यस्तो छ मुन्धुम शिक्षाको पाठ्यपुस्तक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यस्तो छ मुन्धुम शिक्षाको पाठ्यपुस्तक

  • आङबुहाङ अबोध अविरल

थालनी

पाठ्यक्रम विकास केन्द (पाविके) ले मुन्धुम शिक्षा कक्षा ४ को ‘किरात याक्थुङ पाःन’ र ‘हाम्रो सामाजिक शिक्षा र मानव मूल्य’ को पुस्तक तयार गरेको छ । पाविकेले तयार पारेको सो पुस्तकहरुको प्रकाशन माङसेबुङ गाउँपालिकाले गरेको छ ।

किरात याक्थुङ पान मुन्धुम शिक्षा कक्षा ४ को अनिवार्य विषयको रुपमा पाविकेले राखेको छ । १०० पूर्णाङक र ६ पाठ्यभार निर्धारण गरिएको यस पुस्तकमा १८ वटा पाठहरु समावेश गरिएको छ । रहेका ‘किरात याक्थुङ पाःन कक्षा ४’ विद्यार्थीमा भाषा सिकाइका ४ आधारभूत सीप सुनाइ, बोलाइ, पढाइ र लेखाइ विकास गर्ने उद्देश्यमा केन्द्रित छ । यसका निम्ति कथा, कविता, निबन्ध र जीवनीहरु समेटेर पाठ्य पुस्तक निर्माण भएको छ ।

यस लेखमा किरात याङथुङ पानको चर्चा गरिनेछ । यस पुस्तकको मुल लेखन दिलवीर सेर्मा र मनकुमार लिम्बूले गरेका छन् । होमबहादुर लिङ्देन, रविन योङहाङ र कल्पना लिङ्देनको पनि यस पुस्तकमा योगदान रहेको छ ।

लय र भाव सिकाउन कविता

नेपाल र सिक्किमका लेखकहरुले रचेका चार वटा कविताहरु यस पुस्तकमा समावेश गरिएको छ । पुस्तकको प्रारम्भमा ‘तुवा’ शीर्षकको सेवासाम्लो (इश्वर वन्दना) समावेश गरिएको छ । यसको लेखन सिक्कुमदाङ याक्थुङबाले गरेका हुन् । यो पाठले विद्यार्थीहरुमा विद्याका माङप्रति श्रद्धा गर्नु भन्ने भाव वोध र लयबोध गर्ने छ । किरात समुदायमा प्रचलित लोक गीत ‘केसाम’ पनि यस पुस्तकमा समावेश छ । पुष्प लोवा लोरिङदेनले संकलन गरेको केसामले लोक भाकाहरुप्रति प्रेम भाव र लयबोध गराउँने छ । अमर तुम्याहाङको कविता ‘हेन्साम लोःआ’ प्रकृति र संस्कृतिको बारेमा छ । सिक्किमका कवि सन्तोस तेरापेको कविता ‘आङगा’ ले वालवालिकालाई मिलेर खेल्दै पढ्नु पर्छ भन्ने सन्देश छ ।

कवितामा वाचन र कठिन शब्दहरुको उच्चारण सम्बन्धि क्रियाकलाप रहेका छन् । पाठ बोधका निम्ति मौखिक तथा लिखित प्रश्नहरु सेट गरिएका छन् । र, पाठको अन्त्यमा बालवालिकाको जीवन र पाठमा मेल खाने विषयहरु समेटेर परियोजना कार्य राखिएका छन् ।

मुन्धुमी कथाहरु

किरात याक्थुङ पान कक्षा ४ मा मुन्धुमी र बाल मनोविज्ञानमा आधारित कथाहरु समावेश छन् । ‘मिजाक्लुङ नु मी’ किरात समुदायमा प्रचलित आगो, पानी र ढुङ्गासम्बन्धि लोककथा हो । यस कथामा लछामी सेर्मा पापोको संकलन रहेको छ । सागर केरुङले लेखेको ‘माङगेन्ना’ मुन्धुममा आधारित माङगेन्ना अनुष्ठानको बारेमा छ । जसले बालवालिकालाई परापूर्वकालदेखि चलिआएको माङगेन्ना अनुष्ठानको महत्वलाई बोध गराउने खालको छ । यसैगरी पूर्णकुमारी लिङ्देनले लेखेको ‘माक्सतीरे खेप्सुबा खेदा’ पराम्परागत थाकथाक्माको महत्वबारे रहेको छ । मलिसा याक्थुङबाले लेखेको एक नीति कथा ‘सो नु नुवा पान’ समेत यस पुस्तकमा समावेश गरिएको छ । यसले किरात लिम्बू समाजमा रहेको मूल्य मान्यताबारे बोध गराउँछ ।

विद्यार्थीहरूमा कथनात्मक अभिव्यक्ति सिपको विकास गर्न कथाहरु समावेश गरिएको छ । कथनात्मक अभिव्यक्तिमा मौखिक तथा लिखित कथनहरु पर्दछन् । खासगरी कथा सिकाइका माध्यमबाट सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता चारै सिपको अभ्यास गराउने खालका क्रियाकलापहरु तयार पारिएको छ । सस्वर तथा मौन पठन, पठन बोध, प्रश्नोत्तर, घटना व्रmम मिलाउने, कठिन शब्दको उच्चारण, अर्थ र प्रयोग अनुलेखन जस्ता कार्यकलाप पाठमा राखिएको छ ।

आदर्श जीवन सिकाउन जीवनी

विद्यार्थीहरुमा भाषाका मौखिक तथा लिखित अभिव्यक्ति सिपको विकास गर्नु जीवनीलाई पनि पाठ्य सामग्रीको रुपमा प्रयोग गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ र ज्योतिष रनधोज नेम्बाङको जीवनीलाई पाठ्यपुस्तकमा समेटिएको छ । किरात धर्मगुरु आत्मानन्दले मुन्धुम शिक्षा, शाकाहारी जीवनपद्धति र शान्तिका निम्ति पु¥याउनु भएको योगदानबारे पुस्तकमा चर्चा गरिएको छ । यसैगरी रनधोज नेम्बाङले महागुरु फाल्गुनन्दले मुन्धुमलाई लिखित रुपमा ल्याउने क्रममा पु¥याएको योगदानको चर्चा गरिएको छ ।

जीवनीका माध्यमबाट विशिष्ट व्यक्तित्व एवम् चरित्रहरूको मौखिक तथा लिखित वर्णन गर्ने सिपको विकास गराउँने उद्देश्य राखिएको छ । पाठहरूबाट श्रुतिबोध, पठन बोध, समयरेखा तयार गर्ने अनुलेखन, कठिन शब्दको उच्चारण, अर्थ र प्रयोग, बुँदा टिपोट जस्ता क्रियाकलाप राखिएको छ ।

गद्यात्मक अभिव्यक्ति बोध गराउन निबब्ध

यस पुस्तकमा विद्यार्थीमा गद्यात्मक अभिव्यक्तिको बोध क्षमताका साथै गद्यात्मक लिखित अभिव्यक्ति क्षमताको विकास गर्न केही निबन्ध राखिएका छन् । ‘माङसेबुङ’, ‘सुङघीङ’, ‘आबाङभे’ र ‘यान्धा’ शीर्षकका निबन्धहरु पाठ्यपुस्तकमा समावेश गरिएका छन् ।

माङसेबुङ निबन्ध धार्मिक पर्यटकीयस्थल माङसेबुङको बारेमा छ । यो पाठ पढिसकेपछि विद्यार्थीहरुले आफ्नो वरिपरिका धार्मिक पर्यटकीयस्थलको बारेमा व्याख्या गर्न सक्ने छन् । यसैगरी आबाङभेले आफ्नो गाउँको चर्चा गर्न र यान्धाले कृषि पेशाको विगत र वर्तमानबारे छोटो चर्चा गरेको छ । सुङघीङ शीर्षकको निबन्धले विद्यार्थीहरुलाई मुन्धुमी औषधी विज्ञानमा प्रयोग हुने जडिबुटीको बारेमा जानकारी दिन्छ ।

चिठी र निवेदन

घरायसी चिठी र कार्यालयीय निवेदन लेखनको अभ्यासका निम्ति पाठहरु यस पुस्तकमा समावेश गरिएको छ । जसमा प्रधान अध्यापकलाई खेल सामग्री उपलब्ध गराउन निवेदन लेखन सिकाउने पाठ राखिएको छ । यसैगरी आफ्नो गाउँको व्याख्या गर्दै साथीलाई चिठी लेख्ने पाठमा पनि समावेश गरिएको छ ।

कार्यमूलक व्याकरण

बालबालिकाहरूलाई भाषाको शुद्ध प्रयोगप्रति अभिप्रेरित गर्न प्रत्येक पाठमा व्याकरण सिकाई क्रियाकलाप राखिएको छ । उदाहरण र प्रयोगका आधारमा सम्बद्ध पाठभित्रैबाट नियमको खोजी गर्ने उत्सुकता जगाइदिनु गरी व्याकरणका क्रियाकलाप राखिएका छन् । लिङ्ग, वचन, पुरुष, आदर, काल, आदि पाठ्य पुस्तकमा समेटिएका छन् ।

इएसए मोडेल

पाठको शुरुमा पूर्व पाठ प्रश्न तथा विभिन्न क्रियाकलाप राखिएको छ । यसले विद्यार्थीहरुलाई विषयमा प्रवेश गर्नुअघि इङगेज गराउने छ । यसले विद्यार्थीहरुलाई पाठमा प्रवेश गराउन सजिलो पार्ने छ । त्यसपछि स्टडी अर्थात् पढाइको समय रहनेछ । विद्यार्थीले मूल पाठ पढ्नेछन् । अन्त्य एक्टीभिटिज अर्थात् क्रियाकलापको समय रहनेछ ।

(लेखक : किरात याक्थुङ पान कक्षा ४ का सह लेखक तथा माङसेबुङ मासिकका स्तम्भकार हुन्, प्रस्तुत लेख माङसेबुङ मासिकको भदौं अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर