माङसेबुङमा यलम्बरहाङको सालिक स्थापना - Mangsebung News
  • शुक्रबार, असोज २१, २०७९
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा यलम्बरहाङको सालिक स्थापना

  • शरण केरुङ लिम्बू

माङसेबुङ । माङ्सेबुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रथम किरात राजा यलम्बर हाङको सालिक निर्माण गरिएको छ ।

किरात धर्मावलम्वीको आस्थाको केन्द्र पवित्र धार्मिक तिर्थस्थल इलामको माङ्सेबुङको भालुटारस्थित बुधबारेमा यलम्बरहाङको पूर्ण कदको सालिक निर्माण गरिएको हो ।

किरात शासनकालको शासकीय इतिहासलाई जीवन्त पार्दै सिंगो किरात समुदायको पहिचानलाई स्थापना गर्न माङसेबुङमा यलम्बरहाङको शालिक स्थापना गरिएको माङ्सेबुङ गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष नरेन्द्रकुमार राईले बताए ।

सो सालिक स्थापनाका लागि माङ्सेबुङ गाउँपालिकाको आथिर्क वर्ष २०७६/७७ अन्तर्गत  १० लाख र आर्थिक बर्ष २०७८/७९ मा वडा नं. ५ को वडा बजेटबाट तीन लाख गरी कूल १३ लाखको लागतमा निर्माण गरिएको यलम्बर शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसहाङ सावदेनले बताए ।

कोरोना संक्रमणका कारण निर्माण कार्यमा केहीँ ढिलाई भएपनि असार अन्तिम साता निर्माणका सम्पूर्ण कार्य सकिएको उपभोक्ता समितिले जनाएको छ । सालिकको रंगरोगन गर्ने, बाहिर रेलिङ बनाउने र बति लगाउने कार्य समेत सकिएको समितिका अध्यक्ष सावादेनको भनाई छ ।

इलामको माङसेबुङमा पहिलो पटक स्थापना गरिएको यलम्बरहाङको शालिक माङ्सेबुङ हेरिटेज प्रा. लि. ले निर्माण गरेको हो । सो सालिक उपभोक्ता समितिले हेरिटेजबाट सात लाखमा खरिद गरिएको उपभोक्ता समितिका अध्यक्ष सावदेनको भनाई छ ।

वि. स. २०७२ फागुन २० गते नेपाल सरकारबाट कानुनी रुपमा निषेधित क्षेत्र घोषणा गरिएको थियो । किरात धार्मिक संस्थाहरुको समन्वयनमा स्थानीय नागरिक समाज, राजनीतिक दल, समाजसेवीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय इलामका तत्कालीन सहायक प्रमुख अधिकारी सुजन फागोले निषेधित क्षेत्र घोषणा गरेको थियो ।

साप्ताहिक रुपमा लाग्दै आएको बुधबारे हटियामा यलम्वरको सालिक निर्माण कार्यले माङ्सेबुङमा स्थानीय पर्यटकको आकर्षण बढेको स्थानीय व्यवसायी जुनु माखिमले बताएकी छन् । बाह्रय तथा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने सम्भावना भएसँगै स्थानीय होमस्टे र होटल व्यवसायीहरु खुसी बनेको उनले बताइन् ।

श्री सरस्वती माध्यमिक विद्यालयका शिक्षक नरेन्द्र थेगिमका अनुसार यलम्वरहाङ (राजा) को सालिक निर्माणले बजार क्षेत्रमा आकर्षण थपेको छ । यसैगरी किरात इतिहासमा उल्लेखित यलम्बर हाङ्ले वर्तमान समयमा पनि उतिकै किरातहरुको गौरवमय गाथालाई जनसमक्ष प्रत्यक्ष रूपमा अनुभूत गराएको छ । यसरी शुद्ध शाकाहारी क्षेत्रको रुपमा स्थापना गरिएको सालिकले माङसेबुङको आकर्षणको लागि सालिक स्थापनाको लागि फराकिलो ठाउँको व्यवस्थापन गर्न नसकिएकोले बुधबारे बजार क्षेत्रमा सांघुरो ठाउँमा स्थापना गरिएको स्थानीयको भनाई छ ।

डा. भक्त साम्पाङ राईको नययनभि का लेख अनुसार किरात राजा यलम्बरको बारेमा नेपालको इतिहासका अध्येता प्राध्यापक दिनेशराज पन्तको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘प्रथम किरात राजा यलम्बरको समय’ नामक पुस्तक र नयानाथ पौडेल, देविप्रसाद लम्सालद्वारा प्रकाशित ब्रायनको ‘हिस्ट्री अफ नेपाल’ पुस्तक अनुसार यलम्बरहाङ किरातीहरुको प्रथम राजा हुन् । जसले किरातीहरुको रहनसहन, व्यापार व्यवसाय लगायत भाषा, धर्म, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए । किरातीहरुको सम्पूर्ण दाजुभाइहरु राजा हुने चलन चल्तिलाई किरात शासन भनिन्छ । ३२ राजाहरुमध्ये प्रथम यलम्बर हाङ (राजा) ले काठमाडौ उपत्यकामा आफ्नो राज्य स्थापित गर्दै ९० वर्ष लामो शासन गर्ने किराती राजा हुन ।

सो शालिक निर्माणका लागि स्थानीय तह माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय समुदायको जनश्रमदानबाट निर्माण कार्य सम्पन्न गरिएको समितिका अध्यक्ष सावादेनले बताएको छ । यलम्वरको सालिक निकट भविष्यमा किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको उपस्थितिमा अनावरण गरिने सावदेनको भनाई छ ।

सम्बन्धित खवर