कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा विशाल जन प्रदर्शन - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा विशाल जन प्रदर्शन

चैत ५, विराटनगर । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदेश राजधानी विराटनगरमा आइतबार विशाल जन प्रदर्शन गरेको छ ।


आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले चर्को नारा लगाउँदै निषेधित क्षेत्र तोडेका थिए ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो । तर सो निषेधित क्षेत्र छोडेर प्रदर्शनकारी रोडशेष चोकदेखि तोडेर मुख्यमन्त्रीको कार्यालय नजिक पुगेका थिए । प्रदर्शनमा प्रदेशका १४ वटै जिल्लाबाट हजारौको संख्यामा प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।


प्रदर्शनकारीहरुले प्रदेशको नाम कोशी खारेज गर, प्रदेशको नाम कोशी मान्दैनौं, ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेश नं. १ को पुनः नामाङकन गर, सम्पूर्ण पहिचानहरु एक हौं लगायतका नारा लगाएका थिए ।


निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिए । सोही क्रममा चार जना प्रर्दशनकारीलाई पक्राउ परि उनीहरुलाई चार वजे रिहा गरिएको छ ।


प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शनकारी पुगेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो । प्रदर्शनकारीले मुख्यमन्त्रीको पुत्ला दहन समेत गरेका छन् ।


प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले जनप्रदर्शनको आयोजना गरेको हो ।


संयुक्त संघर्ष समितिले ‘कोशी’ प्रदेश विरुद्ध, रोडशेष चोक, जनआन्दोलन चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघसहित त्यसमा आबद्ध आदिवासी जनजाति संगठन, संघ र संस्थाहरू एवं पहिचान पक्षधर राजनीतिक दलहरूका आदिवासी मोर्चाहरू सहभागी थिए ।


सो संयुक्त संघर्ष समितिको घटक संगठनमा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ रहेका छन् । त्यसैगरी किरात याक्थुङ चुम्लुङको संयोजनमा रहेको पहिचानवादी मोर्चा लिम्बुवान किरात संयुक्त संघर्ष समितिका सबै घटक संगठनहरु समेत सामेल भएका छन् ।


कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खा उपाध्यक्ष तिलक राई, पूर्व मन्त्री गोपाल किराती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, पहिचानवादी अभियान्ताहरु आङकाजी शेर्पा, सञ्जुहाङ पालुङ्वा, ज्ञानबहादुर राई, आङ्दावा शेर्पा, दिलराम राई, पदम अधिकारी, केदार धिमाल लगायतले सम्बोधन गरेका थिए ।

चरणवद्ध आन्दोलनको क्रममा आइतबार विराटनगरमा विशाल जनप्रदर्शन सफलतापूर्वक सम्पन्न गरेसँगै सोमबार संयुक्त संघर्ष समितिको बैठक बसी आगामी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरिएको अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

सम्बन्धित खवर