साङसेन वरक चोत्लुङ माङहिम लब्रेकुटीका व्यवस्थापनमा किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिको आयोजनामा समाज सुधार दिवस मनाएको हो ।

सत्य धर्म मुचुल्का महागुरु फाल्गुनन्दको पहलमा लब्रे पान्थरमा वि.सं. १९८८ बैसाक २४ देखि २८ गतेसम्म आयोजित एक भव्य चुम्लुङले निर्माण गरेको थियो । किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा ७ बुद्धे सत्यधर्म मुचुल्का निर्माण गरिएको थियो ।

महागुरु फाल्गनुन्दको पहलमा आयोजित चुम्लुङमा लिम्बुवानका प्रशासन प्रमुखहरु तालुकी अमाली शुभा (थुम प्रमुख), सुभा (गाउँ प्रमुख), सर्वसाधारणको उपस्थित रहेको थियो ।

 

सम्बन्धित खवर