सरकारद्वारा लाजेहाङको मृत्युु बारे छानबिन समिति गठन, प्रदेश व्यापी १ घण्टे चक्काजाम सफल - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्वारा लाजेहाङको मृत्युु बारे छानबिन समिति गठन, प्रदेश व्यापी १ घण्टे चक्काजाम सफल

 


चैत ११, दमक । पहिचानको आधारमा कोशी प्रदेशलाई पुनः नामाकरण गर्नुपर्ने मागसहित आयोजित आन्दोलनका क्रममा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमा आज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम भएको छ ।

कोशी प्रदेश खारेजी र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग सहित गत चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा भएको शान्तिपूर्ण विशाल प्रदर्शनमा प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा निधनभएपछि पहिचान पक्षधर आन्दोलनकारी थप आन्दोलित भएका हुन ।

मृतकका परिवार र आन्दोलनकारीले लिम्बूको शव समेत बुझ्न मानेका छैनन ।


उनीहरुले पहिचान प्राप्तिको आन्दोलनमा प्रहरीको लाठ्ठी लागेर घाइते भै ज्यान गुमाएका लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने, प्रदेशको पुनः नामाकरण पहिचानकाआधारमा गर्नुपर्ने, घटनाको छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने लगायत मागराख्दै विभिन्न आन्दोलन जारी राखेका छन् ।

शनिबार १४ जिल्लाका मुख्य शहर, पहाडी जिल्लाका सदरमुकामहरुमा १ घण्टे चक्काजाम सफलतापूर्वक सम्पन्न भएको पहिचानका आधारमा प्रदेश १ को पुनः नामाकरण संयुक्त संघर्ष समितिको एक घटक पहिचान सहित प्रदेश नं. १ पुन नामाकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

घटनाको छानबिन गर्न समिति गठन


यसैबीच सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेकोआन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठन गरेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार सरकारले चैत ५ गतेको बिराटनगर घटना बारे छानबिन गर्न समिति गठन गरेको छ । नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाटघाइते भएका लिम्बूको मृत्यु भएपछि सरकार घटनाको छानबिन गर्न तयार भएको हो ।

प्रधानमन्त्री दाहालले शनिबार नै आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुसँगको भेटमा आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण भएको भन्दै संवेदनशील विषयमा सडक आन्दोलन भन्दा पनि संवादमा सहभागी भएर समस्या समाधानमा लाग्न सुझाव दिएका थिए ।

सम्बन्धित खवर