युकेमा सामूहिक माङगेन्ना सेवा सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेमा सामूहिक माङगेन्ना सेवा सम्पन्न

बैशाक १०, युके । किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति युकेको आयोजनामा अप्रिल २२ मा किरात धर्मावलम्बीहरुको सामूहिक माङगेन्ना सेवा सम्पन्न भएको छ । आस्फोड केन्टमा बस्ने सम्पूर्ण किरात धर्मावलम्बीहरुको संयुक्त माङगेन्ना सेवा आयोजना गरिएको हो ।

 

किरात धर्मावलम्बीहरुको केन्टमा राम्रो उपस्थिति रहेता पनि विगतमा यसरी बृहत् रुपमा सामुहिक माङगेन्ना गर्ने चलन नरहेको बरु घर घरमा सेवासाबा बोलाएर आफ्नो परिवारको माङगेन्ना गर्ने गरिएको माङसेवासाबा तथा धार्मिक अभियन्ता ज्ञानु फुरुम्बोले बताए ।

 

प्रवासी जीवन अति ब्यस्तता हुने समय मिलाउनु गाह्रो हुने भएको हुदाँ शनिबार र आइतबार सबैको बिदा हुने हुदाँ सो मौका मिलाएर यो सामुहिक माङगेन्ना कार्यक्रम आयोजना गरिएको किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङले बताए ।

सभाहलमा भएको सामुहिक माङगेन्ना कार्यक्रममा किरात धर्मावलम्बीहरुको व्यापक उपस्थिति रहेको थियो । सो माङगेन्ना कार्यक्रममा असंख्य भक्तजनहरुले माङगेन्ना सेवा सम्पन्न गरेका थिए ।

माङगेन्ना किरात याक्थुङ लिम्बुहरुको परम्परादेखि मान्दै आएको मौलिक संस्कारहरु मध्ये एक मुख्य संस्कार रहेको माङसेवासाबा तथा धार्मिक अभियन्ता ज्ञानु फुरुम्बोले बताए । अभियन्ता फुरुम्बोका अनुसार माङगेन्ना सांस्कृतिकको बिम्व हो । यदि कसैको माङगेन्ना उच्च छैन शिर ढलेको छ भने हरेक कुरामा असफल र असक्षम भईने र माङगेन्ना ज्योती निभियो भने तुम्याहाङ वा ब्यक्तिको मृत्यु हुनेसम्म हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले माङगेन्ना उच्च राख्न ६/६ महिनामा वा एक बर्षमा एक पटक गर्नु पर्छ भने धार्मिक जन विश्वास रहि आएको छ ।

 

माङगेन्ना कार्यक्रमको ब्यवस्थापन संयोजक संघको सह कोषाध्यक्ष केवाहाङ चेम्जोङका अनुसार विगतको समयमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले अन्य धेरै धार्मिक गतिबिधिका कार्यक्रमहरु आयोजना गरेता पनि यसरी सामुहिक माङगेन्ना गरिएको थिएन । यसरी सामुहिक माङगेन्ना कार्यक्रम आयोजना गरिएको पहिलो पटक आस्फोट केन्टमा हो ।

 

किरात धर्मावलम्बी भक्तजनहरुको बृहत उपस्थितिमा गरिएको पहिलो संयुक्त माङगेन्ना सेवामा साङदाङगेन वरुमसाबा मंगल सिं लिङदेनको संयोजनमा माङगेन्ना मुन्धुम वाचन गरिएको थियो भने अन्य माङसेवासावा, माङसेवासामाहरुले पनि साथ दिएका थिए । माङगेन्ना सेवासँगै सांस्कृतिक संयोजक निर्मल पतङवाको संयोजनमा माङलाङ समेत प्रस्तुत गरिएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान राष्ट्रिय समिति युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न माङगेन्ना सेवामा प्रमुख अतिथि तेज ब. मेन्याङबो, अतिथि सामाजिक अभियन्ता तथा लेखक विश्वासदीप तिगेला लगायत तुम्याहाङहरुको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर