यासोक बजारमा सरसफाइ अभियान तथा अनुगमन कार्यक्रम सम्पन्न - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासोक बजारमा सरसफाइ अभियान तथा अनुगमन कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

भदौ १, पान्थर जिल्लाको दक्षिणी भेकमा रहेको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा फोहोरमैला ब्यवस्थापन कार्यनयन भए नभएको अनुगमन गरिएको छ ।

सफा सुन्दर कुम्मायक हाम्रो पहिचान भन्ने मुल नाराका साथ शुक्रबार भएको कार्यक्रममा सडक खण्डमा अव्यवस्थित तवरले राखिएका पानीका ड्रम, डिजेल र पेट्रोल ब्यवस्थित गराइनुका साथै फोहोरमैलाहरु हटाइएको छ ।

कुम्मायक गाउँपालिकाको कार्यलय र वडा नम्बर १ को वडा कार्यलय साथै उद्योग बाणिज्य संघ शाखा यासोकको संयुक्त आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रमका लागि बजारबासीलाई सडक छेउमा राखिएका आआफ्नो सरसमान हटाएर सरसफाइमा ध्यान दिन ५ दिन अगाडि सूचना सुचित गरिएको थियो ।

सरसफाइको क्रममा उक्त सूचनालाई अवज्ञा वा बेवास्ता गरि अटेर गर्नेको सामान जफत गरिएको छ भने बजारकै रानिगाउँ लाइनमा रहेका बजारबासी कृष्ण आङ्देम्बे र पबित्रा सम्बाहाम्फेले सडक छेउ नरहेकोे निजि खानेपानीको ड्रम भित्रको पानी खन्याएर उठाई लगेकोमा आपत्ति जनाएका छन ।

यस क्षेत्रमा न त सडक र नालिको ब्यबस्था नै भएको छ भन्दै उनिहरुले अनाहकमा आफुहरुलाई जबर्जस्त हेपेर आफ्नो सामान सरसफाइको निहुँ पारि उठाई लगेको बताए । खानेपानीको अभावले गर्दा आकाशे पानी थापेर जोहो गरेको पानी फाली ड्रम समेत उठाई लगेर दुख दिएको उनिहरुको गुनासो छ ।

अहिले महामारी रोगको रूपमा फैलिएको डेङ्गो तथा अन्य विभिन्न किसिमका रोग बाट मानव स्वास्थ्यलाई बचाउ गर्ने उद्देश्यले स्थानीय सरकार कुम्मायक गाउँपालिका द्वारा यो कदम चालेको अध्यक्ष बमप्रसाद लावतिले बताए । बाताबरण सफा बनाउन सके मानव शरीर पनि स्वास्थ हुने उनले भने । अध्यक्ष लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्काले यासोक बजारलाई सफा र सुन्दर नगरी बनाउन स्थानीय सरकारको नीति तथा कार्यक्रम भएकोले हराभरा वातावरण बनाउन सबैले साथ सहयोग दिन आग्रह गरे ।

यो कसैको सिको सिक्नु खोजेको नभै कुम्मायक र कुस्सायक माङहिमको पवित्र काखमा रहेको हामी र हाम्रो यासोक बजारलाई सभ्य तथा सफा र आकर्षक बजार बनाउन वडाबासिलाई वडा न, १ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतिले पनि थप अनुरोध गरे ।

वडाका वडा सदस्यहरु इलाका प्रहरी यासोक राजनीतिक दलका प्रतिनिधिहरु पत्रकार बुद्धिजीवी सरोकारवाला लगायत विभिन्न संघ सस्थाहरुको सक्रियतामा यासोक बजार सरसफाइ तथा अनुगमन कार्यक्रम उक्त दिन सम्पन्न भएको थियो ।

सम्बन्धित खवर