हाङमा पाङ्भेमा ऐतिहासिक चतुरे मेला सम्पन्न - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङमा पाङ्भेमा ऐतिहासिक चतुरे मेला सम्पन्न

कातिक २७, कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिका ४ स्थित साबिक वडा नम्बर ६ रानिगाउँको रोटेपिङ डाँडामा ऐतिहासिक चतुरे मेला आज सोमबार सम्पन्न भएको छ ।

अनुशासन, पर्यटन प्रवर्द्धन र सामाजिक सद्भाव सहित स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ लागेको उक्त मेलामा गाबिस स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिता, धान नाँच, सास्कृतिक नृत्य, क्याराम बोर्ड खेल प्रतियोगिता समेत भएको थियो ।


हाङमा पाङ्भेको ऐतिहासिक स्थल रोटेपिङ डाँडामा लाग्ने यो मेलामा जिल्लाका विभिन्न स्थान बाट आएका मेला तथा खेल प्रेमीले मनोरञ्जन लिएका थिए ।

आज सम्पन्न भएको सो मेलामा भलिबल खेल तर्फ  p.y.c. फाकतेप युवा समूह पहिलो र  j.y.c. युवा समुह लामटार दोस्रो भएका थिए । बिजेता टिमले ३३ हजार ३३ रुपैयाँ र  उपबिजेता टिमले २१ हजार २१ रुपैयाँ  नगद र ट्रफी मेडल पाएका थिए ।


यसैगरी नृत्यतर्फ सनराइज बोडिङ स्कुलका कलाकारले पहिलो पुरस्कार हात पारे भने नव युवा साँस्कृतिक समूह दोस्रो र सयपत्री सर्बोत्तम मुखी युवा समूह तेस्रो भएका थिए । बिजेता सास्कृतिक समुहहरुलाई नगद तथा प्रमाणपत्र पाएका थिए ।

यसैगरी धान नाच तर्फ सेकमारी चोत्लुङ युवा समुह प्रथम र फक्ताङ्लुङ युवा समुह दोस्रो भएको मेला आयोजकले जानकारी दिएको छ ।


कुम्मायक ४ रानिगाउँको वडा कार्यलयको आर्थिक सहयोगमा समेत आयोजना गरिएको सो मेलामा कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फेले मेलाको परिसरमा रहेको आकर्षक  बकसे पिङ खेली मेलाको उद्घाटन तथा समापन गरेको मेला आयोजकका संयोजक किरण सम्बाहाम्फेले बताए ।

मेला कार्तिक २५ गते देखि २७ सम्म लागेको पनि उनले बताए ।

 

सम्बन्धित खवर