कुम्मायक गाउँपालिकामा अग्नि नियन्त्रण बाहिर, लाखौंको क्षती - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा अग्नि नियन्त्रण बाहिर, लाखौंको क्षती

  • पदम सुखी सम्बाहाम्फे

फागुन ३०, कुम्मायक । सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकामा निरन्तर आगलागीका कारण ठुलो क्षती भएको छ ।

कुम्मायकका विभिन्न वडामा भएको आगलागीका कारण सयौं हेक्टर जङ्गल जलेको छ भने केही बस्तिमा आगलागी हुँदा ठूलो धनको क्षती भएको छ ।

फागुन २२ र २४ गते कुम्मायक गाउँपालिका वडा नम्बर १ मा भएको आगलागीमा करिब ६८ लाखको क्षती भयो । फागुन २१ गते नजिकैको जङ्गलमा लागेको आगो घरमा सल्किदा बसन्त कुमार चाम्लिङ्को घर र उनको भतिजको घरमा आगलागी हुँदा २५ लाखको क्षती भएको प्रहरीले जनाएको छ ।

त्यस्तै २४ गते कुम्मायक १ को सिम्लेमा आग्लागी हुँदा करिब ४४ लाखको क्षती भयो । उक्त आगलागीमा मानभक्त बोहोरा, कमल बोहोराको घर जलेर खरानी भए भने मदन बोहोराको ग्वाली आगलागीमा आगलागी हुँदा ४३ लाख ७६ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही अग्नि पीडित परिवारलाई कुम्मायक गाउँपालिका, जिल्ला प्रशासन कार्यालय पाँचथर, रेडक्रस शाखा पाँचथरले आर्थिक,लत्ताकपडा र भाडावर्तन सहयोग गरेको छ ।

त्यस्तै कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ र ३ मा भएको आगलागीमा पनि ठुलो क्षती पुगेको छ । फागुन २८ र २९ मा मात्रै भएको आगलागीबाट वडा नम्बर ३ का बसाइँ सरि गएका दिलबहादुर खड्का , सोमबहादुर खड्का , नरेन्द्र बहादुर खड्का रणबहादुर बुढाथोकी , भिमबहादुर बुढाथोकी र बिरुखेस्वरको काठपात जलेर नष्ट भएको छ ।

यसैगरी सोही आगलागीबाट चन्द्रबहादुर बुढाथोकी , पुर्णबहादुर बुढाथोकी र चन्द्रबहादुर खड्काको घर पनि आगलागि भएको कुरा स्थानीयले बताएका छन ।

यसैगरी कुम्मायक गाउपालिकाको वडा नम्बर ४ ठाढेको जङ्गलमा पनि आगलागी हुँदा पनि सानबहादुर लिम्बुको ग्वाली र सार्बजनिक खानेपानी पाइप लाइन समेत क्षती हुन पुगेको वडाअध्यक्ष फगेन्द्र सम्बाहाम्फेले बताए ।

कुम्मायक गाउपालिकाको वडा नम्बर ५/३ मा भइरहेको आगलागी नियन्त्रण भन्दा बाहिर रहेको प्रहरी श्रोत र स्थानीयले बताएका छन ।

सम्बन्धित खवर