विश्व शान्ति मानव एकताको लगि इतिहासमै पहिलोपटक कुम्मायकमा सप्ताहव्यापी सेवा सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व शान्ति मानव एकताको लगि इतिहासमै पहिलोपटक कुम्मायकमा सप्ताहव्यापी सेवा सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

फागुन १२, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा रहेकोे समुन्द्रीक सतह देखि करिब १७ सय मिटर अग्लो स्थानको कुम्मायक डाँडामा विश्व शान्ति मानव एकताका लागि सप्ताहव्यापी सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवा कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।

किरात सावायेहाङ थिबोङ याक्थुङ हाङसा आप्लुङगेन ताप्फेक नु माङहुप वाःदेम्मा सेवा समिती माङ्सेबुङ तथा कुम्मायक उपसमिति द्वारा आयोजित सो सेवा कार्यक्रम किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ र किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा लिङदेनले गत फागुन ५ गते उद्घाटन गर्नुभएको थियो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ र किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा लिङदेनको देव समुपस्थितिमा सम्पन्न समापन सेवामा यासोक, रानिगाँउ र स्यावरुम्बा गरि ३ वटा वडाहरुको संगम स्थल शिरमा अवस्थित कुम्मायक माङहिमको सप्ताहव्यापी सेवामा भारतको सिक्किम, दार्जिलिङ र आसाम, भुटान लगायत पुर्वाका विभिन्न जिल्लाका श्रद्धालु भक्तजनहरुको लाखौको उपस्थिति भएको विश्व शान्ति मानव एकता सेवा उपसमितिका संयोजक भवानी सम्बाहाम्फेले बताए ।

यस अघि आठराइ गाँउपालिका र हिलिहाङ गाउँपालिकाको संगम स्थल नक्कलेघाट र तमोर नदिको किनार लगायत पान्थरको फेदेन स्थित सुम्हात्लुङ आम्बे पःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भइसकेको आयोजक किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक सेवा समितिका अध्यक्ष सेर बहादुर लावतीले बताए ।

यसैगरी कुम्मायक कुस्सायकमा फागुन ५ गतेदेखि १२ गतेसम्म भएको उक्त सप्ताहव्यापी मा सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ बात्ती बालेर इतिहासकालकै ऐतिहासिक सेवा सम्पन्न भएको छ ।

अहिङ्सामयी सक्कल प्राणी सम्पुर्ण लिम्बुवानी तथा गैर लिम्बुवानबासीको पवित्र धार्मिक आस्थाको केन्द्र कुम्मायक कुस्सायक माङहिमको शिर उच्च राख्न किरात सावायेहाङ थिबोङ याक्थुङ हाङ्सा आप्लुङगेन ताप्फेक सेवा समिति माङ्सेबुङको आयोजनामा भएको भब्य र सभ्यका साथ यो सेवा कार्यक्रम इतिहासकै पहिलोपटक सम्पन्न भएको स्थानीय चन्द्रप्रसाद निरौलाले बताए ।

प्राचीनकालमा इसाईको १६÷१७ औ सय ताका किराँत राजा सवायेतहाङको पालामा पनि यस स्थलमा यस किसिमका पुजापाठ सभा सम्मेलन गोष्ठी शाकाहारी भोजभतेरको आयोजना भएको किम्बदन्तीमा पनि यस किसिमको बृहत कार्यक्रम नभएको स्थानीयहरुको भनाइ छ ।

समाजसेवी तथा १ सय बर्षिय दलबहादुर चेम्जोङ्को समेत उपस्थिति रहेको सेवा समापन कार्यक्रममा माङ आशीर्वचन व्यक्त गर्नुहुदैं किरात धर्मगुरु लिङदेन आत्मानन्द सेईङले किरात सावायेहाङ विश्व शान्ति मानव एकताको लागि हाङ चोत्लुङ माङचोत्लुङ प्रति सधै सकारात्मक सोच राख्नु पर्ने बताउनु भएको छ । वहाँले कुम्मायक गाउपालिकाको प्राविधिक सहयोग प्रती विशेष आभार समेत व्यक्त गर्नु भएको थियो ।

समापन समारोहमा कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती, उपाध्यक्ष महेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापो, वडा न, १ का वडाअध्यक्ष देवेन्द्र लावती, वडा न, ५ का वडाअध्यक्ष निर्मल घिमिरे र कुम्मायक कुस्सायक क्षेत्र बिकास समितिका अध्यक्ष जकेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।

कुम्मायक देवस्थलको क्षेत्र परिसरमा नियमित बिजुली प्रवाह साथै स्वच्छ पिउने पानी र हेलिकप्टर ल्याण्डिङ्को आवस्यक स्थान निर्माणको ब्यावस्थापन गरि यो आर्थिक बर्षमा पर्यटकीय क्षेत्र घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष बम लावती र उपाध्यक्ष महेन्द्र खड्काले बताए ।

सो सप्ताहव्यापी सेवा समापन कार्यक्रमको अवसर पारेर आज शुक्रबार गाउँपालिकाको सम्पुर्ण कार्यलयमा सार्बजनिक बिदा गरिएको थियो ।

सम्बन्धित खवर