संगीत एक नशा हो : श्रेयसी - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत एक नशा हो : श्रेयसी

‘सानै छु आमा म छोरी अझ पराई घर जादिंन…’ बोलको गीत, जुन लाखौं स्रोताहरुको मन मस्तिष्कमा बस्न सफल अत्यधिक रुचाईएको गीत गाएर सानै उमेरमा लोकप्रिय गायिकाको रुपमा चर्चा बटुल्न सफल सुमधुर आवाजकी धनि प्रतिभाशाली गायिका हुन् श्रेयसी चेम्जोङ ।
हुने विरुवाको चिल्लो पात भने झैं छ बर्षको कलिलो उमेरमै गीत गाउन थालेकी श्रेयसीले आठ बर्षको कलिलो उमेरमै पहिलो पटक ‘सानै छु आमा म’ गीत रेकर्ड गरेकी हुन् । यिनै गीतबाट उनी गायिकाको रुपमा स्थापित मात्र भइनन्, यिनै गीतले उनको कलाकारिताको यात्रामा उडान भरिदियो । त्यसपछि गीत संगीतको दुनियाँबाट कहिल्यै पछाडी फर्केर हेर्नु नपरेको गायिका चेम्जोङ बताउँछिन् ।
 
‘संगीत सुख दुःखको साथी हो’ श्रेयसी भन्छिन्, -‘संगीत भनेको एउटा कणर्प्रिय ध्वनी हो, जसले एक मनले अर्को मनलाई सजिलै जोड्न सक्छ ।’ उनी थप्छिन्, ‘संगीत एक नशा पनि हो, जुन संगीतको लत बसेपछि छोड्न गाह्रो हुन्छ । संगीतले कहिले हसाँउछ त कहिले रुवाउँछ, कहिले प्रेरणा दिन्छ त कहिले मनलाई शान्ति बनाउँछ ।’
गाउँ घरमा सधैं नाचगान भईरहने, दिदी दाईहरुले गाएको नाचेको देखेर गाउँ घर नै सांगीतिक माहोल भएकै कारण गीत गाउन रुचि बढेको र गाउँन थालेको उनले बताइन । गाउँघरमा आयोजना हुने गायन तथा नृत्य प्रतियोगिताहरुमा भाग लिदा सबैले तिम्रो स्वर राम्रो छ भनेकै कारण अझ हौसला मिलेको उनको भनाई छ ।
बाल्यकालको पलहरु सम्झदै उनी थप्छिन्, -‘फुफुका छोरा (स्थानीय क्लबका अध्यक्ष) श्रद्धेय पुणर् चन्द्र जबेगु दाईले मलाई वहाँकै क्लबमा बढी भन्दा बढी गीत गाउँन जोड् लगाउँनु हुन्थ्यो । वहाँकै शव्द तथा संगीतमा गीत गाउँन लगाउनु हुन्थ्यो र म्यूजिक ट्रयाकमा पनि वहाँलेनै गाउँन सिकाउनु हुन्थ्यो । आर्थिक, शारीरिक रुपले वहाँको प्रेरणाबाटै कलाकारिता क्षेत्रमा लाग्न सफल भएकी हुँ । आज म जे छु वहाँकै कारणले छु वहाँ प्रति सदैव आभारी छु । वहाँ सदा सदाका लागि मेरो स्मृतिमा रहिरहनु हुनेछ ।’
नेपाली र लिम्बू गरी आठ सय बढी गीतहरुमा आवाज दिई सकेकी गायिका श्रेयसीकोे पहिलो गिती एल्वम ‘साईन’ हो । जसमा सात वटा गीतहरु संग्रहीत छन । यस्तै दोस्रो एल्वम ‘श्रेय’ जसमा छ वटा गीतहरु समावेश छन भने तेस्रो एल्वम ‘सम्पदा २’ हो जस्मा पनि छ वटा गीतहरु समावेश छन् । उनी परिवर्तनशिल समयमा समय सापेक्ष गीत संगीतलाई पनि अघि बढाउने हो भने र मेहेनतसँगै लगनशील भएर लागिपर्ने हो भने संगीतमा बाँच्न सकिने तर्क राख्छिन ।
पूणर् पारिवारिक सपोर्टकै कारण गीत संगीतमा स्वतन्त्र र सहज रुपले लागि परेको बताउने श्रेयसी धनकुटाको चौबिसे ८ मा जन्मेर हाल काठमाडौंलाई कर्मथलो बनाएर सांगीतिक आकासमा उडान भरिरहेकी छन् । भविश्यमा गीत लेखन र कम्पोज पनि गर्ने इच्छा समेत संगालेकी उनी पहिलोपटक श्री श्रुती संगीत विद्यालयका गुरु नरहरी प्रेमीबाट संगीत शिक्षा लिन शुरु गरेकी हुन् ।
त्यसपछि शास्त्रिय संगीतका गुरु देव कामत र शास्त्रिय गुरु चण्डि काफ्लेसँग शास्त्रिय संगीत र भारतीय दुतावासका गुरु पण्डित ईन्दु प्रकाश त्रिबेदीबाट समेत औपचारिक संगीत शिक्षा लिएकी थुप्रै साँगितिक अवार्ड जित्न सफल मलिन आवाज, शालिन स्वभाव र मिलनसार लाखौं दर्शक श्रोताको ढुकदुकी बन्न सफल गायिका श्रेयसी चेम्जोङको सागीतिक यात्रा सफल, सार्थक र अझ खास बन्न सकुन लुङमेन्दीङ नोनिङवा ।
प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर