स्थायी शान्ति र विकासका लागि सबै मिलेर पहल गरौं : लिङदेन आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्थायी शान्ति र विकासका लागि सबै मिलेर पहल गरौं : लिङदेन आत्मानन्द सेइङ

पुस ४, माङसेबुङ । नेतृत्व छान्न आम जनता सचेत रहनुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले बताउनु भएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको निमन्त्रणामा शुभ आशीर्वाद टीका ग्रहण एंव शुभकामना आदानप्रदान र जलपान समारोहमा आइतबार आयोजित कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङ लिङदेन आत्मानन्द सेइङले सो कुरा बताउनु भएको हो ।

‘यसपटक निर्वाचित सांसदहरुले देश र जनताको हक हितको लागि निस्वार्थ रुपले काम गर्नुपर्छ’ अङसीमाङले भन्नु भयो, ‘सबै जनता र नेताहरुको मन मिले देशमा विकास निर्माण गर्न पनि सहज हुनेछ ।’

पहिलेको तुलनामा विकास निर्माणले गति लिएको चर्चा गर्नु हुँदै वहाँले थप्नु भयो, ‘अब स्थायी विकास निर्माणमा सबैले ध्यान दिनु पर्छ, यसमा देशका नेताहरु एक हुनु पर्छ ।’

विश्वमा नेपाललाई एकता र विकासमा नमुना राष्ट्र बनाउन सबै राजनीतिक दलका नेताहरु एकजुट हुनुपर्ने समय आएको सुनाउनु हुँदै देशमा शान्ति र एकता कायम गरी जनतालाई सुखी बनाउनु पर्ने दायित्व राजनेताहरुको रहेको वहाँले प्रष्ट पार्नु भएको छ ।

इलामको माङ्सेबुङ –५, गुरु निजी आश्रम लारुम्बा अवस्थित माङ्सेबुङ विकास समितिको आयोजनामा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा प्रदेश नम्बर १ बाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सांसदहरूलाई अङ्सीमाङ तथा अङ्सीमामाङबाट शुभ आशीर्वाद टीका ग्रहण, शुभकामना आदान–प्रदान एव जलपान कार्यक्रम सम्पन्न भएको हो ।

आशीर्वाद ग्रहण कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरु सुवास चन्द्र नेम्बाङ, बसन्तकुमार नेम्बाङ, देवराज घिमिरे, राजेन्द्रप्रसाद लिङ्देन, लालप्रसाद साँवा, महेश बस्नेत, राजेन्द्रकुमार राई लगायत उपस्थित रहनु भएको थियो ।

यसरी नै प्रदेश सभाका सदस्यहरु इन्द्रबहादुर आङबो, राम राना मगर, रितिकेश पोखरेल, तिलकुमार मेन्याङवो, खगेन्द्रसिं हाङगाम, सम्शेर राई, होम थापा, कमलप्रसाद जवेगु, खडगबहादुर बस्नेत, उमाकान्त गौतम, राधाकृष्ण खनाल, छविलाल चुडाल, एकराज कार्की, तिलचन पाठक, भक्तिप्रसाद सिटौला, सविना बजगाई, प्रेम श्रेष्ठ लगायतका प्रदेश सभाका सांसदहरु आशीर्वाद ग्रहणका लागि आएका थिए ।

प्रतिनिधि तथा प्रदेश सांसदहरूलाई अङ्सीमाङ तथा अङ्सीमामाङबाट शुभ आशीर्वाद टीका ग्रहण, शुभकामना आदान–प्रदान एव जलपान कार्यक्रम यसपटक आउन नभ्याउने सांसदहरुको लागि पुनः दोस्रो चरणमा कार्यक्रम आयोजना गरिने आयोजक माङसेबुङ विकास समितिले जनाएको छ ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

माङसेबुङ विकास समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेको कार्यक्रमलाई भगिहाङ नेम्बाङले सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर