कुम्मायक गाउँपालिकामा डेरी बन्द भएपछि किसानहरु निराश - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकामा डेरी बन्द भएपछि किसानहरु निराश

  • पदम सुखी सम्बाहाम्फे

मंसिर ५, कुम्मायक । गाउँ गाउँमा संचालित डेरी बन्द हुन थालेपछि किसानहरु निराश बनेका छन ।

सङ्कलित दुध बाट बनेका छुर्पी, पनिर र घ्यू निर्यात हुन नसकेपछि पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ निगालेमा संचालित डेरी बन्द हुँदा आजभोलि त्यस भेकका एकसय भन्दा बढी किसान प्रभावित बनेका हुन ।

२ बर्ष देखि सन्चालनमा रहेको उक्त डेरीमा नियमित दुई सय लिटर गाई र भैसिको दुध विभिन्न टोल र क्षेत्रका किसानका घरबाट जम्मा हुने गरेको डेरी संचालक दिपेन्द्र भण्डारी बताउछन् ।

स्थानीय क्षेत्रको आहाले, लोरिपा, सङमासे र रानिगाउँका किसानले दुध बेचेर घरको गर्जो टार्ने गरेका थिए । करिब ९५ रुपैयाँँ लिटर बराबर मुल्य सम्ममा दैनिक ८ लिटर दुध बेचेर छोराछोरीको स्कुल खर्च तथा घर खर्च टार्नका लागि अब समस्या परेको लोरिपाका कुमारी खड्का बताउछिन् ।

घरमा आम्दानीको श्रोत ओलन भएको तर बिक्रीका लागि उचित बजार व्यवस्थापन नपाएपछि घाटा बेहोर्नु परेको अर्का किसान हेमन्त बोहोराले बताए । मासिक १५ हजार रुपैयाँ भन्दा बढीको ओलन बेचेर मनग्गे आम्दानी बटुली रहेको बेलामा डेरी बन्द भइ श्रम र ओलन खेर जाने भयो भन्दै सङमासेका रामकुमारी सम्बाहाम्फे दुखेसो पोख्छिन ।

यसैगरी पेसागत रूपमा आहाले तथा विभिन्न स्थान देखि ढाकरमा बोकेर दूध संकलन गरि डेरी सम्म ल्याइ पुर्याउन मद्दत गर्ने सकृय व्यवसायी टठ बहादुर कार्कीको रोजिरोटी पनि बन्द हुँदा उनी रुनु न हास्नु भएको छ । कुम्मायक गाउँपालिकामा संचालित अधिकाङ्स डेरिहरु हाल बन्द भएपछि गाई भैंसी पालेर आम्दानी बढाइ केही गर्छु भन्ने आश हराएको स्थानीय समाजसेवी बिमल पौडेल बताउछन ।

खेतीपाती गर्यो जंगली जनावर बादर, मिर्ग र दुम्सिले बिनास गरि बाली बिनास गरिदिने पिरोलो हामी किसानको अर्कै पिडा छ भने घरको गर्जो हल गर्न आफ्नो गच्छे पुग्दैन हरेक घर परिवारको आर्थिक स्तर उन्नति गर्नमा सहयोग पुग्छ भन्दै मिथ्या प्रलोभन देखाइ सहारा लघु बित्तीय सस्था जस्ता अन्य लघु बित्तीय संघ सस्थाले समेत अहिले गाउँ गाउमा पाँचजना महिलाको समुह बनाइ अप्रत्यक्ष रूपमा आर्थिक शोषण गर्ने समस्याले जनजीवन कंगाल बन्दै गएको छ ।

गाई भैंसी पालनको शिर्षक राखेर ऋण प्रवाह गरि अर्को महिना नबित्दै उनीहरुले ऋणको ३६ प्रशेन्ट भन्दा माथि चर्को ब्याज असुलेर किस्ता तिर्न बाध्य तुल्याउछन । गाइ भंैसीले एकमहिना मै ऋणी किसानलाई आम्दानी दिदैं दिदैन । ग्रामीण स्तरका किसानको मर्म बिपरित व्यबहारले म आजित भए भन्दै प्रती प्रश्न गर्छन् उद्यमशील युवा पदम सम्बाहाम्फे ।

यो नजिर समस्यालाई तुरुन्तै हल गर्नुको निमित्त सबै राजनीतिक दल समाजसेवी बुद्धिजीवी संघ सस्था तथा कुम्मायक गाउँपालिकाका चेतनशील नागरिक समाज र उद्यमशील किसानको समस्या बारे सम्बन्धीत निकायलाई तत्काल ध्यानाकर्षण गराउनुको विकल्प नरहेको पनि सम्बाहाम्फेको भनाई छ ।

 

सम्बन्धित खवर