मुक्कुमलुङ बचाऔं अभियानको समर्थनमा संघद्धारा विज्ञप्ति जारी - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ बचाऔं अभियानको समर्थनमा संघद्धारा विज्ञप्ति जारी

असोज ९, इलाम । ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकीयस्थल मुक्कुमलुङ बचाऔं अभियानले सञ्चालन गरिरहेको आन्दोलनलाई समर्थन गर्दै किरात धार्मिक संस्था किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरेको छ ।

शनिबार किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ताप्लेजुङ जिल्लामा अवस्थित किरात याक्थुङ लिम्बु समुदायको मुन्धुमी आध्यात्मिक एवं पवित्र धार्मिक स्थल मुकुमलुङको परिवर्तित हिन्दुकृत ‘पाथीभरा’ नामबाट यहीँ आगामी २०७९ असोज ११ गतेदेखि १३ गतेसम्म पाथीभरा म्याराधन तथा पर्यटन महोत्सव २०७९ आयोजना गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा लेखिएको यस क्षेत्रमा बसोबास गर्ने आदिवासी रैथाने खासगरी लिम्बु भाषिद्वारा अनादिकालदेखि नामाकरण भएको शक्तिपिठ ‘मुक्कुमलुङ’ (शक्तिशाली ढुंगे पहाड़) को यथावत नाम पुनस्थापित गरी मुक्कुमलुङ महोत्सव भनि संचालन गरियोस भन्ने न्यायोचित माग दावीलाई आयोजक पक्षले बेवास्ता गरी रैथाने समुदायको आस्थाको धरोहर मुकुमलुङमाथि भएको ठाडो हस्तक्षेप प्रति हाम्रो गम्भीर आपत्ति भएको कुरा जानकारी गराउँदछौ ।

यसैगरी संघद्धारा जारी विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रबार जारी गरेको विज्ञप्तिको कडा टिप्पनी गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले लिम्बु जातिलाई निषेधित गर्दै धार्मिक, सांस्कृतिक एवं जातीय सदभाव र सहिष्णुतामा गम्भीर आँच आउने र आतंकित गर्ने धम्किपूर्ण भाषा प्रयोग सहित प्रेषण गरेको िविज्ञप्ति प्रति खेद प्रकट गर्दै स्थानीय जन समुदायको बिना सहमति र अन्तर्राष्ट्रिय कानुनी प्रावधान विपरित स्वेच्छिक ढंगले महोत्सव कार्यक्रम सम्पन्न गर्ने दुस्साहस भई कुनै अप्रिय घटना घट्न गएमा स्वयं आयोजक पक्ष जिम्मेवार हुनुपर्ने चेतावनी सहित यो प्रेस विज्ञप्ती जारी गर्दछौं ।’

सांस्कृतिक अतिक्रमण गरेर पाथीभरा बनाइएको ठाउँको नाम मुन्धुमको आधारमा मुक्कुमलुङ हुनुपर्ने माग राख्दै आन्दोलनरत किरात याक्थुङ चुम्लुङ, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह लगायत लिम्बूजन्य संघ संस्थाहरुले असोज ९ देखि १३ गतेसम्म ताप्लेजुङमा सवारीसाधन बन्दको कार्यक्रम घोषणा गरेको छ ।

मुक्कुमलुङ बचाउन कथित पाथीभराको विरुद्ध ताप्लेजुङ बन्दको आब्हान गर्दै ताप्लेजुङमा सवारीसाधन पुर्णरुपमा बन्दको कार्यक्रम घोषणा गरेको हो । पाथीभरा सांस्कृतिक अतिक्रमण नाममा सर्बोच्च अदालतमा विचाराधिन मुद्धाको बेवास्ता गर्दै, पाथीभरा महोत्सव आयोजना गरिएको हुँदा महोत्सव रोक्न माग गर्दै ताप्लेजुङ बन्दको आब्हान गरेको आन्दोलन समितिले जनाएको छ ।

‘पाथीभरा म्याराथन तथा पर्यटन महोत्सब २०७९’ को आयोजना पाथीभरा क्षेत्र विकास समितिले यहि असोज ११, १२ र १३ ताप्लेजुङमा गर्ने कार्यक्रम तय गरेको छ । लिम्बू समुदायको अस्तित्वसँग जोडिएको मुक्कुमलुङलाई लामो समयदेखि राज्यले सांस्कृतिक अतिक्रमण गरेको हुँदा सर्बोच्च अदालतमा मुद्धा बिचाराधिन भएको हुनाले पाथीभराको नाममा कुनै पनि क्रियाकलाप गर्न नहुने आन्दोलनरत पक्षको भनाई छ ।

सम्बन्धित खवर