कुम्मायक १ मा लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि कामकाजमा लागू गर्ने - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक १ मा लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि कामकाजमा लागू गर्ने

  • पदम सुखी सम्बाहाम्फे

असार २, कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्बर १ मा याक्थुङ लिम्बुभाषा र किरात सिरिजङ्गा लिपि कामकाजको भाषा लागू गर्ने सम्बन्धि एकदिने परामर्श कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

वडा भित्रका सरकारी तथा गैरसरकारी र निजि संघ सस्थाहरुमा नेपाली भाषाका अतिरिक्त लिखित तथा मौखिक याक्थुङ भाषा लिपि प्रयोगमा ल्याउने जनाइएको छ ।

आफ्नो मातृभाषा प्रयोग गरेको आधारमा ब्यक्ति वा समुहलाई विभेद वहिष्करण सीमान्तकरण बन्देज अपमान घृणा गाली गलौज खिसीट्युरी हेलाहोचो जस्ता मानसम्मानमा आच आउन सक्ने समस्याको हल हुने भएकोले यो कार्यक्रम स्वागतयोग्य भएको बताइएको छ ।

अङ्ग्रेजी र खस भाषाको मात्र प्रयोगले स्थानीय स्तरमा बोलिने हरेक जातजातिका मातृभाषाहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षिका बिमला हेम्भ्याले भाषिक लिपि तथा साँस्कृतिक सम्पदा संरक्षणको कमिले आदिवासी मुलका महिलाहरू न्यायीक कुरामा सधै पछि परेको बताए ।

ग्रामीण क्षेत्रमा बसोबास गरेका लिम्बू समुदाय अझैसम्म आफ्नो मातृभाषा मात्र बोल्न सक्ने समस्या रहेको वडा सदस्य मनकुमारी शेर्माले बताए ।

कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र खडका त्यसैगरी निवर्तमान अध्यक्ष जयबहादुर चेम्जोङ, वडा अध्यक्ष निर्मलराज घिमिरे लगायत सर्वदलीय पार्टी प्रतिनिधि उद्योग बाणिज्य संघ साथै विभिन्न संघ सस्थाका प्रतिनिधि, शिक्षक र नागरिकले आर्थिक बर्ष ८०/८१ मा यो कार्यक्रम गाउँपालिकाको पाँचवटै वडामा बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइएको थियो ।

विभिन्न स्थानमा बसोबास गरेका अन्य जातिहरुको पनि भाषा संरक्षण गर्नुपर्ने बताइएको थियो । हाल नेवार माझी राई जातिले आफ्नो मातृभाषा बोल्न नसक्ने समस्या रहेको कार्यक्रममा बताइएयो । उक्त सम्भाब्य अभियानलाइ दीर्घकालीन रूपमा सफल पार्न सबैले जोड दिएका थिए ।

उक्त कार्यक्रम लिम्बुभाषा बिकास सस्था लिल्डा का प्राज्ञ दिलेन्द्र कुरुम्बाङले सहजीकरण गर्नुभएको थियो भने वडा नम्बर १ वडा कार्यलय वडाध्यक्ष देवेन्द्रकुमार लावतिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर