‘यासोकमा सावायेहाङको चोत्लुङ गाड्नु पर्छ’ : अङसीमाङ लिङदेन आत्मानन्द - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘यासोकमा सावायेहाङको चोत्लुङ गाड्नु पर्छ’ : अङसीमाङ लिङदेन आत्मानन्द

असोज ७, माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ले थिवोङहाङ याक्थुङहाङहरुलाई पाप र श्राप परेकोले गर्दा थिवोङहाङ याक्थुङहाङहरुको एकता हुन नसकेको बताउनु भयो ।

शुक्रबार इलामको माङसेबुङमा अवस्थित गुरु निजी आश्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप(साकमुरा) वादेम्मा सेवा २०७९ को तयारीको लागि आयोजित कार्यक्रममा माङ आशीर्वचन प्रदान गर्नुहुँदै सो कुरा बताउनु भएको हो ।

माङ आशीर्वचनकै क्रममा आङसीमाङले भन्नुभयो, ‘तमोर नदीमा सेवा गर्नु पर्छ । तमोरमा गएर १ कडोढ ५० लाख बात्ती बालेर साकमुरा बगाउनु पर्छ । तमोर खेला माङबाट शक्ति मागौं अनि मात्र हाम्र ज्ञानको ढोका खुल्दै जान्छ र थिवोङ याक्थुङहाङहरु एकतामा बाँधिन सक्छौ ।’ वहाँले भन्नु भयो, ‘माङथिम र हाङथिमको लागि कुम्मायकमा सेवा गरेर शक्ति वरदान माग्नु पर्छ । तपाईहरुको लागि म शक्ति मागी दिन्छु ।’

‘यासोकमा सावायेहाङको चोत्लुङको लागि ढुङगा गाड्नु पर्छ’ अङसीमाङले भन्नु भयो, ‘यासोकमा सात दिन सम्म सेवा लगाउनु पर्छ । चरु हवन गर्नु पर्छ र सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमाको लागि शक्ति माग्नु पर्छ ।’ वहाँले भन्नु भयो, ‘सात दिन सम्म सेवा गरेर शक्ति मागेपछि सावायेहाङलाई शक्ति प्रदान हुन्छ ।’

सेवाको नेतृत्व पापोहाङले लिनुपर्ने बताउनुहुँदै अङसीमाङले भन्नु भयो, ‘पवित्र भावनाले सेवा गरे मुक्ती पाईन्छ र भोली सारा किरातहरु एक भएको दिन आउँछ ।’

यसैगरि पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद योङयाले हाङथिमको जिम्मेवारी गुरु ज्यूले मलाई दिनुभएको बताउनु भयो । वहाँले भन्नु भयो, ‘गुरु ज्यूकै निर्देशनमा हामीले राष्ट्रिय जनजाति पार्टी स्थापना गरेका थियौं । जनजाति पार्टीको स्थापना गर्दै पहिलो पटक नेपाललाई १२ वाटा प्रान्तमा बिभाजन गर्ने निर्णय गरेका थियौं ।’

अध्यक्ष योङयाले जनजाति पार्टी खोले पनि निर्वाचन आयोगमा भने तत्कालिन संविधानले गर्दा दर्ता गर्न नसकेको दुखेसो पोख्नु भयो । वहाँले त्यतिबेला जनजाति पार्टीको झण्डा र चुनाव चिन्ह सुर्य बनाउने गुरु ज्यूको निर्देशन भएपनि पार्टी नै दर्ता हुन नसकेर पछाडी त्यो चुनाव चिन्ह नेकपा एमालले लगेको बताउनु भयो ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङले गुरुज्यूको निर्देशन बमोजिम हरेक कार्यमा एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भायो ।

कार्यक्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप(साकमुरा) वादेम्मा सेवा २०७९ आगमी माघ १२ र १३ गते सावायेहाङबाट माङहुक्वा संकलन गरि आयोजना गर्ने गरि सेर वहादुर लाओतीको अध्यक्षतामा आयोजक समिति समेत गठन गरिएको जनाएको छ ।

पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद योङया, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष ताराबीर नेम्बाङ, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय महासचिव काकीराम लाओती, आत्मापवित्र किरातेश्वर गौशालाका अध्यक्ष बीर बहादुर आङला, किरात साम्यो थामेन्दीमा पान्जुम्भोका अध्यक्ष सरुहाङमा सेलिङ, किरात साहित्य प्रतिष्ठानका सचिव भगिहाङ नेम्बाङ लगायत पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र थुम थुमका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सावायेहाङ थिबोङहाङ याक्थुङहाङ थिकहुप पोङमा आप्लुङगेन ताङसेप सेवा नु माङहुप(साकमुरा) वादेम्मा सेवा २०७९ का अध्यक्ष सेर बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उदयबिक्रम तुम्बापोले गरेका थिए ।

सम्बन्धित खवर