साक्थिम्गेन पान्जुम्भोको ४४ औं स्थापना दिवसमा ज्ञानोदय लाओती अभिनन्दित हुदैं - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साक्थिम्गेन पान्जुम्भोको ४४ औं स्थापना दिवसमा ज्ञानोदय लाओती अभिनन्दित हुदैं

असोज २२, माङसेबुङ । किरात धर्म, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा क्रियाशिल किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको वार्षिक चोमेन सेवासँगै ४४ औं स्थापना दिवस तथा अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । पान्जुम्भाले त्रिदिवसीय रुपमा स्थापना दिवस माङसेबुङ ५, इलाममा भव्य मनाउने तयारी गरेको हो ।

स्थापना दिवस तथा वार्षिक चोमेन सेवा अन्तर्गत मंगलबार (असोज २३ गते) साक्मुरा वादेम्मा, बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा नाम्धुङ लाधुङ सेमी सेवापछि पान्जुम्भोको पूर्ण बैठक आयोजना गरिएको पान्जुम्भोले जनाएको छ ।

विहिबार २५ गते पान्जुम्भोको ४४ औं स्थापना दिवस कार्यक्रममा किरात धर्मका अग्रज व्यक्तित्व ज्ञानोदय लाओतीलाई अभिनन्दन गरिने, शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ । पान्जुम्भोको स्थापना वि.स. २०३७ साल असोज २५ गते भएको थियो ।

पान्जुम्भोको स्थापना दिवस तथा अभिनन्दन कार्यक्रममा विगतका वर्षझै यस वर्ष किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा ऐतिहासिक योगदान दिने अग्रज व्यक्ति ज्ञानोदय लाओतीलाई अभिनन्दन गर्न लागिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

को हुन अभिनन्दीत ज्ञानोदय ?

किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचार–प्रचारमा अतुलनीय योगदान दिनु हुने ज्ञानोदय लाओती (ज्ञानबहादुर) को जन्म बुवा छविलाल लाओती र आमा जसमति खजुमको कोखबाट वि.स २००३ साल असोज २० गते भएको हो ।

तत्कालीन लिम्बुवानको सुन्दर भूमि पान्थर जिल्लाको मिक्लाजोङ गाउँपालिका–५, कुरुम्बा साविक कुरुम्बा–१, थुमथुमेमा जन्मेका उनले जीवनयापनको शिलशिलामा जन्म गाउँ छोडेर इलामको चुलाचुली गाउँपालिका १ हात्तिलेदा इलामलाई स्थायी कर्मथलो बनाउनु भएको छ ।

बाल्यकालदेखि किरात धर्म दर्शन अनुसरण गर्नुहुने लाओतीले किरात धर्मदर्शन, संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारको क्रममा विशेषत किरात लिपि र भाषा संरक्षण सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोछ । यसरी किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिको उत्थान र प्रचार–प्रचारमा अहोरात्र लागिरहँदा नेपालको एकात्मक निरङ्कुश पञ्चायतकालिन समयताका झापाको दमकमा वि.स. २०४१ साल माघमा निरङ्कुश पञ्चायति प्रशासनले नियन्त्रणमा लिई करिब ९ महिनासम्म जेल जीवनसमेत विताउनु भएको छ ।

दर्जनौं धार्मिक जागरणका भाषिक गीतहरुको सृजना गर्दै आउनु भएका लाओतीका गीत मध्ये आइन कन साम्योहा शब्दको गीत साक्थिम्गेन पान्जुम्भोले रेकर्ड गरेको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुसँग तत्कालिन किरात धार्मिक जागरणकालताका विभिन्न ठाउँमा नाटक, सांस्कृतिक कार्यक्रम प्रर्दशन गर्दै किरात सांस्कृतिक क्षेत्रमा अमूल्य योगदान दिने लाओतीलाई यस वर्ष अभिनन्दन गरिएको पान्जुम्भोले जनाएको छ ।

वि.स. २०३१ सालमा अङसीमाङज्यूको साक्षत भेटदर्शन पाउनु भएका लाओतीले, निलादेवी नेम्बाङसँग संसाररिक जीवनमा बाँधिएर १ जना छोरा, ६ जना छोरीको अभिभावकत्व निर्वाह गर्नुहुँदै आउनु भएको छ ।

सम्बन्धित खवर