रास्वपाले छाड्यो सरकार, ३ मन्त्रीले बुझाए राजीनामा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रास्वपाले छाड्यो सरकार, ३ मन्त्रीले बुझाए राजीनामा

माघ २२, दमक । नागरिकता र पासपोर्ट दुरुपयोग लगायत विवादमा फसेर पदमुक्त भएका निवर्तमान उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा) सरकारबाट बाहिरिएको छ ।

रास्वपा सभापति लामिछानेलाई पुनः उपप्रधान सहित गृहमन्त्री नियुक्त गर्नुपर्ने माग राखेर पटक पटक अल्टिमेटम दिँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गरेको भन्दै रास्वपा सरकार छाडेको हो ।

अपरान्ह रास्वपाबाट मन्त्री मण्डलमा सहभागी रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा पत्र बुझाएका हुन ।

कानूनी प्रकृया पूरा गरेर नेपाली नागरिकता यथावत कायम भएपछि उनी पुनः उपप्रधान र गृहमन्त्री नै बन्ने प्रयासमा थिए ।

तर, आफ्नो माग पूरा नहुने भएपछि लामिछाने नेतृत्वको रास्वपा दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको हो ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए ।

सम्बन्धित खवर