माङसेबुङ । प्रदेश नं १ को नामाकरण बहुपहिचानको आधारमा किरात सगरमाथा राख्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब समितिले ज्ञापनपत्र बुझाएको छ ।
सोमबार पहिचान सहित प्रदेश नं १ को ‘किरात सगरमाथा’ नामांकन गर्न प्रधानमन्त्री देउबालाई शान्तिपूर्ण नैतिक दबाब समितिले बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।
प्रदेश नम्बर १ को नाम प्रदेश संसद्को यही अवधिभित्र टुङ्ग्याउने प्रदेश सरकारले तयारी गरेसँगै नामाङकनको बिषयले चर्चा पाएको छ । प्रदेशको नामङकनका लागि विभिन्न दल, सामाजिक तथा जातीय संस्था विभिन्न नामहरु प्रस्ताव गर्दै आन्दोलन चर्काइरहेका छन् । अहिलेसम्म चर्चामा रहेको प्रस्तावित नाममा किरात सगरमाथा, लिम्बूवान किरात, किरात, कोशी, सप्तकोसी छन् ।
बहुपहिचान र समस्त प्रदेशवासीको अस्तित्व कायम हुनेगरी किरात सगरमाथा प्रदेश राख्नुपर्ने किरात धर्मगुरु आत्मानन्द लिङ्देनले गत कात्तिक २५ गते आशीर्वचनका क्रममा पूर्वका विभिन्न ठाउँमा पुगेर आफ्नो र प्रदेशवासीको चाहना रहेको धारणा सार्वजनिक गर्नुभएको थियो ।
त्यसैगरी लामोसमयदेखि आन्दोलनमा रहेको संघीय लिम्बूवान पार्टी, किरात याक्थुङ चुम्लुङ लगायतका ३२ वटा संगठनले लिम्बूवान किरात प्रदेश माग गर्दै आएका छन् । त्यस्तै किरात राई यायोक्खा, याक्खा छुम्मा लगायतले किरात प्रदेश, नेकपा एमाले कोशी र नेपाली काङ्ग्रेसले सप्तकोसी प्रस्ताव गरेको छ ।
यसरी धेरै प्रकारको नाम प्रस्तावमा आउँदा प्रदेश १ को नामांकनको बिषय थप पेचिलो बन्दै गएको छ । ठूला दल देखि पहिचान पक्षधर दलहरू र सामाजिक तथा जातीय संस्थाहरू समेत प्रदेश १ को नामांकनको बिषयमा एकमत नहुँदा झन् जटिलता थपिएको छ ।