कियाचु बुसान शाखाद्वारा पहिचानको आन्दोलनमा घाइते भएका फागो र केन्द्रलाई आर्थिक सहयोग - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु बुसान शाखाद्वारा पहिचानको आन्दोलनमा घाइते भएका फागो र केन्द्रलाई आर्थिक सहयोग

  • प्रविन सेलिङ

जेठ ११, काठमाडौं । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

 

निर्देशक हाङ चेम्जोङको संयोजन तथा मध्यस्थतामा कियाचु बुसान शाखाद्वारा संकलित सो रकम बिहिवार किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले घाइते फागोलाई हस्तान्तरण गरेका थिए ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके जुलुशका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप उत्पन्न भई गोली चल्दा देब्रे घुँडामा गोली लागेर घाइते भएका गजेन्द्र फागोको हाल राजधानीस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

 

यसैगरी गत १७ फागुनमा प्रदेश सभाले प्रदेशको नाम कोशी नामाकरण गरेसँगै प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित गर्दै आईरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई सहयोग पुर्याउने हेतुले आन्दोलनका घटक मध्येका एक किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिलाई पनि कियाचु बुसान साखाले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

कियाचु दक्षिण कोरिया बुसान शाखाले संकलन गरेको सो सहयोग रकम मध्यस्थकर्ता तथा निर्देशक हाङ चेम्जोङले बिहिवार नै किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनलाई हस्तान्तरण गरेका थिए ।

 

यस्तै कियाचु दक्षिण कोरिया बुसान शाखाले अध्यक्ष संजोग कन्दङवा र सचिव चन्द्र वनेमद्वारा हस्तनक्षरित सहयोग विवरण र ऐक्यबद्धता सहितको बिज्ञप्ति समेत सार्वजनिक गरिएको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जेठ १४ गतेदेखि प्रदेशको राजधानी बिराटनगर केन्द्रित आन्दोलन गर्ने भएको छ ।

 

प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामाकरण गर्नुपर्ने मागसहित आन्दोलनरत संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले आन्दोलनकारीका माग सम्बोधन गर्नुको साटो पेलेर जाने नीतिका साथ जेठ १४ गते २ बजेबाट प्रदेश सभाको नीति तथा कार्यक्रमबारे छलफल डाकेको भन्दै संघर्ष समितिले आन्दोलन घोषणा गरेको हो ।

 

प्रदेश सरकारले प्रदेशको नीति तथा कार्यक्रम बारे छलफलका लािग जेठ १४ गते २ बजेलाई प्रदेश सभा बैठक आह्वान गरिसकेको छ । बैठकलाई प्रभावित पर्न आन्दोलनरत पक्षले भने आन्दोलन घोषणा गरेको छ । आन्दोलनको प्रकृति शान्तिपूर्ण हुने बताइएको छ ।

 

सम्बन्धित खवर