राष्ट्रिय बिभूति फाल्गुनन्द सालिक व्यवस्थापन उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय बिभूति फाल्गुनन्द सालिक व्यवस्थापन उपभोक्ता समितिले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

  • पदम सुखी सम्बाहाम्फे

असार १९, कुम्मायक । पान्थर जिल्लाको कुम्मायक गाउँपालिका स्थित यासोक बजारको कुखुरे भञ्ज्याङ् मा पुनः निर्मित राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङ्देन सालिक व्यवस्थापन उपभोक्ता समितिले आइतबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

महागुरुको पुरानो सालिक जिर्ण बनेपछि गाउँपालिकाको आर्थिक बर्ष ०७९/०८० मा कार्यपालिकको निर्णय अनुसार छुट्टिएको ३५ लाख आर्थिक सहयोगद्वारा सालिक निर्माणकार्यको पहिलो फेज सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष तथा निवर्तमान गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

के डि प्रा लि उर्लाबारी मोरङ बाट ११ लाख ५० हजार खर्चेर सालिक निर्माण तथा व्यवस्थापन गर्दा धेरै प्राविधिक चुनौतीहरु खेप्नु परेको चेम्जोङ्ले बताए ।

सालिक (मुर्ति) निर्माण तथा व्यवस्थापनमा प्राविधिकहरु नै चुकेर हो वा के भएर हो स्टिमेट अनुसार काम गर्दा गराउदा समेत ४० लाख ८० हजार जनसहभागिता बराबरको खर्च आएको पनि उनले बताए ।

जसअनुसार अबको दोस्रो फेजमा आकर्षक एवं मनमोहक पार्क सहितको महागुरुको सालिक निर्माण तथा व्यवस्थापन गर्ने योजना रहेको समितिका सचीव तारानाथ सम्बाहाम्फेले बताए ।

सालिक संक्षरण समितिका सदस्य डिल्लिस्वर चेम्जोङले जस्तोसुकै अफ्ट्यारो परिस्थिति आइपरेपनी सबैको साथ सहयोग जुटाएर यश ठाउँलाई पर्यटकिय क्षेत्र बनाउनुपर्ने जोड दिए ।

राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द सालिक संरक्षण समितिका सस्थापक अध्यक्ष दलबहादुर चेम्जोङको जागरुक एवं अथक प्रयासले आकर्षक पर्यटकीय क्षेत्र बन्न र बनाउन खोजेको कुखुरे भञ्ज्याङ्लाई गाउँपालिकाको आर्थिक सहयोगमा मात्रै भर नपरेर राष्ट्र र अन्तरास्ट्रिय देशमा रहेका सबै इस्टमित्र मान्यजनहरुको समेत आर्थिक सहयोग भए सुनमा सुगन्ध रहने कुरा महागुरु मुर्ती व्यवस्थापन अनुगमन समितिका सदस्य तुलसी निरौलाले बताए ।

धार्मिक आस्थाको रूपमा उच्च धरोहर मानिने कुम्मायक कुस्सायक माङ्हिमको काखैमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द सालिक निर्माणकार्यका लागि गाउँपालिकाको कार्यलय तथा ब्यक्तिगत रूपबाट आर्थिक तथा अन्य साथ सहयोग गर्न कुनै कसर नराख्ने गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्ष महेन्द्र खड्काले बताए ।

सालिक निर्माणकार्यको काम राम्रो र पारदर्शी भएको तर कार्तिक महिनाको पहिलो हप्ता भित्रै यो योजना सम्पन्न गरिसक्नु पर्ने भएकोले उपभोक्ता समिती तथा संबंधित निकायका पदाधिकारीहरुले बेलैमा तदारुकताका साथ काम बिस्तार गर्नुको विकल्प नरहेको नेकपा एमाले कुम्मायक इन्चार्ज राजकुमार श्रेष्ठ र पृथ्वी माध्यमिक बिधालयका प्रधान अध्यापक ऋषिराम गजुरेलले समितिलाई सुझाव दिएका थिए ।

सालिकमा राखिने त्रिशुल र छाता निर्माणकार्यको काम र आकर्षक पार्क बनाउन अझै अधुरो रहेकोले निर्माणकार्यमा ढिला सुस्ति गर्नु नहुने कुम्मायक गाउँपालिका वडा न. १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, कुम्मायक कुस्सायक क्षेत्र बिकास सस्थाका अध्यक्ष जकेन्द्र लावती र नेकपा एस कुम्मायक गाउँपालिका अध्यक्ष राजु खतिवडाले जोड दिएका थिए ।

 

सम्बन्धित खवर