समाधिस्थललमा चिहान उत्खनन् गरेकोमा चुम्लुङको ध्यानाकर्षण - Mangsebung News
  • मङ्गलबार, असोज १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाधिस्थललमा चिहान उत्खनन् गरेकोमा चुम्लुङको ध्यानाकर्षण

मंसिर १५, इलाम । आदिवासी जनजाति लिम्बूहरुको ऐतिहासिक समाधिस्थल चिहानडाँडामा अज्ञात समूहले सयौं वर्ष पूरानो चिहान उत्खनन गरेका छन् ।

इलाम नगरपालिका ४ मलातेमा रहेको चिहानडाँडामा रहेको सबैभन्दा पुरानो चिहान गत शनिबार राती उत्खनन गरि बहुमुल्य वस्तु चोरी गरेर लगेको स्थानीयले बताए ।

लिम्बू परम्परा अनुसार दाहसंस्कारका क्रममा मृतकको गरगहनाहरु समेत राखेर गाड्ने प्रचलन रहेकाले त्यसैको लोभमा उत्खनन भएको हुनसक्ने स्थानीयको आशंका छ ।

यसैबीच चिहान उत्खनन भएको घटनाप्रति किरात याक्थुङ चुम्लुङ इलामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चुम्लुङले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कारवाही गर्न माग गरेको छ ।

प्रेस विज्ञप्तिमा यस्तो छ

प्रेश विज्ञप्ति

इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ मलातेमा रहेको आदिवासी जनजाति तथा लिम्बूहरुको समाधिस्थल चिहानडाँडामा रहेको सबैभन्दा पुरानो चिहान मिति २०७९ ।०८।११ गतेका राती अज्ञात समूहले खनेर चिहानबाट मानव अस्थिपञ्जर लगायतका बहुमुल्य पुरातात्विक वस्तुहरु चोरी लगेको घटनाप्रति किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको गम्भीर ध्यानाकर्षण भएको छ ।

माथि उल्लेखित ऐतिहासिक पुरातात्विक समाधिस्थलमा रहेको सबैभन्दा पुरानो चिहान खनेर मानव अस्थिपञ्जर लगायत बहुमूल्य वस्तु चोरी गर्ने समूहको तुरुन्त खोजतलास गरी कानून बमोजिम हदैसम्म सजाय गर्न किरात याक्थुङ चुम्लुङ इलाम स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारसँग जोडदार माग गर्दछ साथै समाधिस्थलको संरक्षण गर्न सबै सरोकारवाला समुदायसँग हार्दिक अपिल गर्दछ ।

बुद्धमाया सोङमी
अध्यक्ष

सम्बन्धित खवर