साउन २५, दमक । मुलुक भित्र रहेका आदिवासी जनजाती समुदायको संस्कार संस्कृति जगेर्ना भए मात्र मृुलुक समृद्ध हुने संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले बताए ।
प्रमुख अतिथि समेत रहेका मन्त्री किरातीले बुधबार झापाको कमल गाउँपालिका स्थित आदिवासी रंगशालामा आदिवासी जनजाती महासंघ झापाले आयोजना गरेको २९ औं विश्व आदिवासी दिवस कार्यक्रमका सो कुरा बताएको हो ।
‘स्वदेश मैत्री जाति समुदायको संस्कृतिले मात्र नेपाल र नेपालीको समृद्धि हुन्छ’ मन्त्री किरातीले भने, ‘विदेशी संस्कृतिको फोटोकपी गरेर नेपाल र नेपालीको समृद्धि हुन सक्दैन ।’
कार्यक्रममा अतिथि नेपाली काग्रेस झापाका सभापति देउमान थेवे, आदिवासी जनजाती स्मृति पार्कका कार्यवाहक अध्यक्ष दिपेनवाला राई र बद्री साम्पाङ्ग, कमल गाउँपलिका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले शुभकामना राख्ने क्रममा आदिवासी रंगशालाको विकास र रंगशाला निर्माणको लागि जग्गाको भोगाधिकारको लागि पहल गरि दिन मन्त्री किरातीलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा आदिवासी जनजाती महासंघ झापाको संस्थागत विकासका लागि पूर्व अध्यक्षहरुले पुराएको योगदानको कदर गर्दै पूर्व अध्यक्षहरु मध्ये दुई जना पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरेको छ ।
पूर्व जिल्ला अध्यक्षहरु पारसमणी राई र भरत कुमार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री किरातीले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
महासंघका जिल्ला अध्यक्ष पाण्डप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका विभिन्न जातीय संस्थाहरु सहभागी भएको कार्यक्रममा नेवा दे दबु, किरात याक्थुङ्ग चुम्लुङ्ग, नेपाल मगर संघ, भुजेल समाज सेवा समिति र नेपाल तामाङ्ग घेदुङ् लगायतको संस्थाले झाँकी प्रर्दशन गरेका थिए ।