माङगेन्ना सेवा समितिका संस्थापक अध्यक्ष सम्बाहाङफेको स्मृति दिवसमा अक्षयकोष स्थापना - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङगेन्ना सेवा समितिका संस्थापक अध्यक्ष सम्बाहाङफेको स्मृति दिवसमा अक्षयकोष स्थापना

भदौ २९, माङसेबुङ । किरात धर्मका अग्रज व्यक्तित्व किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका संस्थापक अध्यक्ष हर्कध्वोज सम्बाहाङफेको ३८ औं स्मृति दिवस खेलकुद कार्यक्रम आयोजना गरी बिहिबार सम्पन्न गरिएको छ ।

१४ वर्ष मुनीका खेलाडीहरुको सहभागितामा आयोजना गरिएको खेलकुद कार्यक्रम अन्तर्गत फुटबल खेलमा श्री फाल्गुनन्द सेकेण्डरी बोर्डिङ स्कूललाई ४–० गोल अन्तरले पराजित गर्दै श्री सरस्वती माध्यमिक विद्यालयले उपाधि चुमेका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनम खम्बुको प्रमुख आतिथ्यमा सम्पन्न स्मृति सभामा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष हर्कवीर योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष दुधबहादुर लाओती, लेखक खडग सम्बाहाङफे, स्व. सम्बाहाङफेको छोरा गणेश सम्बाहाङफे, छोरी चित्रमाया, राममाया सम्बाहाङफे, माङगेन्ना सेवा समितिका सदस्य पूर्ण कार्कीढोली लगायत किरात धार्मिक संघ संस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

त्यसैगरी स्व. सम्बाहाङफेको परिवारले नगद १ लाखको अक्षय कोष स्थापना गर्ने जानकारी गराएका छन् । स्मृति सभापछि माङसेबुङ होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आगामी समयमा स्मृति कार्यक्रमलाई निरन्तरता दिनका लागि १ लाख बराबरको अक्षयकोष परिवारले घोषणा गरेका हुन् ।

स्व. सम्बाहाङफेको छोरी राममाया सम्बाहाङफेका अनुसार आगामी समयमा कोषलाई थप गर्दै यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि किरात धार्मिक संघ संस्थाहरुसँग छलफल गरी अघि बढइने छ । यस अक्षयकोषलाई चाडैं नै व्यवस्थित बनाई स्मृति प्रतिष्ठान स्थापना गर्ने सम्बाहाङफेले बताइन् । यसका लागि किरात धार्मिक संघ संस्थाहरुसँग समन्वयन गरी अघि बढ्ने परिवारको सोच रहेको समेत उनले बताएकी छन् ।

पूर्व मानव सुधार संघका अध्यक्ष किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको चेला, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका संस्थापक अध्यक्ष तत्कालीन प्रधानपञ्च हर्कध्वोज सम्बाहाङफेको योगदान किरात धर्ममा अतुलनीय छ ।

निरङकुश पञ्चायतिकालीन अवस्थामा किरात धर्म, भाषा, लिपि, संस्कार संस्कृतिको संरक्षण र प्रचारप्रचारका लागि अङसीमाङको निर्देशनमा स्व. सम्बाहाङफेको संक्रियता र नेतृत्वमा वि.स. २०३५ साल कार्तिक २२ गते किरात धर्मको इतिहासमा पहिलो संस्था पूर्व मानव सुधार संघको स्थापना भएको थियो ।

किरात धार्मिक पहिलो संस्था पूर्व मानव सुधार संघका अध्यक्ष तत्कालीन प्रधानपञ्च हर्कध्वोज सम्बाहाङफेको जन्म वि.स. १९८५ साल भदौं २८ गते भएको थियो । भने, वि.स. २०४३ साल भदौं २८ गते ५८ वर्षको उमेरमा निधन भएको थियो ।

आत्मा पवित्र हक्चात यक्चुमको अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा सम्पन्न गरिएको स्मृति सभालाई सोना ओख्राबोले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खवर